शिव पलाँसवरिष्ठ भैंसीगोठालो
भैंसीको ढाडबाट खसेर एउटा प्रधानमन्त्री भयो भैंसीकै ढाडबाट खसेर अर्को राष्ट्रपति भयो अफसोच मेरा बा चाँहि भैंसीको ढाडबाट खसेर घाइते मात्र भए जीवनभर घाइते मात्र भए !

शिव पलाँस :
बहत्तर बर्ष भयो
भैंसीको गोबर सोहोरेको
काभ्रोको रुखबाट खसेर
अस्ति झन्डै मरेनन् बा
के भैंसी पाल्न सजिलो छ ठानेका छौ ?
वास्तवमा
यो देशको वरिष्ठ भैंसी गोठालो
मेरा बा हुन् ।
तथापी
जिउँदो भैंसीको नाममा
एक रुपियाँ अनुदान कहिल्यै खाएनन्
मरेको भैंसीको नाममा
एक रुपियाँ क्षतिपूर्ति कहिल्यै पाएनन्
बहत्तर बर्षमा
कति भैंसी बेचे होलान् ?
कति राँगो किने होलान् ?
तिमी चाँहि
हिजो किनेको राँगोको
आत्मकथा लेखेर बस !
हा हा हा हा
गाई चराउदा चराउदै एउटा सांसद भयो
बाख्रा डुलाउदा डुलाउदै एउटा मन्त्री भयो
सर्प खेलाउदा खेलाउदै एउटा कुबेर भयो
भैंसीको ढाडबाट खसेर एउटा प्रधानमन्त्री भयो
भैंसीकै ढाडबाट खसेर अर्को राष्ट्रपति भयो
अफसोच
मेरा बा चाँहि
भैंसीको ढाडबाट खसेर
घाइते मात्र भए
जीवनभर घाइते मात्र भए !
नक्कली गोठालाहरु कहाँ पुगे
सक्कली गोठालाहरू कहाँ छुटे
के कसैले हिसाब राखेको छ ?
०००
Subscribe
Login
0 Comments
Oldest






































