निर्वाचन प्रचार सामाग्री

देवकोटालाई चिठी

बिल्लीबाठ छ है गरीबहरूको को बोल्छ को सुन्छ र ? यस्तो ङार्र र ङुर्रले पनि कतै शत्रु पछारिन्छ र ? यस्तै छट्पटिका गरेँ यति कुरा यस्तै दुःखेसो छ है, यौटा फूल म दिन्छु लाऊ कविजी श्रद्धा तिमीमा छ है ।

तिम्रो देश यहाँ रूँदै छ अहिले काढी पसिना भल
सिङ्गै देश अहो रूखो भईसक्यो को गर्छ खोई मल्जल
तिम्रो बुद्धि थियो तिमी अघि गयौ मेरो रह्यो तिर्सना
हे ! नेपालि कवी म यो हृदयले सक्तिन है बिर्सन ।

मेरो भेट भयो तिमीसित उता काशी बनारस् तिर
भोकै बस्तु पर्‍यो कठै तिमी बस्यौ घोप्टो नपारी शिर
धेरै गर्नु थियो बरा ! गईगयौ आलै छ है तिर्सना
हे ! नेपालि कवि सधैं भरि म त सक्तिन हैं बिर्सन ।

तिम्रो हाड ठुलो तिमि पनि ठुला मोटा थिए पाखुरा
मानौ, हौ कि तिम्रो त विश्वभरका साना-ठुला टाकुरा
धोको आज पुगेन ए गरूँ कसो लौ हेर यो तिर्सना
ए ! पाहाडी़ पुकारको तिमि बुवा सक्तिन है बिर्सन ।

सम्झन्छु तिमीलाई रात दिन नै आँसु छचल्किन्छ नि
क्यै एता पनि हेरिद्यौ त नि कवी बस्छु म छाँया मनि
बाँचेकै छु म ता अझै पनि त क्यै गर्नेछु हैं तिर्सना
हौ साहित्यिक फाँटका तिमि गुरु सक्तिन है बिर्सन ।

ठूलो छट्पटमा परेर अहिले नेपाल चियाउँछ
शंका लाग्छ मलाइ कुन्नि कसले यो देश घिस्याउँछ
मिल्ने छैन कुरो सुनिन्छ झगडा दुर्भाग्यको तिर्सना
ए ! नेपालि सुयोग्य कर्मठ कवी सक्तिन है बिर्सन ।

तिम्रा पुस्तकका ति ठेलि कति छन् गन्नै म ता सक्तिन
तिम्रा दुःख र दर्दका सब कथा भन्नै पनी सक्तिन
आजै औंशी परेछ रात भरिनै तिम्रै गरेँ चिन्तन
तिम्रै लागि भनेर अक्षरहरू जोडी गरेँ मन्थन ।

आधा बींडि टिपेर त्यो सडकमा स्वास्र्वाती नै तान्दथ्यौ
ख्यालै ख्याल महाँ फिजारी लपटा मैलाई पो हान्दथ्यौ
के संयोग परेछ हामी दुईको उस्तै थियौं निर्धन
हे ! शाकुन्तल काव्यका तिमी छवी सक्तिन है बिर्सन

बाजाबाज थिएन त्यो समयमा एउटै थियो चिन्तन
गर्थ्याैं  हामि कुरा नयाँ लहरका हाँसेर नै गन्थन
तिम्रो सामु म ता थिएँ नि लुखुरो के जान्नु के सुन्नु र ?
अन्धा मानिसले बसेर छिँडिमा कुन् फूल के उन्नु र ?

तिम्रो के छ ख़बर पठाउन चिठी के दुःख उस्तै छ कि ?
यस्तो झै-झगडा सुनेर अलि क्यै कञ्चट दुखेको छ कि
हात् बाँधेर बस्याै कि केहि कविता गर्छौ कि क्यै सिर्जना
हे ! नेपालि शिरोमणी धरहरा सक्तिन हैं बिर्सन ।

हाम्रो त्यो सहबास सुन्दर अहो ! भागीरथीको तिर
त्यै वाराणसीमा न हो म र तिमी पिएर बस्थ्यौंं पिर
हिंड्दै छू नि म ता लिरिङ् बिरिङले गर्दैछु क्यै सिर्जना
हे ! साहित्य महारथी घरि-घरि सक्तिन है बिर्सन ।

बिल्लीबाठ छ है गरीबहरूको को बोल्छ को सुन्छ र ?
यस्तो ङार्र र ङुर्रले पनि कतै शत्रु पछारिन्छ र ?
यस्तै छट्पटिका गरेँ यति कुरा यस्तै दुःखेसो छ है,
यौटा फूल म दिन्छु लाऊ कविजी श्रद्धा तिमीमा छ है ।

मेरो देश छ सानु फूट छ ठुलो क्वै शत्रुले तान्छ कि
शत्रु शक्ति र मित्रु शक्ति दुइको होड्बाजीले खान्छ कि
यस्तै तर्क वितर्कको भुमरीमा पौडी बसेको छु है
यौटा फूल म दिन्छु लाउ कवि जी श्रद्धा तिमीमा छ है ।

त्यो बेला तिमिमा खुब कति थियो बिर्सी सकें जान्दिन
बाख्रा-बाघ मिलाउने छलि कुरा ठ्याम्मै म ता मान्दिन
मै हूँ जान्ने र सुन्ने को छ र अरू मै राष्ट्रको सेवक
मेरा सामु सबै यी हुन् नी भुसुना मै हुँ कवि लेखक ।

यस्तै घातक रोगको जहरले देशै गनायो ल है
यौटा फूल म दिन्छु लाउ कविजी अर्थोक क्यै छैन है !

०००
‘गर्जन बर्ष ६, अङ्क ३२ (२०४५)

निर्वाचन सचेतना
फित्काैलीको सूचना
बागमती प्रदेश सञ्चार कार्यालय लामो
बोकाको दाईं

बोकाको दाईं

कोमलप्रसाद पोखरेल
बुद्धि चलाउनु

बुद्धि चलाउनु

भोलानाथ सुबेदी
दुई टुक्रा

दुई टुक्रा

लक्ष्मण नेवटिया
चिता मुस्कुरायो

चिता मुस्कुरायो

टङ्कराज ढकाल ‘तितेपाती’
फितलोपन

फितलोपन

डा.लोकेन्द्रप्रसाद पौड्याल