डा. लोकेन्द्रप्रसाद पौड्यालतरकारीको भाउ
आज भन्दा भोलि गर्दै भाउ भो सगरमाथा खुर्सानी झैं पिरो भयो बिचौलिया गाथा सरकारको अनुगमन तैंचुप मैचुप चाला भाउले आकाश छुँदा पनि गैंडाको झैँ छाला ॥
डा. लोकेन्द्रप्रसाद पाैड्याल :
मूल्य बढाई सुरु भयो
तरकारीको भाउ
चाहाडपर्व झस्काउँदै
कमाउने दाउ
जता पनि मिल्न सक्ने
बेठेगाने आलु
प्याजसँग मित लगाई
हुन थाल्यो ठालु
मुन्टादेखि फलसम्म
बजार पस्या फर्सी
भाउ ओगट्ने लामो बाटो
आज, भोलि, पर्सि
काउलीको आफ्नै रवाफ
क्याटरिङको भोज
परवरको चर्को भाउ
सिमापारि ओज
घिरौँलाको पीडा ठुलो
उपभोक्ता हेला
तर पनि महँगीकोे
मौका छोप्ने वेला
गोलभेडाको रातो गाला
आकर्षणको भारी
स्वदेश विदेश दुवैतिर
ग्राहक मारामारी
छिप्पिएको कुरिलोको
उमेर ढाँट्या दाउ
कलिलोकोे नक्कल गर्दै
खोज्ने ठुलो भाउ
छाप्राछाप्रा उम्रिएका
डल्ले पाते च्याउ
स्वादको धक्कु लगाउँदै
महँगीने दाउ
कोक्याउने कर्कलोको
अग्लिएको ज्यान
महङ्गीकै हाउभाउ
सवै एकसमान
करेलाको मुखै तितो
भाउ आफ्नै ठाउँमा
महँगिने मुख्य अधार
चिनीरोगको नाउँमा
तन्किएर फल्दै आको
लहरोको लौका
आयुर्वेदिक गुन भन्दै
खोज्छ भाउको मौका
हुँदाहुँदा मुला जावो
गयो ठुलो बन्दै
समानमुल्य खोज्न थाल्यो
म चैं के कम भन्दै
ठुलोठुलो भाउ खोज्ने
परिकार अचम्म
बिषादीका भारि बोक्दै
बजार लटरम्म
खान बाध्य उपभोक्ता
किन्छन जानीजानी
महँगीको गीत गाउँदै
‘यो’ र ‘उ’ लाई छानी
आज भन्दा भोलि गर्दै
भाउ भो सगरमाथा
खुर्सानी झैं पिरो भयो
बिचौलिया गाथा
सरकारको अनुगमन
तैंचुप मैचुप चाला
भाउले आकाश छुँदा पनि
गैंडाको झैँ छाला ॥
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































