तारा गाउँलेतिम्रो घोषणा पत्र
ढाँटको पुस्तक फगत ढाँटको पुस्तक। हामी बाध्य छौ तिम्रो कुरा पत्याउन ढाँटको पुस्तक वेद मानेर भट्याउन के गर्नु खोइ ? नखाउँ दिनभरीको सिकार खाउँ कान्छा बाबुको अनुहार।

तारा गाउँले :
एक हुल भातखराउहरू
हाम्रो गाउँ तिर आउँदैछन्
नयाँ बेहुलो आएको शंदेश लिएर ।
हामी बरमाला उनिरहेका छौ
पहिय्राउन उसको गलामा
अघिल्लो पटक तिमीले
वेद पुराण र गिता छोएर
बाइवल कुरान र मुन्धुम ढोगेर
गरेका
बाचा, कसम किरियाको तमसुक
अझै हाम्रो सिह्रानमा छदैछ ।
फेरी अर्को तमसुक बोकेर
तिमी आउदैछौ रे
तिम्रो पुरानो तमसुकले
हाम्रो आँङ ढाक्न सकेन
तिमीले खाएका बाचा कसमले
हाम्रो भाँडोमा भात पाक्न सकेन ।
हामीलाई थाहा छ
जतिसुकै पूजा गरे पनि देउता बोल्दैन
र यो पनि थाहा छ
नकचरालाई कुनै किरिया कसमले पोल्दैन ।
यस पटक पनि
तिमीले बोल्ने कुरा कण्ठै छ
सेनाले हाम्रो छोरा बेपत्ता पारेको कुरा
छापामारले सिपाही मारेको कुरा।
बाटो स्कुल र अस्पतालको कुरा
अग्रगमन र प्रतिगमनको कुरा
भोक अनि बैभवका कुरा
कुराको लागि कुरा
कुरा कुरा अझै कुरैकुरा ।
तिम्रो हातमा एउटा पुस्तक पनि छ
पुस्तकमा –
मरुभूमिमा भेडा चराउने
मलेसियाको जंगलमा हराउने
देशको कुनाकाप्चामा
भोकै नाङ्गै कह्राउनेहरुको
स्वप्न स्वर्गको मार्ग चित्र छ।
त्यो तिम्रो पुस्तक
फगत पुस्तकका लागि पुस्तक
ढाँटको पुस्तक
फगत ढाँटको पुस्तक।
हामी बाध्य छौ
तिम्रो कुरा पत्याउन
ढाँटको पुस्तक
वेद मानेर भट्याउन
के गर्नु खोइ ?
नखाउँ दिनभरीको सिकार
खाउँ कान्छा बाबुको अनुहार।
०००
झापा, हाल काठमाडाें
Subscribe
Login
0 Comments
Oldest








































