खगेन्द्र नेउपानेनेता ज्यू !
चुनााव सकिएको चारदिन पछि चौरासीको धमास सुन्नुपर्ने झुटा अभिव्यञ्जना कोथरिएका मनमौजी कर्कस आवाज सहन नसकेर हरेकपल्ट कान थुन्नुपर्ने तपाईंका खेलहरू तपाईंका झेलहरू सदनभित्रका ठेलमठेलहरू बेरोजगार भएर हेर्नपर्ने ?

खगेन्द्र नेउपाने :
हामीलाई भए होस नभए नहोस
तर तपाईंको जय होस् ।
हरेक पल्ट सडकमा आउनुपर्ने
न्याय पाउँ भनेर मुख बाउनुपर्ने
हजुरहरुको ढोकासम्म धाउनुपर्ने
ढोका बन्द भए चिच्च्याएर नारा लाउनुपर्ने
हामीजस्तालाई भए होस् नभए नहोस्
तर तपाईंको जय होस् ।
अपराधै अपराधका रातहरू
मर्मर कुल्चिएर
हाम्रो विश्वासमाथि
विश्वासघातको मदिरा पिएर
तपाईंका बुटहरू
डाक्टर र माष्टरका भाग्यमाथि बजारिएका छन्
आश्वासनका अनगिन्ती झोले पोकाहरू
कहिले यो किनारा
र
कहिले उ किनारा सारिएका छन्
कुनै दुर क्षितिजका
अनिश्चित भाग्यरेखासँग जिस्किन विवश
हामीजस्तालाई भए होस् नभए नहोस्
तर तपाईंको जय होस् ।
चुनााव सकिएको चारदिन पछि
चौरासीको धमास सुन्नुपर्ने
झुटा अभिव्यञ्जना कोथरिएका
मनमौजी कर्कस आवाज सहन नसकेर
हरेकपल्ट कान थुन्नुपर्ने
तपाईंका खेलहरू तपाईंका झेलहरू
सदनभित्रका ठेलमठेलहरू
बेरोजगार भएर हेर्नपर्ने
आफू पछारिएको
पराजित निश्वास जबर्जस्त फेर्नपर्ने
हामी जस्तालाई भए होस् नभए नहोस्
तर तपाईंको सधैँ जय होस् ।
०००
गौरादह, झापा
Subscribe
Login
0 Comments
Oldest








































