प्रशान्त खरेलमुस्कानको भाषा
चिल्ला गाडीमा झण्डा फहराउँदै हिँड्न सक्ने हैसियत दिलाएर यसरी उनी हुइकिँदा बाटो छाड्नु पर्ने सार्वभौम जनता हूँ हजुर उनी मुसुक्क हाँस्दै सवारी व्यवस्थापनमा लागे म मुस्कुराउँदै बाटो नाप्न थालेँ ।

प्रशान्त खरेल :
एकनासले बाटो काटिरहेको
ख्याउटे मेरो ज्यानलाइ एक्कासी रोकेर
प्रहरी दाइले सोधे,
‘झण्डा फहराउँदै हिँडेको मन्त्रीको
चिल्लो गाडीलाइ बाटो नछोडेर
लुरूलुरू आफ्नै बाटो हिँडिरहने
तँ को होस् ?’
अतिशय विनम्रतापूर्वक मैले भनेँ
म जस्तै ज्यान लिएर
सँगै यसैगरि बाटो नापि हिँड्ने
एकथान ज्यानलाई
चिल्ला गाडीमा
झण्डा फहराउँदै हिँड्न सक्ने
हैसियत दिलाएर यसरी
उनी हुइकिँदा बाटो छाड्नु पर्ने
सार्वभौम जनता हूँ हजुर
उनी मुसुक्क हाँस्दै
सवारी व्यवस्थापनमा लागे
म मुस्कुराउँदै
बाटो नाप्न थालेँ
थाहा छैन उनी
के बुझेर मुस्कुराए
थाहा छैन म
के बुझाएर मुस्कुराएँ
यति थाहा छ
उनी
त्यही मृदुल मुस्कान सहित
आनन्दले निदाउँनेछन्
म पनि
मन्द मन्द मुस्कानको आनन्दसाथ
मिठो निन्द्रा निदाउनेछु ।
०००
गोकर्णेश्वर, काठमाडौं ।
२०८०।०६।२५
Subscribe
Login
0 Comments
Oldest







































