माधव पोखरेल गोज्याङ्ग्रेमच्छर र जुकाको रणस्थल
सिंहदरबारमा त झन मच्छर र जुकाको खानी नै पाइन्छ । मन्त्रालय विभागतिर त मच्छर र जुकाहरू कसलाई डसूँ भनेर कुरिरहेका हुन्छन् । फेरि ठेक्कापट्टामा अगाडि सर्ने पनि यिनै मच्छर जुकाहरू छन् ।

माधव पोखरेल ‘गोज्याङ्ग्रे’ :
नेपाल सदियौँदेखि मच्छर र जुकाको रणस्थलका रूपमा विकसित हुँदै गएको कुरालाई कसैले ढाँटेर होइन भन्छ भने त्यो स्वयं जुका र मच्छरको रूपमा जन्मिएको हो भन्दा फरक पर्दैन । नेपाली जनताको शरीरमा थाहै नपाई बसेर रगत पसिना चुस्न पल्केका जुका र मच्छर बिचको साइनोका बारेमा भन्नु पर्दा एकापसका प्रतिपक्षी हुन् । मच्छरले भेट्टायो भने जुकाको रगत चुसेर भाग्छ । तर जुकाले मच्छरको रगत चुस्न सक्दैन । हामी मानवका लागि भने मच्छर र जुका दुवै शत्रु भएर देखा परेका छन् । दुवैले हाम्रो शरीरलाई कब्जामा लिएर मनपरी गर्छन् । मच्छरले संगीतको धुनमा हामीलाई लठ्याएर रगत चुस्छ भने जुकाले खुसुक्क बित्ता नाप्दै आएर शरीरका अङ्ग अङ्गमा गोपनीयतालाई लत्याउँदै लाज शरम घिन केही नमानी चुसेर बस्छ ।
ठूला साना सबैखाले मच्छर र जुकाले हामीलाई सदियौँदेखि बलिको बोको बनाएर हरेक तरिकाले चुसेका छन् । हामी मध्ये कतिपयलाई त ठाडै सुकाएर राखेका छन भने कतिपयलाई मच्छर र जुकाहरूले घाटमा लगेर हिकहिक बनाएर राखेका छन् । मच्छर र जुकाहरूका बिरुद्धमा धेरै पटक अदालतमा मुद्दा समेत परेको छ तर अदालतले आफूमाथि पनि मच्छर र जुकाले दुःख दिएको कुरा सम्झेको छैन । अदालत धाउने मच्छर र जुका भनेका अदालतकै मित्रहरू भएकोले होला यी मच्छर र जुकाका बारेमा अदालत मौन बस्छ । अदालतमा पनि ठूला साना सबै खाले मच्छर र जुका सल्बलाउँछन । पीडितलाई मात्र होइन न्यायाधीशसमेत चुस्छन् ती मच्छर र जुकाले । भनौँ- माथिदेखि तलसम्मको अदालत मच्छरको रणस्थल बनेको छ ।
हामी जनतालाई चुस्ने मच्छर र जुका हाम्रै गाउँ घरमा जन्मिएका हुन् । कुनै विदेशी भूमिबाट आएका होइनन् । विभिन्न स्वरूप र रूपरङ्गका सजिएर समाजमा जोकरको भूमिका निर्वाह गरिरहेका यी मच्छर र जुकाहरूले बेला मौकामा हामी जनतालाई चुसिरहन्छन् । मच्छर र जुकाहरू चुनावका बेला झोला बोकेर अब हामी सुध्रिन्छौँ कसैलाई नराम्रो गर्दैनौँ इमान्दार भएर काम गर्छौँ भन्छन् तर घुमाउरो पाराले झुसी होउञ्जेलसम्म चुसिरहन्छन् । हिजो हात्ती छाप चप्पल प्याट्प्याट पार्दै हामी कहाँ आउने मच्छर र जुकाहरू आज हाम्रो रगत पसिना चुसेर किर्नाबाट बढुवा भएर साँढे गोरुमा परिणत भएका छन् ।
हामीले आराम गर्न सकिरहेका छैनौँ यी मच्छर र जुकाका कारणले । जताबाट पनि हामीलाई नै असर पर्ने कामहरू गरिरहेका छन् । भनौँ- यी मच्छर र जुकाहरू समाजबाट बाहिरिएर असामाजिक भएका छन् । जसका कारण समाजमा विरोधी भूमिका निर्वाह गर्दैछन् । मच्छर र जुुकाले हामीलाई चुस्नु नै विरोधीको भुमिका निर्वाह गर्नु हो भन्दा फरक पर्दैन । मच्छर र जुकाहरू पनि तहगत रूपमा फैलिएका छन् । संघीय, प्रदेश र स्थानीय गरी तीन तहमा बाँडिएका मच्छर र जुकाको हुललाई हामीले हाम्रै रगत पसिना चुसाएर पाल्नु पर्ने बाध्यता छ । हामीले हाम्रो रगत, पसिना, मच्छर र जुकाहरूकै लागि सञ्चिति गरेर राखेको जस्तो अवस्था आएको छ । यो अवस्थाबाट हामी कहिले मुक्त हुने ? मच्छर र जुकाहरूलाई हामी जनताको तर्फबाट प्रश्न छ ?
हामी जनता भने देशका निम्ति रातदिन खटेर रगत पसिना बगाउने तर मच्छर र जुकाहरू भने देशको चिन्तामा भन्दा जनताको रगत पसिनामा पौडी खेलेर बस्ने गरेका छन् । हामीले हिउँद वर्षा हिलो धूलो केही नभनी ज्यानको माया मारेर जम्मा गरेको रगत पसिनामा पौडी खेलेर सात पुस्ताका लागि जोहो गर्ने संस्कारबाट अब यी मच्छर र जुकाहरूलाई सदाका लागि विदा गर्नु पर्ने बेला आइसकेको छ । भोलिका दिनका लागि हामीले आजबाटै मच्छर र जुकाहरूलाई विदा दिएर नयाँ संस्कारको र नयाँ प्रणालीको विकास नगरेमा हामी नै दोषी हुने छौँ ।
मच्छर र जुकाको स्वार्थका लागि हामीले हाम्रो शरीरलाई बन्धक बनाएर गन्हाएका छौ । मच्छर र जुकाको पछि लागेर हामी पनि उही ड्याङको मुला बनिरहेका छौँ । मच्छर र जुकालाई हामीले हाम्रो गाउँघरभित्र छिर्न नदिने व्यवस्था गर्न सकेका छैनौँ । अर्काको शरीर नचुसी नअघाउने बानी परेका यी दुवै किराको व्यवस्थापन समयमै नगर्ने हो भने भोलिका दिनमा अझ भयावह अवस्था आउन सक्ने सम्भावना बढ्दै गएको बुझ्न सकिन्छ । पल्केपछि सधैँ चुसिरहने मच्छर र जुकासँगै कहिल्यै भेट हुँदैनन् । अपरझट कतै भेट भइहाल्यो भने पनि मच्छरले संगीत सुनाउँदै जुकालाई बलिको बोको बनाएर आफै दुषित हुँदै अन्यत्र प्रदुषण फैलाउन थाल्छ । मच्छर जुकाभन्दा पनि खराब र डरलाग्दो रोग लिएर हिड्ने किरा हो । हुन् त मच्छर र जुका दुवै खराब र घातक हुन । दुवै मनपरी गर्ने जहाँ पायो त्यहाँ जाने र खाने अनि राज्यलाई दोहन गरेर आदर्शवादी कुरा गरेर नथाक्ने किरा भएकोले यस्तालाई बेलैमा बिच बाटोमा राखेर सजाय दिनु पर्छ । हुन त दुवै किरा थेत्तरो भएकोले जे जस्तो सजाय दिए पनि पुनः गल्ती नगरी बस्न सक्दैनन् ।
मच्छर र जुकाको राजनीतिले देशको अवस्था नै दयनीय बनेको छ । जता पनि मच्छर र जुकाले नै चुसेर खोक्रो भएको देशमा बाहिरको छाला र भित्र हाडमात्र बाँकी रहेको देखिन्छ । हिमाल, पहाड, तराई सबैतिर यी मच्छर र जुकाकै रजाईँ छ । दक्षिणतिरबाट अर्को थरीको मच्छर र जुकाले माटो चुसेर लगेको छ । उत्तरतिरबाट हिमालको हिउँ चुसेर डकार्दै बसेको छ । देशभित्रका चुसाहा त थिए थिए तर देश बाहिरका चुसाहाले पनि नेपाललाई खोस्टो बनाएर आफ्नो छक्का र चौका दाउँमा लिने सुर गरेको देखिँदैछ । तर पहिले बाहिरी मच्छर र जुकालाई ठेगान लाउन नसक्दा भित्री मच्छर र जुकाले दुःख दिन थालेको हुन सक्छ । उत्तरतिरका मच्छरले नेपालमा बसेर बितण्डा मच्चाएको हामीले हालै देखेका छौँ र सुनेका पनि छौँ । सुन तस्करीमा पनि उत्तरतिरका मच्छर र जुकाको चुसाईले नेपाललाई दुखाई बढिरहेको छ ।
मच्छर र जुकाका कारण नेपालीले नपाउनु द्ःख पाएको कुरा कुनै नौलो होइन । यो पुरानै रोग भए पनि आफूले गरेको वाचा र प्रतिवद्धतालाई आफ्नै खुट्टाले कुल्चिएर हिँड्ने मच्छर र जुकाहरूको घुस नीतिको परिणाम हो भन्दा कुनै फरक पर्दैन । नेपाली राजनीतिमा मच्छर र जुकाको राजनीति गर्ने तरिका नै फरक धारको छ । भनौँ- मुसा र बिरालोले हामी नेपालीलाई छक्याए झैं गरी मच्छर र जुकाहरूले हामीलाई छक्याइरहेका छन् । स्वभाव पनि ठेयाक्कै खेतको, भकारीको धान खाने मुसो र दूध र मासु चोरेर खाने बिरालोको जस्तो छ यी मच्छर र जुकाहरूको । भनौँ- यिनीहरू चुस्नका लागि मच्छराधीस र जुकाधीसका रूपमा चिनिएका छन । साँच्चै भन्ने हो भने यी मच्छर र जुकाहरूले नेपाल खाएका छन् । हिजो पनि खाएका थिए आज पनि खाइरहेका छन् र भोलि पनि खाइरहनेछन् । यो सबै हाम्रै गल्तीले भएको हो हामी सचेत नहुँदाको परिणाम हो ।
मच्छर र जुका बिच संवाद विहीनताको अवस्था भए पनि यिनीहरूले तैँचुप मैचुप भएर हाम्रो रगत पसिना चुसिरहेका छन् । मच्छरले गीत गाएर मख्ख पार्ने जुकाले जग्गा नापेझैं बित्ता नापेर छक्क पार्ने पुरानो चलनले हामीलाई रुढी संस्कार युक्त मानव सभ्यताको अवस्थामा लगेको छ । एउटा उखान छ जो चार उसैको ठूलो स्वर भन्ने । मच्छर र जुकाहरूले पनि आफूलाई इमान्दार ठानेर ठूलो स्वरले कराउन थालेका छन् । ठूलो स्वरले कराउँदा अरुले यो त साह्रै इमान्दार रहेछ भनेर ताली पाइने भएकोले होला न्वारानदेखिको बल निकालेर ठुलो स्वरले कराएको । ‘चोरको खुट्टा काटभन्दा चोरले आफ्नो खुट्टा लुकाए’ झैं गरिरहेका छन् मच्छर र जुकाहरू । मच्छर र जुकाहरूको साम्राज्यमा बसेका हामीले अब कतिञ्जेलसम्म आफ्नो अस्तित्वलाई मच्छर र जुकाको झोलामा राख्ने ?
मच्छर र जुका कहाँ छैनन् । अस्पतालमा गयो त्यस्तै, अदालतमा गयो त्यस्तै, मालपोत, नापी, स्थानीय निकाय, जिल्ला प्रशासन, प्रहरी, सडक, कृषि वा भौतिक पूर्वाधार होस् जहाँसुकै पनि पुगेका छन् यी मच्छर र जुकाहरू । सिंहदरबारमा त झन मच्छर र जुकाको खानी नै पाइन्छ । मन्त्रालय विभागतिर त मच्छर र जुकाहरू कसलाई डसूँ भनेर कुरिरहेका हुन्छन् । फेरि ठेक्कापट्टामा अगाडि सर्ने पनि यिनै मच्छर जुकाहरू छन् । भनौँ- नेपालको प्रशासनिक क्षेत्र होस् वा प्राविधिक क्षेत्र होस् सबैतिर मच्छर र जुकाहरूकै रजगज छ मनोमानी छ ।
मच्छर र जुकाले समाज र देशलाई आफ्नो कब्जामा पारेको सदियौँ भयो तर पनि हामी त्यही मच्छर र जुकाको पछि लागिरहेका छौँ । हामी बेहोसी भएका छौँ यो कुरामा । होसी पनि बेहोसी भएपछि कहिल्यै काम लागिँदैन । त्यसैले हामी मच्छर र जुकालाई धूप, दीप र नैवेद्य चढाएर पूजा गरिरहेका छौँ । हामीले आजबाट नै यो पुजन गर्ने काम चटक्क त्यागेर दिमागलाई सचेत बनाएर भोलिका दिनमा हामी पूणर् रूपले सुध्रिनु पर्छ । हामी सुध्रेपछि मच्छर र जुकाका हुल आफै पन्छिएर जानेछन् । नेपाल मच्छर र जुकाहरूको रणस्थल बन्नु हुँदैन ।
०००
गाईघाट, उदयपुर
Subscribe
Login
0 Comments
Oldest







































