कलानिधि दाहालशहिदको आवाज !!
जनको झोली कुल्चेर बोली हाकिमी शासन, बङ्गुरजस्तै बनेर ऐले बस्दछौ आसन ! सन्तान मेरा दुम्सीका काँडा जुम्रुङ्ग उठ्नेछन्, सिँहका जुङ्गा उखेल्न मृगशावक जुट्नेछन् !!

ए, सत्ता स्वार्थी ! हान् गोली थापेँ छ चौडा चउर
यो मेरो छाती रगत छिर्का फैलिन्छ चउर !
कि ले त्यो तेरो बन्दुक हान्छु निर्भीक तँलाई
तँजस्ता पापी गर्दिन माफी माग् नभन् मलाई !!
सङ्कल्प गरेँ तँ तानाशाह विरुद्ध बोलेँ म
कि छैन तेरो सत्ताको साँचो कि छैन सामु म !
अनाचार तेरा अग्लिए चुली भत्काई दिन्छु म
कि छैन तेरो जिन्दगी अब कि छैन सामु म !!
सडक शिर स्वाभिमान हिँड्ने छप्काइस् धेरै नै
नानाका आङ सुन्दर तन लप्काइस् धेरै नै !
आजित भएँ सहँन्न तेरो अत्याचार अब म
कि छैन तेरो सत्ताको साँचो कि छैन सामु म !!
रजाइ गरिस् बलात्कार ज्यादा चेलीका गरेर
देखेका राम्रा निशाना ताकी सिध्याइस् हरेर !
नाइनास्ती गरे निमोठी गला बङ्कर भर्ने तँ
कि छैन तेरो सत्ताको साँचो कि छैन सामु म !!
चुहाई श्रम पस्किए मिठो मुख नै भत्काइस्
विरोध गरे तरवार झिकी जीवन छप्काइस् !
अक्षर राखिस् खल्तीमा तैँले सम्पूणर् जनका
आँखामा पट्टी लगाइस् नित्य चेतना मनका !!
हरेक सिँढी उभिनु पर्ने बनेर भर्याङ
समाउने बार अस्मिता नारी हातले झस्याङ !
मारेर भरिस् तलका तला थलाका थलामा
अटेसमटेस् नारीका लास दर्वार तलामा !!
उकुसमुकुस् उफ्रेर तोडेँ तेरा ती बन्धन
म मरी ल्याएँ प्रजाको तन्त्र उजेलो इन्धन !
जनोत्थान मेरो हो एक बाटो अर्कोमा राष्ट्रोत्थान
स्वतन्त्रताको शङ्खनाद गर्दै बोलाएँ बिहान !!
ए, नेता ! नाङ्गा बोलीका बाङ्गा ए, छदमभेषी हो
उहीँ र उस्तै शासन खोज्ने ए, परदेशी हो !
नालीका नाल दुर्गन्धजस्तै ए, नेता ! मोहोर
अमूल्य मन मिल्केका तिमी भएर फोहोर !!
जनको झोली कुल्चेर बोली हाकिमी शासन
बङ्गुरजस्तै बनेर ऐले बस्दछौ आसन !
सन्तान मेरा दुम्सीका काँडा जुम्रुङ्ग उठ्नेछन्
सिँहका जुङ्गा उखेल्न मृगशावक जुट्नेछन् !!
०००
कलेकुटी, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































