एमपी पाण्डेअन्तर्यामी आँखाहरू…
पुजारी बाले मन्दिरको ढोका लाए भगवान नजरबन्दमा....., थाहा छैन टाढाको देख्छन कि देख्दैनन् अन्तर्यामी आँखाहरू....?, देखे कहिले देख्छन्, बेलामा नदेखेपछि ईश्वर एक न्याय अनेक ॥
एमपी पाण्डे
हिजोअस्ती
दिनहुँ जस्तो
तिनै माटो, ढुङ्गा, इटा, बालुवासँग खेलियो
कति कति बेला त
नाङ्गा हत्केलाले
सिमेन्ट समातेर पोतियो पनि
बाले ठड्याउँदै गरेका भिताहरूमा
मानौ, ऊ मेरो खेलौना हो, निर्माणाधीन मन्दिर….,
साँच्चिकै खेलौना त
अस्ति… न… पुजारीको आँगन देखेको थेँ
अलि पर….. परैबाट ।
भर्खरै सकियो
त्यो भित्तोसँगको सामिप्यता पनि
जब
जिणर्ोद्वार सकियो
म बाहिरिए
भगवान भित्र पसेपछि.. ।
एकदिन
एकाबिहान फेरि अचानक
जानीनजानी ठोक्किन पुगेँ तिनै भित्तासँग
पुजारी बाको छोरासित लुकामारी खेल्दै गर्दा
र कुटिएँ, खेदिएँ
मन्दिर छोएको आरोपमा ।
त्यहीँ मन्दिरको
नाङ्गो प्राङ्गणबाट
बालख छोराको जीवनको भिख मागिरहे मेरा बा,
त्यसैको निर्माणरार्थ उठेका ठेला फुटेर
रक्तमुच्छेल भएको अञ्जुली फिजाएर ।
गाउँलेले, गाउँ निकाला
गरि छोडे हामीलाई, गाउँबाट
सदर भएन बाले थापेको अञ्जुली
एकथान माफीको भिख
हामीले बाटो काट्यौं
कसैले नहेरे पनि, भगवानले हेर्छ भन्दै ।
पुजारी बाले
मन्दिरको ढोका लाए
भगवान नजरबन्दमा…..,
थाहा छैन
टाढाको देख्छन कि देख्दैनन्
अन्तर्यामी आँखाहरू….?,
देखे कहिले देख्छन्, बेलामा नदेखेपछि
ईश्वर एक न्याय अनेक ॥
०००
बाजपा- ३, अछाम
Subscribe
Login
0 Comments
Oldest







































