रामशरण न्याैपानेमान्छे डुबे झोलमा
यो अन्याय भयो भनेर जनता बोल्दैन कैल्यै पनि बाँचेको कतिसम्म सार्थक भयो यो दासको जीवनी यस्तो झूर दलालतन्त्र छ कहाँ यो स्थूल भूगोलमा ? चोक्टा खान भनेर धेर कसिए मान्छे डुबे झोलमा॥

रामशरण न्यौपाने :
पाक्यो भोज भनेर भाषण गरे ज्यादा प्रजातन्त्रको
कब्जामा तब गुज्रियो मुलुक नै गैबार सामन्तको
भान्छे बन्न शृगाल शेर कसिए रे मानवी खोलमा
चोक्टा खान भनेर धेर कसिए मान्छे डुबे झोलमा ॥१
ल्याए जात र धर्म क्षेत्र बिचका मान्छेहरूमा फुट
पारे शोषणभित्र आम जनता ज्यादा मचाए लुट
सारा उत्तम राष्ट्र-वैभव ठुला बेचे विना मोलमा
चोक्टा खान भनेर धेर कसिए मान्छे डुबे झोलमा॥२
लादेको गण-तन्त्र लोक बिच नै यो फेरियो गाँडमा
लोभी स्याल हुँडार गिद्ध सब नै पौँचे ठुला टाँडमा
बेचे प्राकृत स्रोत भ्रष्ट खलले त्यो गुन्द्रुके मोलमा
चोक्टा खान भनेर धेर कसिए मान्छे डुबे झोलमा॥३
ह्याकुल्लो र फिलो बिलो सब लिए आफन्तको नाउँमा
कीर्ते धेर गरे जगा पनि दिए उम्दा सबै ठाउँमा
यस्ता भ्रष्ट र दुष्ट शोधन गरी को पेल्छ खै कोलमा ?
चोक्टा खान भनेर धेर कसिए मान्छे डुबे झोलमा॥४
यो अन्याय भयो भनेर जनता बोल्दैन कैल्यै पनि
बाँचेको कतिसम्म सार्थक भयो यो दासको जीवनी
यस्तो झूर दलालतन्त्र छ कहाँ यो स्थूल भूगोलमा ?
चोक्टा खान भनेर धेर कसिए मान्छे डुबे झोलमा॥५
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest








































