टङ्कबहादुर आलेजय मेरी
हे प्रिय तिम्रो लाइभमा ग्याम खेल्ने केटोसँग रिस उठेर आफ्नै भाग्यलाई थुक्क भन्न थालेको छु लोग्ने भएको हैसियत देखाउनु खोज्छु तिम्रो लैङ्गिक हिंसाको शब्दले लुत्रुक्क पर्छु जय मेरी जय बराबरी ।

टङ्कबहादुर आलेमगर :
शुरूमा
यही नाक राम्रो थियो
ओँठ, च्यापु राम्रो
बोली राम्रो थियो
चाल राम्रो थियो ।
कतै जाँदा चमेलीको तेल दलेर
जुल्फी कोरी दिन्थ्यौ
तरुणीका आँखा लाग्छ भन्दै
आफ्नै आँखाको गाजल कन्चटनिरै दली दिन्थ्यौ
सबैले भात खाइसके पनि
मलाई पर्खी बस्थ्यौ
राती सुत्दा खुट्टा लाग्यो भनेर बिहानै उठेर
खुट्टोमा ढोक्थ्यौ
तीजमा महादेवको प्रतिरूपी लोग्ने भन्दै
गोडामा ढोक्थ्यौ
मैले तिमी भन्दा,
स्वास्नीलाई तँ भन्न पर्छ भन्थ्यौ
म रिसाको थाहा पाएपछि
भिजेको बिरालो हुन्थ्यौ
मेरा कुनै कुरा कादैनौ थियौ ।
तर
अचेल परिवर्तन भएकी छौ
हरेक कुरामा सुँगुरले जगर ठहर्याए झैँ हुन्छ्यौ
मेरो कुरा भुइँमा झर्न दिदैनौ
हरेक शब्दलाई च्याटच्याट काट्ने गर्छौ
त्यति भुत्तो जिब्रो छुरा झैँ लाग्ने भएको छ
एकदिन मेरो लुगा धुयौ भने अर्को पल्ट मैले तिम्रो धुनु पर्छ
भात पकाउने देखि भाडा समेत बराबरी धुनु पर्छ
मुस्किलले खुट्टा मल्यौ भने
तुरुन्तै तिम्रो मैले मोल्नु पर्छ
तपाईं बाट तिमीमा झारेका छौ ।
यो के हुन आटेको
मेरो साटो परदेश जान्छु भन्छौ
त्यति राम्रो केश काट्छु भन्छौ
घुँडा माथि फरिया नउचाल्ने मान्छे
तातो भयो हाफ्पेन्ट लाउछु भन्छ्यौ
चौबन्दी फ्याकेर समिजमा बस्छु भन्छौ
म कसरी भनौँ
मेरो र तिम्रो हिप मिल्दैन
र पनि पैन्ट लाउछु भन्छौ
चेस्ट मिल्दैन टी-सर्ट लाउने भन्छौ
अब त अति भयो प्रिय
नानीको आची पुछ्दिन भन्दा
तिम्रा छोरा छोरी होइन ? भन्दै ठाडै खान आट्छ्यौ
ओछ्यानमा त्योबेलाको मीठो खुकुन्डी तीतो हुन थालेको छ
दाह्री जुङ्गा झ्याउ बन्न थालेको छ
तिम्रै मुखार बाट आहा भन्ने मुख दुर्गन्धित बन्न थालेको छ ।
टिकटकको लाइभमा हुन्छौ
स्कूल जाने छोरीको केश कोर्दिन पर्छ
छोराको ड्रेशमा स्त्री लगाई दिन पर्छ
टमी तिम्रो काखमा खेल्छ, आची मैले सोहर्न पर्छ
घरमा पालेको कुखुरा काटी खान हुँदैन भन्दै
बेचेर पैसा लिन्छौ
सुली मैले सोहर्न पर्छ ।
हे प्रिय तिम्रो लाइभमा ग्याम खेल्ने केटोसँग
रिस उठेर
आफ्नै भाग्यलाई थुक्क भन्न थालेको छु
लोग्ने भएको हैसियत देखाउनु खोज्छु
तिम्रो लैङ्गिक हिंसाको शब्दले लुत्रुक्क पर्छु
जय मेरी
जय बराबरी ।
०००
त्रियुगा नगरपालिका- ११, उदयपुर
Subscribe
Login
0 Comments
Oldest







































