सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

थुक्क कुकुर भनेपछि … !

र्काले दिएको प्रसाद मात्रै खाने तर आफैँ सिकार नगर्ने बोकेका कुकुरबाट माखो पनि नमार्ने हुँदा अब पनि यस्ता कुकुरलाई थुक्क कुकुर नभन्ने हो भने तिनैले भकुर्दा क्याँ क्याँ क्याँ ... गर्दै भाग्नुपर्ने दिन नआउला भन्न सकिन्न ।

Nepal Telecom ad

ह्यारी- ८० :

बुबाले झाँको झारेको अस्ति जस्तो लाग्छ, ‘थुक्क कुकुर ! तँ त कुकुरै रै’छस् । एउटा कुकुर पनि हेर्न नसक्ने तँैले के चाहिँ गरेर खालास् खै ? देशमा यतिका मान्छेले कति प्रगति गरिसके । अस्तिसम्म चप्पल पड्काएर हिँड्न नसक्नेले आज जिल्लैपच्छिे आलिसान महल ठड्याएका सुनेकै छस् होला । सयौँ रोपनी जग्गा सन्तान दरसन्तानलाई जोडिदिएका तेरा फुट्या आँखाले देखेकै होलास् ।’

हिजोआज म यसो सोच्ने गर्छु, “बुबाको गालीमा कुकुर शब्द किन आएको होला ?” के कुकुर साँच्चै तुच्छ छ त ? मान्छे र कुकुर हात्ती र हात्ती छाप चप्पल जस्तै भएका हुन् त ? मर्यादापालक कुकुर, आफ्नो मालिकप्रति नोकरनोकरानी भन्दा पनि विश्वासिलो बफादार कुुकुर, किन यति हेय दृष्टिमा हुनपुग्यो ? अपराध अनुसन्धानमा मान्छे भन्दा बढी भरपर्दो मानिने कुकुर मान्छेको सङ्गतले नै यति बिग्रेको हो त ? जतिसुकै खानदानी नै किन नहोस्, आखिर कुकुरले पनि मान्छेले अति धनी र सम्भ्रन्त भनाउँदाले पनि नपुगेरै त होला घुसका डल्ला क्वाप्लाक्क निलेका देखेका छन् नै । अनि कुकुर त कुकुर नै भइहाल्यो । जतिसुकै स्तरीय खाना मालिकले खुवाए पनि यसले बाटामा भेटेका फोहोरजन्य पदार्थ लाजै नमानी खाइदिन्छ ।

महाभारतमा सत्यवादी युधिष्ठिरले द्रौपदी र भाइहरूलाई लिएर स्वर्ग जाँदा कुकुर पनि लगेको तर कुकुरलाई भित्र छिर्न नदिएपछि उनी पृथ्वीमै फर्कने कुरा गरेकाले पनि पुष्टि हुन्छ कि आफूलाई सहयोग गर्नेलाई आफूले पनि कति सहयोग गर्नुपर्छ भन्ने ! यो कहानी सुने पनि नसुने पनि आजकल बाबुआमा के नै हुन् र भनेर रेखदेख नगर्ने तर घरका ढोकामा सुरक्षाकर्मी राखी आफ्ना ओछ्यानमा चुम्बन गर्दै चाट्तै पालेका उच्च जातका कुकुरलाई बिहानै बाटोमा डुलाउँदै जथाभावी दिसापिसाब गराउँदै हिँड्नेहरूलाई पो थुक्क कुकुर भन्नुपर्ने होइन र ?

भैरवको वाहन मानिने कुकुर, यमराजको दुत मानिने कुकुर, अन्तरिक्षमा सयर गरिसकेको कुकुर हिजोको जङ्गली स्याल हो नि ! हिजोका डोबाटेहरू आज मै हुँ भन्ने नेता भएजस्तै हिजोका नेपालका भोटे कुकुरहरू ग्रिन कार्ड लिएर हाइ हाइमा बाँचेका छन् रे । हिजो यिनको राज थियो, विश्वास थियो । भेडाबाख्रा सबका सबको रेखदेख गथ्र्यो । खै ती त नेताजस्तै ठिमाहा बनिसके कि, अमेरिका, अस्ट्रेलियातिर बेचिए कि, कि खाडीतिर जाकिए, बुझिनसक्नु छ । आज नेपालमा सुधारिएका र ल्याइते नश्लका कुकुरको बिगबिगी छ । जर्मन सेफर्ड, बुल डग, जापानिज स्क्विज कुन्नि के के जातिका कुकुरहरूको छोटे राजाको मूल्य बढेजस्तै बढेको बढ्यै छ । यता छिमेकतिरका खिचा कुकुर छिरेका छिर्‍यै छन् । कुकुर मार्न नपाइने, बन्ध्याकरण पनि सम्भव नभएको बार बार्न नसकेकाले सडक टोल, राजमार्ग जताततै यिनकै राज चल्न थालेको छ ।

जङ्गलमा विचरण गर्ने कुकुर आज केही खान्दानीका महलमा मालिक बनेका छन् । गल्लीमा डुल्ने कुकुरहरू क्याँ क्याँ र कुँ कुँ गर्दै लडिरहेका देख्ने मेरा आँखा आज बसी बसी हड्डी खाएका, मासु र घिउ खाएर नपचेको देख्तै छन् । जुत्ता चप्पल टोकाएर, जथाभाबी फोहोर गरेर कुकुरहरू बजेट झ्वाम पारिरहेका छन् । प्राकृतिक प्रकोप, भूकम्प जस्ता दैवी विपत्तीमा पूर्व सूचना दिन, चोर डाँकाबाट बचाउन पालेका कुकुर आज चोर भ्रष्ट मालिकको संरक्षण गरेर बसेका छन् । लुच्चा, छुच्चा, भ्रष्ट, जाली, ढँटुवा, बलात्कारी, गुन्डा, तस्करहरूको रेखदेख गर्ने गराउने दुवैथरीलाई ‘थुक्क कुकुर’ भन्नुपर्ने होइन र ?

मानिसको भन्दा दश हजार बढी सुँघ्न सक्ने घ्राणशक्ति भएको, नाक र पञ्जामा मात्र पसिना आउने प्राणी कुकुर र केही मान्छेमा मात्र मिल्ने कुरा चाहिँ फतुरे काकाले भेट्टाए, त्यो हो कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्रामा राखे पनि बाङ्गाको बाङ्गै हुन्छ । हुन त हिजोआज पुच्छर नभएका कुकुर पनि त छन् । नाक गएको पत्तै नपाउने र पत्ता पाए पनि भत्ता पाएपछि जे भए नि होस् भन्ने डाक्टर, वकिल, नर्स, शिक्षक, विद्यार्थी, पूजारी, कर्मचारी, व्यापारी, नेता, दाता, मतदाता सबै वर्ग र तहका जसको नुन खायो उसको जुँघा मुड्नेदेखि सुन चढाउने र सुनै खानेसम्मका मान्छेसँग पनि यी कुकुर छन् । यिनले कुकुरले पुच्छर दायाँ हल्लाउँदा खुसी भएको र बायाँ हल्लाउँदा क्रोधित भएको हो भन्ने भाव भन्ने कुरा के बुझ्दथे र !

रोगी नेतालाई उच्च पद दिएर जनता बेचिन राजीखुसी हुने यो देशका कुकुर अर्थात् वैवश्वतः कुलमा जन्मिएको यो प्राणीको पनि आज घरका करोडौँको पलङदेखि सडकसम्म, देशदेखि विदेशसम्म बास बसेको देख्दा मान्छेअनुसार यिनको पनि वर्गीय विभेद भएको छ । खाना र पानी छोएमा अपवित्र हुने र मान्छेलाई टोक्ने हुँदा कुकुर साङ्लाले बाँध्नुपर्छ भन्ने जमातले विस्तारै सिंहदरबारदेखि रैतीका घरबारसम्म यिनलाई छाडा भएको देख्ता यी कुकुरलाई थुक्क कुकुर भन्नुपर्ने होइन र ?

जनताको कान बाक्लो भएको र कुकुरको निद्रा पातलो भएकाले नेपाली समाजमा कुकुर अधिकांश समय जागा रहने र निदाए पनि यिनका मतीभ्रष्ट मालिक ननिदाउने हुँदा यिनले जनताको ढाड सेकेर कुम्ल्याएका छन् । जनताको निद्रा बाक्लो भएकाले यी बिउँझन नसक्ता आज आयातित विदेशी कुकुरको राज बढ्दै गएको देख्ता यिनलाई थुक्क कुकुर भन्नुपर्ने होइन र ?

मानव सभ्यतासँगै कुकुर र मानवको सम्बन्ध अन्योन्याश्रित भए पनि कुकुरको नश्ल मिसिँदै गएकाले कुकुरको मौलिक परिचय गुमनाम हुँदै रैथाने चाहिँ आदिवासी र बाहिरियाहरूको हालीमुहाली हुुँदै गएको कुरा यी कुकुरहरूले पनि बुझ्नुपर्ने होइन र ? सधैँ मालिकप्रति बफादार हुने कि मालिक कस्तो छ भनेर पनि हेर्ने ? जुन बाटामा हिँड्यो त्यहीँ शौच गर्ने गराउने र खुट्टा उचालेर तुक्र्याउने प्रवृत्तिले यो देश सतीले सरापेको देश भनिएको रहेछ । अर्काले दिएको प्रसाद मात्रै खाने तर आफैँ सिकार नगर्ने बोकेका कुकुरबाट माखो पनि नमार्ने हुँदा अब पनि यस्ता कुकुरलाई थुक्क कुकुर नभन्ने हो भने तिनैले भकुर्दा क्याँ क्याँ क्याँ … गर्दै भाग्नुपर्ने दिन नआउला भन्न सकिन्न । यति वेला चाहिँ बुबाले ‘थुक्क कुकुर !’ भनेको सम्झेपछि भने मलाई ‘कुकुरको जय होस् !’ भन्न मन लाग्यो ।

०००
२०८० असार १५ गते
गोकर्णेश्वर – ५, जोरपाटी, काठमाडौँ, नेपाल
(आज ः दहीचिउरेलाई धारे हात लगाउँदै दहीचिउरा खाऔँ, धान नरोप्नेलाई भुसकामना !!)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
नकच्चरा

नकच्चरा

आर.सी. रिजाल
चौकीपावर

चौकीपावर

नगिता लेप्चा राई
जिउँदो समय

जिउँदो समय

नन्दलाल आचार्य
भाते सत्ता

भाते सत्ता

महादीप पाेखरेल
ब्याक पेन

ब्याक पेन

सुरेश राई
क्या क्या दिमाग हा हा !

क्या क्या दिमाग हा...

रामकुमार पाँडे