आर.आर. चौलागाईंहामी नारा होइन कविता लेखौँ
गेरु बस्त्र लगाएर मठ मन्दिर धाए भनेर हामी नेताहरूलाई गाली नगरौँ बरु त्यसरी गाली गर्नुको सट्टा जीवनभरिको पाप मोचन गर्न गएका हुन् भनेर गर्व गरौँ हामी नारा लेख्ने कि कविता लेख्ने ?

आर.आर.चौलागाईं :
हामी नारा होइन
कविता लेखौँ ।
कम्युनिस्ट भएर भैँसी पूजा गरे भनेर
हामी नेताहरूलाई गाली नगरौँ
बरु त्यसरी गाली गर्नुको सट्टा
हामीलाई दूध ख्वाएर पाल्ने
भैँसी आमाको भक्ति गरे भनेर
प्रशंसा गरौँ
भष्ट्राचार गरे भनेर
हामी नेताहरूलाई गाली नगरौँ
बरु त्यसरी गाली गर्नुको सट्टा
मौका पाउँदा कसले कमाउँदैन ?
अझै सात पुस्ता उतार्ने गरी
कमाउनोस् भनेर हौसला दिऔँ
हामी नारा लेख्ने कि कविता लेख्ने ?
गम्भीर भएर सोचौँ
हामी नारा होइन
कविता लेखौँ ।
लम्पसार परेर
छिमेकीको घरमा चाकरी गर्न गए भनेर
हामी नेताहरूलाई गाली नगरौँ
बरु त्यसरी गाली गर्नुको सट्टा
कति दूरदर्शी रहेछन्
छिमेकीलाई खुसी पारेर
कोसेलीपात ल्याउन गएका हुन् भनेर
ताली बजाऔँ
गेरु बस्त्र लगाएर मठ मन्दिर धाए भनेर
हामी नेताहरूलाई गाली नगरौँ
बरु त्यसरी गाली गर्नुको सट्टा
जीवनभरिको पाप मोचन गर्न गएका हुन् भनेर
गर्व गरौँ
हामी नारा लेख्ने कि कविता लेख्ने ?
ठन्डा दिमागले सोचौँ
हामी नारा होइन
कविता लेखौँ ।
हामी नारा लेख्ने कि कविता लेख्ने ?
गम्भीर भएर सोचौँ
हामी नारा लेख्ने कि कविता लेख्ने ?
ठन्डा दिमागले सोचौँ
हामी नारा होइन
कविता लेखौँ ।
०००
२०८० असार १७
Subscribe
Login
0 Comments
Oldest







































