सुलसुलेकोलकातामा कुलपति राईलाई अभिनन्दन
पश्चिम बङ्गाल सरकारका सहकारी मन्त्री अरुप रायको उपस्थितिमा कुलपति राईले ‘बिहानी’ पत्रिकाको २४औँ अङ्कको विमोचन गर्नुभयो । सो पत्रिका प्रत्येक वर्ष भानु जयन्तीका सन्दर्भमा प्रकाशित गर्ने गरिएको छ ।

भारत, कोलकाता, ०८० साउन ९ । नेपालका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती नेपाली जनकल्याण समिति कोलकाताले नेपाल प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा भव्यतापूर्वक मनायो ।
कोलकाताको हावडास्थित शरत् सदनको प्रेक्षालयमा आयोजित सो कार्यक्रममा प्रस्तुत गरिएको नेपाल र भारतको राष्ट्रिय गानमा कुलपति राई लगायतका व्यक्तित्वहरू सरिक भई भानुभक्तको तस्बिरमा माल्यार्पण गर्नुभएको थियोे ।
यसअवसरमा वरिष्ठ कवि एवम् प्रज्ञा-प्रतिष्ठानका कुलपति राईलाई अभिनन्दन गरिएको थियो । कार्यक्रममा त्यस क्षेत्रका नेपालीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेल, नेपाल पारवाहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेड कोलकाताका प्रबन्धक हेमनाथ पौडेल लगायतका व्यक्तित्वहरू र विभिन्न स्रष्टाहरूसँग आपसी भेटघाट र विमर्श गर्नुभएको थियो ।
पश्चिम बङ्गाल सरकारका सहकारी मन्त्री अरुप रायको उपस्थितिमा कुलपति राईले ‘बिहानी’ पत्रिकाको २४औँ अङ्कको विमोचन गर्नुभयो । सो पत्रिका प्रत्येक वर्ष भानु जयन्तीका सन्दर्भमा प्रकाशित गर्ने गरिएको छ ।
यस अवसरमा कुलपति राईले “आदिकवि भानुभक्त आचार्यले भाषाका माध्यमबाट विश्वभरका नेपालीलाई एकसूत्रमा बाँध्ने काम गरेकोमा सह्राना गर्दछु” भन्नुभयो । साथै,आफू कोलकातामा आएर भानुजयन्तीको सन्दर्भमा अभिनन्दित हुन पाउँदा हर्षानुभूति छु । नेपालबाहिर रहेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको विकासका लागि नेपाली जनकल्याण समितिले गरेको योगदान निकै महत्त्वपूणर् रहेको छ । यसप्रति आभार व्यक्त गर्दछु” भन्नुभयो ।
यसैगरी प्रज्ञा-प्रतिष्ठानका परिषद् सदस्य डा.मधुसूदन गिरीले अनेकतामा एकता स्थापना गर्ने महत्त्वपूणर् काम आदिकवि भानुभक्त आचार्यले गरेका हुन् । यसैकारण नेपालका सबै जातजाति र कोलकातालगायत विश्वभरिका सबै नेपाली बिचमा सद्भाव, सौहाद्रता र एकताको काम भानुभक्तले गरेका हुन् । यसले हामी नेपालबाट यहाँ आएर एक्कै भावनामा गाँसिएका छौँ भन्नुभयो ।
यसैगरी कार्यक्रममा पश्चिम बङ्गालका सहकारी मन्त्री रायले भानुभक्तका नाममा हावडामा सडक निर्माणको निणर्य भइसकेको जानकारी दिँदै भानुभक्त आचार्यको प्रतिमा बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका उपमहावाणिज्यदूत कणर्प्रसाद तिमिल्सिना, नेपाली जनकल्याण समितिका प्रमुख सल्लाहकार धर्मराज बराल, पत्रकार तथा कवि प्रकाश सिलवाल, भारतीय प्राध्यापक डा. सत्यप्रकाश तिवारी, प्रवासी नेपाली सङ्घ, भारतका अध्यक्ष नारायणप्रसाद होमागाईं, ‘बिहानी’ पत्रिकाका सम्पादक नरविक्रम थापालगायतले भानुभक्तको योगदानको चर्चा गर्दै विश्वभरका नेपालीलाई एकताको सूत्रमा बाँध्न उहाँहरूले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
नेपाली जनकल्याण समिति कोलकाताका अध्यक्ष बद्रीविक्रम थापाले विभिन्न समयमा साहित्यिक गोष्ठी, सम्मेलन, अन्तरक्रिया, कार्यशाला, सांस्कृतिक प्रदर्शन, रक्तदान, एम्बुलेन्स सञ्चालन, गङ्गासागर मेलामा स्वास्थ्य उपचार शिविर सञ्चालन गर्दै आएको कुरा जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन यस समितिका महासचिव रामबहादुर कार्कीले गर्नुभयो ।
समग्रमा कोलकातामा आयोजित २१०औँ भानु जयन्ती भव्यताका साथ सम्पन्न भयो । यसले नेपालका राष्ट्रिय विभूति तथा आदिकवि भानुभक्त आचार्यको व्यक्तित्वलाई थप उजागर गर्दै दुई देशबिचको प्राज्ञिक सहकार्यका लागि कोशेढुङ्गा साबित हुने विश्वास गरिएको छ ।
०००
Subscribe
Login
0 Comments
Oldest











































