खगेन्द्र नेउपानेल्याथ्रो साँडे
बहरहरुको पनि तागत झरिसक्यो अब त केही होला कि भन्ने आश पनि मरिसक्यो सबैलाई त्यही बुढो गोरु नै चाहिने भो गोरस खान त यसपाली पनि नपाइँने भो ।

ल्याथ्रो साँडेबाट बाली हुँदैन
बहरले अवसर पाउँदैन
गोरस खान त यसपाली पनि नपाईंने भो !
खोयाबिर्केले सम्साँझै चोकमा धमास दिए जस्तो
बुढो साँढे
बगाल देखेपछि बेसुरा डुक्रिन्छ
त्रासले हो कि बहरहरू
प…र प..र हर्किएर
मसिनु स्वरमा होक्राँ गर्दैछन्
यसपाली पनि गाई थारो नै बनाईंने भो
गोरस खान त यसपाली पनि नपाईंने भो !
समय अझै यसरी कतिञ्जेल चल्छ ?
अँगेनामाथि रित्तो कुँडे कतिञ्जेल जल्छ ?
अव त बहरलाई पनि अवसर दिनुपर्छ
जमिन्दारको घरबाट डामिएको भन्दैमा
साँढे बुढो भएपछि के गर्छ ?
नत्र त जिन्दगी यसरीनै सुख्खा बिताईंने भो
गोरस खान त यसपाली पनि नपाईंने भो !
बिषाक्त पराल र पराश्रित चोकर पानीले
अनावश्यक बाहिर बाहिर जोस देखाउँने बानीले
बहरहरुको पनि तागत झरिसक्यो
अब त केही होला कि भन्ने आश पनि मरिसक्यो
सबैलाई त्यही बुढो गोरु नै चाहिने भो
गोरस खान त यसपाली पनि नपाइँने भो ।
०००
गौरादह, झापा
Subscribe
Login
0 Comments
Oldest






































