चिरञ्जीवी दाहालबुढ्यौलीका कुरा
व्यक्ति जब जन्म लिन्छ, पढ्छ लेख्छ संसार देख्छ । सुत्छ खान्छ, कसैलाई आफन्त मान्छ, भेट्न जान्छ । हिँड्छ डुल्छ, कहिले यता जान्छ कहिले उता जान्छ । कोही लाटो हुन्छ, कोही बाठो हुन्छ ।

चिरञ्जीवी दाहाल :
जो लामो समयसम्म बाँच्छ, बुढेसकालमा उही नाच्छ । उसैले बुढ्यौलीको अनुभव गर्न पाउँछ । बुढेसकालसम्म बाँच्न नसक्नेहरूले नाच्न त के कुरा नाचेको देखेर हाँस्न पनि पाउँदैनन् । बुढो शरीरलाई तरूनी तन्नेरीको बिचमा गजधम्म राखेर आफ्ना बाल्यकालका कहानी, बैंशका अनुभव र उखान-टुक्का सुनाउन कम्ति पनि मजा आउँदैन । दुःखको कुरा यो अमूल्य अवसर, जन्मिएका सबै मान्छेले नपाउन सक्छन् । बुढ्यौलीको अनुभव गर्नै नपाई संसार छोड्नेहरू पनि प्रशस्तै छन् । उमेर नपुग्दै मर्नेहरूले बुढो हुने अवसर पाउँदैनन् । जेनतेन बाँचिरहने हो भने मात्र बिस्तारै बुढ्यौलीको भर्याङ चढ्न पाइन्छ । सजिलोसँग बुढो हुने सौभाग्य पनि त्यति धेरै मान्छेले नपाउन सक्छन् । बुढेसकालसम्म पुग्न अनगिन्ती दुःख, पिर, चिन्ता र कठिनाइका पहाडहरू चढ्नुपर्ने हुन्छ ।
मलाई लाग्छ बुढ्यौली भनेको सगरमाथाको शिखर भन्दा निकैमाथि हुन्छ । त्यसैले बुढ्यौली शिखरमा सफल आरोहण गर्न चाहनेहरूलाई यो शिखर चढ्न सगरमाथा चढ्नभन्दा कठिन हुन्छ । कसैलाई लाग्न सक्छ, “नचाहिने कुरा किन गरिराखेको होला ? बुढो हुनु त मामुली कुरा हो । बाजे बुढो भए, बा पनि बुढो भए, हामी बुढो हुन के को आइतबार ? “यसो भन्नु भयो भने तपाइँ सरासर गलत हुनुहुन्छ । काल जमाना परिवर्तन भइसकेको कुरा तपाइँले थाहै पाउनु भएनछ । म ठोकेर भन्नसक्छु । यो युग बा हजुरबाको युग होइन । वर्तमानमा हामीलाई बुढो हुन नदिन अनेक तत्वहरू पाइला पाइलामा खडा गरेर राखिएका छन् । ठाउँ ठाउँमा तगराहरू तेर्स्याएर राखिएको छ । छेकबार लगाइएको छ । त्यसैले बुढ्यौलीसँग साक्षात्कार गर्न सोचे जस्तो सजिलो छैन । नयाँ नयाँ रोगव्याधी, खानपानमा आएको परिवर्तन, सुख सुविधाका नाउँमा भित्रिएको अल्छीपनाका कारण मान्छे, आधा आयु गुमाउने अवस्थामा पुगेको छ । यी सबै कुरामा पुनर्विचार नगर्ने हो भने बा हजुरबाले जस्तो सजिलैसँग बुढेसकालसम्म पुग्न गाह्रै पर्नसक्छ ।
यो बुढ्यौलीको भर्याङ, जिन्दगीको भर्याङ र घरको माथिल्लो तलामा उक्लने काठे भर्याङ करिब एकै प्रकारका हुन्छ्न् । ती नयाँ छउन्जेल खस्रो हुन्छन् । जति चढ्नुस्, ओर्लिनुस् चिप्लिने सम्भावना फिटिक्कै हुँदैन् । फेरी नयाँ भर्याङ चढ्दा जोश र जाँगर पनि उत्तिकै आउँछ । भर्याङ जब पुरानो हुँदै जान्छ, त्यसको सतह चिप्लो र चिल्लो हुँदै जान्छ । चिप्लो भर्याङ, चढ्दा पनि लडिन्छ झर्दा पनि लडिन्छ । लडेपछि उठाएर थन्क्याउने ठाउँ र मान्छेको अभाव हुन्छ । बुढ्यौली र जीवनको भर्याङ पनि हुबहु तिनै काठे भरेङ् जस्तै हुन् । यी भरेङ् पनि सुरुमा खस्रो र पछि चिप्लिने खालका हुन्छन् । लडिसकेपछि उठ्न, उठाउन नसक्ने प्रक्रिया पनि लगभग उस्तै हुन्छ । त्यतिबेला शरीरको तागत र शक्ति पनि गिर्दो अवस्थामा पुगिसकेको हुन्छ ।
यी भर्याङका, वाह्य नभए पनि आन्तरिक अवयवहरू करिब करिब एकै प्रकारका हुन्छ्न् । झ्वाट्ट हेर्दा मात्र यिनीहरू फरक देखिने हुन् । जति पुरानो भयो त्यति मक्किएर जान्छन् । फेरि बुढ्यौली मात्र भनेर पनि हुँदैन । सबैको बुढ्यौली एकै प्रकारको पनि हुँदैन । कोही छिट्टै बुढो हुन्छन् कोही ढिलो । कुनै मान्छे उमेरले बुढो हुन नपाउँदै शरीरले बुढो हुन्छन् । एकदम छिटो बुढ्यौलीको शिकार त्यस्ता व्यक्तिहरु हुन्छन्, जो जवानीमा लगातार असफलता, दुःख र पीडाहरूबाट गुज्रिएका हुन्छन्। आर्थिक सङ्कटबाट घेरिएका हुन्छन् । बाह्रैमास घरेलु सङ्कटबाट जुधिरहेका हुन्छन्। गम्भीर रोगबाट ग्रस्त भएका हुन्छन्। जो गहिरो चिन्तामा डुबेका हुन्छन् ।
अस्ताउन लागेको घाम जस्तै जब उमेरले नेटो काट्ने तरखर गर्छ,तब शरीर जीणर् हुनथाल्छ । इन्द्रियहरू शिथिल हुन्छन् । मनमा निराशा उत्पन्न हुन्छ । त्यसपछि भएभरका शारीरिक र मानसिक समस्या एकैसाथ देखापर्छन् । यो अवधि अत्यन्त सम्वेदनशील हुन्छ । यसबेला सहयोग, टेको र आडको खाँचो पर्छ । दुर्भाग्यवश वर्तमान समाजका केही परिवारजनले वृद्धवृद्धालाई यही अवस्थाबाट हेला, घृणा र तिरस्कार गर्न आरम्भ गर्छन् । मानौं, मान्छेलाई तिरस्कार गर्न सुरुगर्ने आधार विन्दु यही हो । जब यो अवस्थाले घेराबन्दी गर्न सुरुगर्छ, ठिक यसैबेला बुढ्यौली अत्यन्त असहनीय हुन्छ ।
यो विन्दुमा पुगेका थोरै वृद्धवृद्धाहरू मात्र भाग्यमानी हुन्छन् । जसले पेटभरि खान पाउँछन् । यिनीहरू सुकिलामुकिला अवस्थामा नै भेटिन्छन् । आवश्यकता अनुसार तातो, मनतातो र चिसो पानीले नुहाँउछन् । यिनका हृष्टपुष्ट तस्विर सामाजिक सञ्जालमा देखिरहन पाईन्छ । यिनीहरू भगवानको दर्शन गर्न समय समयमा मन्दिरमा पनि जान पाउँछन् । जसलाई घर परिवारले राम्रोसँग हेरचाह गर्छन् । स्याहार सम्भार गर्छन् । परिवारका सदस्यहरूले सोधपुछ गर्छन् र मन लागेको खानलाउन पनि दिन्छन् । जब यस प्रकारको बुढ्यौली अवस्थाको मान्छे आसपास कतै देख्नुभयो भने सम्झनुस् यिनले आजसम्म भएजति सम्पत्ति आफ्नै नाममा राखिरहेका छन् । यस समुहका वृद्धवृद्धाहरू भाग्यमानी त यसै भए । यी अत्यन्त चतुर पनि रहेछन् भन्ने बुझ्नुपर्छ ।
टाठाबाठा र केही कम संख्यामा रहेका यस समुहका वृद्धावृद्धाहरूलाई भाग्यमानी भन्नैपर्छ । यथार्थ चाँही के हो भने यिनले भोगेको भाग्यको जन्मदाता यी आफैं हुन् । अब, यस समुहमा नअटाएका बाँकी वृद्धवृद्धालाई हेर्नुस् । यिनीहरू सोझा र सरल स्वभावका हुन्छन् । जसले जे भनेपनि सजिलै पत्याइदिन्छन् । यतिबेला यिनीहरूसँग आफ्नो पूणर् स्वामित्वको वस्तु भन्नु एउटा जीणर् शरीर मात्र बाँकी रहेको हुन्छ । यस समुह भित्र पर्ने अधिकांश व्यक्तिहरूसँग बुढ्यौलीको कारण, आठै प्रहर पोका पुन्तुरा बाँधेर यमदूतको प्रतीक्षा गर्नुभन्दा बाहेक अर्को विकल्प हुँदैन ।
यिनीहरूको नजरले चौविसै घण्टा ढोकातिर मात्र चियाइ रहेको हुन्छ । यिनीहरूलाई लाग्छ, किन समयमा काल आउँदैन ? देशको सरकारले गुजारा गर्न दिने गरेको गुजारा भत्ता यिनको हातमा पर्दैन तर पैसा बुझ्ने भर्पाइमा बकाइदा यिनीहरूले नै सहिछाप ठोकेका हुन्छन् । पैसा अर्कैले बोकेका हुन्छन् । होइन यिनैलाई पैसा बोकाउने हो भने पनि बाटोभरि मात्र हो । घर पुग्नु मात्र पर्छ, बिजुलीको बिल, खानेपानीको बिल, टेलिभिजन र इन्टरनेटको बिल जोड्दा बुढाबुढीले ल्याएको पैसासँग बिल जोड्दा हुने योगफल ठ्याम्मै मेलखान पुग्छ ।
यिनीहरूले दशैं तिहार र अन्य चाडपर्व कहिले आयो,कहिले गयो पत्तै पाउँदैनन् । यिनलाई भेट्न जाने मान्छे पनि कोही हुँदैन । संजोगले कोही पुगिहाल्यो भने यिनीहरू बस्ने कोठा कता छ ? कसैलाई सोध्नु पनि पर्दैन । घरको ढोकामा गएर उभिनु मात्र पर्छ, मलमुत्र मिसिएको अमिलो गन्ध जताबाट आउँछ, त्यै कोठातिर बाटो सोझ्याए हुन्छ, यी फेला पर्छन् । यिनीहरू बिना तन्नाको ओछ्यानमा मैलो कम्मल ओढेर खुट्टा दोब्र्याएर लडिरहेका भेटिनेछन् । यिनले पेटभरि खाने र घर परिवारको मिठो बोली वचन पाउने भनेको पाहुना आएको दिन र भत्ता बुझ्ने दिनमा मात्र हो । लामो र मैलो कपाल, झुस्स दारी, च्यातिएको कपडा, ओइलाएको साग जस्तो अनुहार यिनको पहिचान हो । यिनले केही कुराको माग गर्न र कसैसँग बातगर्न समेत बिर्सिसकेका हुन्छन् । वास्तवमा मान्छेको जीवन पद्धति बडो विचित्रको हुन्छ । जीवनमा अझै बाँच्न खोज्नेहरूले बाँच्न पाउँदैनन् । मर्न रहर गर्न खोज्नेहरूले पनि मर्न सक्दैनन् ।
व्यक्ति जब जन्म लिन्छ, पढ्छ लेख्छ संसार देख्छ । सुत्छ खान्छ, कसैलाई आफन्त मान्छ, भेट्न जान्छ । हिँड्छ डुल्छ, कहिले यता जान्छ कहिले उता जान्छ । कोही लाटो हुन्छ, कोही बाठो हुन्छ । जनता निर्धो छ । नेता गिर्दो छ । कोही एक आपसमा जुट्छन् कोही फुट्छन् । धेरैले दुःख पाउँछन्, थोरैले सुख पाउँछन् । रमाउँछन्, कमाउँछन् र घर गृहस्थ जमाउँछन् । आक्कल झुक्कल माया प्रेम पनि गर्छन् । प्रायः जसो अर्काको रिस डाहा गर्छन्, ईर्ष्या गर्छन् । कोही बुढेसकालको अन्तिम बिन्दुसम्म पुग्छन्, कोही आधा बाटोमै अस्ताउँछन् । अन्त्यमा थाहै नपाई एकदिन मर्छन् । यति सबैले बुझ्छन तर किन यस्तो व्यवहार गर्छन् ? यथार्थमा मान्छेको जीवन भनेको यही हो । भाग्यमा छ भने बुढो हुने पालो सबैको आउँछ । दिनको तीनपटक मात्र यो कुरा सम्झने हो भने वृद्धवृद्धालाई गर्ने व्यवहारमा केही परिवर्तन हुन सक्थ्यो ।
जानेबेला न त गरीबले च्यातिएको भोटो टालेर लग्यो, न त धनीले धनसम्पत्ति झोलामा हालेर लग्यो ! जे छ यहीँ मात्र छ । त्यै मान्छे, नेताको ताइनतुइको भाषण सुने ताली दिन्छ । आफूभन्दा निर्धोलाई गाली दिन्छ । सरसर्ती हेर्दा बाल्यकाल भनेको राजनीतिज्ञका सन्तान, यौवनावस्था भनेको सत्तासीन सरकार र बुढ्यौली भनेको सरकारको प्रतिपक्षी दल रहेछन्, त्यो पनि एकदुई जनामात्र सांसद भएको ।
०००
चितवन ।
Subscribe
Login
0 Comments
Oldest







































