सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

यतिबेला

सजिलैसँग बिकेर इज्जत फालिरहेकै कारण हदैसम्म बेवास्ताको सदाबहार शिकार भएर शरीरको हड्डी क्रमशः खिइँदै जान थालेपछि हरियो राहदानी थमाइदिएको छ- यतिबेला राज्यसत्ताले अभागी युवाहरूको रित्तो हातमा !

Nepal Telecom ad

साँघुरो गल्लीमा भौतारिँदै डुलिहिँड्ने
भुस्याहा लुते कुकुर जस्तै भएका छन्-
यो देशको भविष्यका कणर्धार भनिएका
तर काँढेतार बनेर बीचबाटोमा बसिरहेका
म जस्तै असंख्य नौजवान नवयुवकहरू
जसको केही पनि काम छैन
र, अलिकति पनि फुर्सद छैन !

माटो खाएर अनि दर्शनढुङ्गा चपाएर
सजिलैसँग पचाउन सक्ने युवा उमेरमा
चोक-चोकमा क्यारिमबोर्ड खेलेरै
आफ्नो अमुल्य आयु घटाइरहेका छन्-
म जस्तै असंख्य नौजवान नवयुवकहरू !

थोत्रो चप्पल लगाएर सडकमा ओर्लिएका
तथाकथित नेता भनाउँदा जङ्गली मान्छेहरू
मैमत्त हुँदै गएका छन्- सत्तासीन भएसङ्गै
र, चलाइरहेका छन्- क्रमशः जङ्गलीराज !

वर्षौंदेखि सोही सडकमै हराइरहेको
आफ्नो नयाँ चप्पल कहिँ नभेटिएपछि
अलपत्र परेर टोलाउँदै बसिरहेका छन्-
अहिलेसम्म पनि सर्वसाधारण भुइँमान्छेहरू !

संसार बदल्ने कसम खाएर हिंडेकाहरू
आफैं बदलिएका छन्- छेपारे स्वरूपमा !

अमुक दलका नेताको मुट्ठीमा कैद छ- विधिको शासन
र, हराइसकेको छ- उनीहरूको नैतिक शब्दकोशभित्रबाटै
अलिकति बाँकी रहेको लोकलाज शब्दको अस्तित्व पनि !

नेपाली राजनीतिको सदाबहार दुरावस्थासङ्गै
व्यवस्थाविहीन व्यवस्थाको पराकाष्ठाकै कारण
खाडीमा सबैभन्दा सस्तो श्रमका लागि
सबैभन्दा महँगो जोखिम मोलेर बाध्यतामा
रगत र पसिनाको बाढी बगाइरहेका छन्-
चरम निराशाको अकल्पनीय पीडासङ्गै
स्वदेशमै केही गर्न सकिन्छ कि … भन्ने
झिनो आशा र जीर्ण जागृतिको गाँठो
क्रमशः फुकेर असरल्लै पोखिएपछि,
आफ्नै अनुहारको उज्यालो छेकिएर
अहिलेसम्म पनि ओझेलमा परिरहेका
म जस्तै असंख्य नौजवान नवयुवकहरू !

सदैव अस्तव्यस्त अवस्थामै भए तापनि जसोतसो
आफ्नै पाराको नियमित दैनिकी बिताउने उपक्रममा
एकपछि अर्को बतासे फुलहरू मात्रै पारिरहेका छन्-
र, चल्ला कोरल्ने बहानामा ओथारो बसिरहेकै बेला
बालुवाटारभित्र पसेर मज्जाले निदाइरहेका छन्-
किरै परेर पनि अझै मर्न नसकेका कुम्भकणर्हरू !

सुनौलो सिउर भएको भालेको पहिलो डाक
सुन्ने पर्खाइमा कान ठाडो पार्दै व्यग्रतापूर्वक
वर्षौंदेखि बसिरहेका छन्- अहिलेसम्म पनि
सघन अन्धकार कालरात्रिको अन्तिम प्रहरमा
आमाको सपना साँचिरहेका भुइँमान्छेहरू
भगवान भरोसामै बाँचिरहेका भुइँमान्छेहरू !

अहिलेसम्म जसको झण्डा बोकेर हिंडिरहेका थिए-
म जस्तै असंख्य नौजवान सुकुमार नवयुवकहरू
यतिबेला स्वयं उसैले फेरेको छ- अचानक
छेपाराले रङ फेरेझैँ आफ्नो अस्तित्वको झण्डा !

पुरानो झण्डा नफेरुन्जेलसम्म उसले
घरी यसो गर्न आइज भनेर बोलाइरहेको हुन्थ्यो
घरी उसो गर्न आइज भनेर बोलाइरहेको हुन्थ्यो !

उहिलेदेखि- अहिलेसम्म
केही लिटर मट्टीतेल मिसाइएको पेट्रोल
थोत्रो बाइकमा हालेर कच्ची बाटोमा गुडाउँदै
केही बोतल घरेलु पिएर चुरोटको धुवाँ उडाउँदै
भट्टीवालीलाई फकाउँदै, केही प्लेट सितन सकाउँदै
केही थाल बासी बोइलर कुखुराको मासुभातसङ्गै
केही थान झुटा सपनाहरू साकार हुने आशमा
बन्धकीमा राखिदिएर आफ्नै बुद्धिविवेकलाई
सजिलैसँग बिकेर इज्जत फालिरहेकै कारण
हदैसम्म बेवास्ताको सदाबहार शिकार भएर
शरीरको हड्डी क्रमशः खिइँदै जान थालेपछि
हरियो राहदानी थमाइदिएको छ- यतिबेला
राज्यसत्ताले अभागी युवाहरूको रित्तो हातमा !

खोलो तरिसकेपछि लौरो बिर्सिने बटुवाले जस्तै
देखाइदिएर समृद्धिका हावादारी दिवासपनाहरू
अहिलेसम्म पनि जनताको आँखामा छारो हालेर
बेतालमा छेउ न टुप्पोको बकम्फुसे गफ दिएरै
साँच्चिकै बडो सजिलोसँग चलाइरहेका छन्-
सदाबहार सिकारु जँड्याहा चालकहरूले देश !

साँघुरो ढोकामा उभिएर कराइरहेका छन्-
अन्धभक्त लम्पटदास खलासी कार्यकर्ताहरू !

शरीरको संवेदनशील अङ्ग झ्यालबाहिर निकालेर
बेहोसीमै हौसिदै एकसुरले ताली बजाइरहेका छन्-
रैतीभन्दा अलिकति मात्रै भए पनि माथि उठेर
आफू नागरिक भएको अनुभूति समेत गर्दै नगर्ने
२/४ पैसाको लोभमा आशामुखी मतदाताहरू !

हतारिँदै पल्लो घरमा डेरा सरेका छन्-
वल्लो घरमा अटाउनै नसकेका नरेहरू
क्रमशः हरिहीन हुँदै गइरहेका छन् हरेहरू !

सबैथोक फुस्किसकेको
एउटा मरन्च्यासे खुस्केट
पलेटी कसेर मसानघाटको माझमा
खेलाइरहेको छ- मुर्कट्टा मसानहरूलाई
र, बर्बराइरहेको छ- बौलाहा पागल झैँ
मध्येरातमा एक्कासी झस्किँदै ब्युँझिएर !

जन्मजात बिरोधीहरूद्वारा सुनियोजित रूपमा
नाबालक विकासहरूलाई बेपत्ता पारिएसङ्गै
अपहरणमा परेका छन्- नाबालिका शान्तिहरू
बलात्कृत भएका छन्- आशा र समृद्धिहरू !

सुशासनलाई जरैदेखि विस्थापित गरेपछि
क्रमशः स्थापित हुँदै गएका छन्- दुःशासनहरू
र, चलाइरहेका छन्- कुशासनको हालीमुहाली !

सुखीको घरमा अड्डा जमाएर बसिरहेका छन्- दुःखीहरू
खुशीको घरमा हाँस्दै रमाएर बसिरहेका छन्- बेखुशीहरू !

अकल्पनीय दुःख र हैरानीले पछ्याइरहँदा
दसनङ्ग्रा खियाएर खानुपर्ने भुइँमान्छेहरूको
समयको अलिकति पनि मूल्य बाँकी नरहेपछि…
हिउँदे आकाश जस्तै सुनसान हुँदै गएको छ-
भुइँमान्छेहरूको नाथे नाममात्रैको जिन्दगी !

अनन्त आकाशमा छरिएका ताराहरू जस्तै
छरपस्ट भएका छन्- सीमित सपनाहरू
जसको, अब कुनै अर्थ बाकी रहेको छैन !

करादीखोला, स्याङ्जा ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)
के बेच्न बाँकी छ र !

के बेच्न बाँकी छ...

हरिप्रसाद रिमाल
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख