सुभाषचन्द्र देवकाेटाकाशी जाने, कुतीको बाटो हाम्रो नेपालको
जब, यस्तै पिँध बिनाका लोटाहरूको भरोसामा देश छोडिन्छ ! तब, देश नलडे के लड्छ ? देश नडुबे के डुब्छ ? यथार्थमा, पिँध बिनाका लोटा मान्छेहरूलाई, देश सुमम्पिएर, सुख, शान्ति र समृध्दिको अपेक्षा हामी नेपालीको ?

सुभाषचन्द्र देवकोटा :
पिँध बिनाको लोटा र
विचार नभएका मान्छे
उस्तै उस्तै हुन् !
जता हावा चल्यो उतै ढल्किने !
जता मौलियो उतै लर्किने !
यस्ता पिँध बिनाका लोटाहरू,
जब देशको शीर्षमा आसिन हुन्छन्,
जब देशको ढुकुटीका पहरेदार बन्छन्
तब, देश नडुबेर के डुब्छ ?
देश कंगाल नभएर के हुन्छ ?
पिँध बिनाका लोटा र
सत्व हराएका मान्छे,
उस्तै उस्तै हुन् !
जसको खायो उसकै गीता गाउँछन्
जसको शक्ति उसैको भक्ति गर्छन् !
जब यस्ता पिँध बिनाका लोटाहरू,
देश हाँक्ने चालक बन्छन् !
देशको भाग्य कोर्ने योजनाकार बन्छन् !
तब, देश विपत्तिमा न फसे के फस्छ ?
देशमा भ्रष्टाचार नमौलाए के मौलाउछ ?
पिँध बिनाको लोटा र
आत्माघाती मान्छे उस्तै हुन् !
घरको धुरीमा अगुल्टो झोस्छन्
स्वदेश लुटेर विदेश पोस्छन् !
जब यस्ता पिँध बिनाका लोटाहरू,
न्यायलयका हर्ताकर्ता बन्छन् !
राजनीतिका मुखिया हुन्छन् !
तब जनताको भागमा पीडा नपरेर के पर्छ ?
देशको जग नभत्किए के भत्किन्छ ?
यथार्थमा !
पिंध बिनाका लोटा र
विचार नभएको मान्छे उस्तै हुन् !
पिँध बिनाका लोटा र
सत्व गुमेका मान्छे उस्तै हुन् !
पिँध बिनाका लोटा र
आत्मघाती मान्छे उस्तै हुन् !
जब, यस्तै पिँध बिनाका लोटाहरूको
भरोसामा देश छोडिन्छ !
तब, देश नलडे के लड्छ ?
देश नडुबे के डुब्छ ?
यथार्थमा,
पिँध बिनाका लोटा मान्छेहरूलाई,
देश सुमम्पिएर,
सुख, शान्ति र समृद्धिकाे अपेक्षा
हामी नेपालीको ?
काशी जाने कुतीको बाटो !
हाम्रो नेपालको !
०००
गोरखा ।
Subscribe
Login
0 Comments
Oldest






































