शिव सस्मितडायरीमा टाउकेहरू
हो उसको झुट्टा आश्वासनको प्रसादलाई बाढीले बगायो रे । अनि अनि साधुराम-५ को चुरीफुरी सबै खरानी बन्यो रे । ऊ अहिले त्यही खरानी धसेर बहुलाउँदै हिँडेको छ रे । सोचेँ, अब भने मेरो डायरीले शान्ति पाउने भो । अन्तिम लाइनमा लेखेँ, टाउकेहरू स्वाहा !

शिव सस्मित :
डायरीमा सायरीहरू मात्र लेखिन्छन् भन्नुहोला तपाईंहरू तर त्यसो होइन, त्यहाँ त एक टाउके कंसदेखि लिएर हंस नपरेका दस टाउके रावणहरू सम्मका थुतुनाहरू देखिन्छन् । सज्जनधारी मूर्खहरू, स्यालधारी छट्टुहरू, गिद्धधारी पट्टुहरू, असलधारी धूर्तहरू, बाहिर मगमग बसाएका, भित्रभित्रै गुहुपानीले मन्साएका, डुङ्डुङ्ती गह्नाएका, छापामा चर्चा पाएका, खोपीमा मर्चा खाएका, टोपीमा शिरफूल पहिरिएका, छातिमा बदनामको त्रिशुल रोपिएका, कलङ्कको विष पिएर अमृतमा चोपिएका, बाहिर न्यायले लेपन गरिएका, भित्र अपराधै अपराधले भरिएका, कारागारतिर टहलिएका तर समाजसेवीहरू कहलिएकाहरूका नालिबेली पनि लेखिन्छन् त्यहाँ । त्यतिमात्रै होइन, मान्छेलाई गोटी बनाउनेहरूदेखि लिएर मान्छेकै गिदीको रोटी हाल्न खोज्ने खोटी आत्माहरू, आफ्नो टाउकालाई अरुको भन्दा चार किलो भारी छ भन्दै रल्लिएर, फूर्तिफार्ती झल्लिएर अनि आफ्नै गिदी छताछुल्ल भएपछि बल्ल डल्लिएर हिँड्ने गरेका कतिपय टाउकाहरूको कथाव्यथा पनि लेखिन्छन् त्यहाँ ।
अचेल इमानीहरूको खडेरी परेको छ, बेइमानी टाउकेहरूको चोकचोकमा घडेरी परेको छ । नभेटुँ भन्दा पनि भेट्नुपर्ने, नदेखुँ भन्दा पनि देख्नुपर्ने, वरत्र परत्र सर्वत्र टाउकेहरूकै बिगबिगी छ । त्यसैले पनि खुब सज्जन बनेर उनीहरूको भजन नगाइ सुखै छैन । गाउन पनि दुःखै छैन त्यसले पनि एउटा डायरी बोकेर हिँडेको छु झन्डै झन्डै आधा सास रोकेर हिँडेको छु ।
हिँड्दै थिएँ, साधुराम-१ नामक टाउको बाटैमा फेला पर्यो । उसको स्वभाव न हो दृष्टिले हेला गर्यो । उसको बाउको उपज टाउकाको थुतुनो बिगार्यो । आँखा मर्कायो, मुन्टो उतातिर फर्कायो । त्यसो नगरोस् पनि किन ? ऊ आफ्नो टाउकालाई अरुको भन्दा बेसी सम्झन्छ । आफूलाई सिंह मान्ने र अरुलाई मुसो ठान्ने उसको प्रवृत्ति छ । बुद्धिजीवीको मुखुण्डो पहिरिएर सज्जनहरूको भकुण्डो खेल्छ । सामुन्नेमा बोलीमा लोली मिलाउँछ, कन्नापछाडि गोली चलाउँछ । कसैलाई डोली चढाउँछ, कसैलाई भुईंको धूलो चटाउँछ । राख्नु हटाउनु, कसैलाई डाँडो कटाउनु उसको हैसियत हो । आफ्नो खोपडीको बखानमा आफैँ थपडी बजाउँछ । हो ऊ त्यस्तै छ र त टाउके भनिएको छ, त्यसैमा गनिएको छ । यस्तो मानवीय गुण बोकेको टाउकालाई मैले मेरो डायरीमा किन नलेख्ने ? लेखेँ, नम्बर १, साधुराम-१ ।
साधुराम-२ को महल वरिपरि सधैँ चहलपहल छ । रोगी, भोगी, जोगी, ढोंगी केहीको आशामा त्यहाँ पुगेका छन् । भोकाहरू डोका बोकेर भित्र पस्छन् अनि भुईंमा थचक्क बस्छन् । दिए लान्छन् नदिए रित्तै जान्छन् । उनीहरूको नियति नै त्यही छ । प्याज बाँडेर ब्याज असुल्न साधुराम-२ तल्लीन छ । सक्नेलाई पाखा लगाउँछ, नसक्नेका घरबारीमा आँखा लगाउँछ । जसले गर्दा एकसमयको शालिक आज निमुखाहरूको मालिक बनेको छ । शान र मान दुबै पाएको छ । कोपरीमा हग्नेलाई टपरीको के वास्ता ? अरुको आकाङ्क्षालाई वेवास्ता गर्दै लत्याएको छ । अरुकै पसिनाले ऊ यो जुनीमा मङ्गल जाने भर्याङ बनाउन चाहन्छ, मरेपछि स्वर्ग जाने विमान बनाउन चाहन्छ । उसको यही विशेषताले गर्दा ऊ टाउकेमा गनिएको छ । सभासम्मेलनमा डाकिएको छ, मञ्चमै लगेर राखिएको छ । यस्तो खालको टाउको मेरो डायरीको सदस्य बन्न पुग्यो । कोरें नम्बर २, साधुराम-२ ।
साधुराम-३ मा पदको खूबै घमण्ड छ । आपूm भने लम्फु छ । त्यही पदको आडमा ऊ डम्फू बजाउँछ । कुन्नि कसको चाकडी गथ्र्यो रे, नाम र दाम दुबै कमाएको छ । हो, दुई पैसाको काम नगर्नेको नाम खुब चलेको छ । आजलाई भोलि र भोलिलाई पर्सि भन्दै समयलाई छलेको छ । आफू डोलीमा चढेको छ, अरुलाई खोलीमा बगाएको छ । व्यवहारले दुनियाँलाई शूलीमा चढाएको छ । बूढी अटाउने गरी भुँडी बढाएको छ । दिउँसो कुर्ची वरिपरि रुँघ्छ, रात परेपछि नेताको कोठी सुँघ्छ । साधु देखिन्छ, चोर बनेको छ, दुई नम्बरीले नाफाखोर बनेको छ । सबैतिर बन्द हुँदा उसको धन्दा फस्टाएको छ । यस्तो विशेषता बोकेकाले ऊ टाउके कहलिएको छ । त्यसैले त मेरो डायरीमा एक लाइन थपियो, नम्बर ३, साधुराम-३ ।
साधुराम-४ को नजिक पुगें । ऊ निकै धूर्त छ । बोलीमा ललिते छ । निकै छाँटेर बोल्छ, ठाँटिएर हिंड्छ, ढाँटेर बोल्छ । मनको मन्दिरमा अङ्गार नै अङ्गारको मूर्ति छ तर फुर्तिसाथ उसले झुट्टा आश्वासनको प्रसाद बनाएर बाँड्छ । मान्छेहरूलाई जिउँदै साङलाले बाँधेर बेच्न खोज्छ । स्वाभिमानी आत्माहरूलाई साँधेर खान खोज्छ । दुईचारजनाको अगाडि उसलाई खास बन्नुपरेको छ, अरुलाई उसको दास बन्नुपरेको छ । बोल्न थाल्यो भने सास नरोकी बोल्छ तैपनि कसैलाई भुईंमा गुडाएर बोल्छ, कसैलाई आकाशमा उडाएर बोल्छ । सोचेर बोल्न जानेको छैन, घोचेर बोल्छ । मान्छे बोलक्कड छ । बोल्ने मान्छेको पिठो पनि बिक्छ तब पो त्यो मान्छे टिक्छ । पर्दाअगाडि केही दिएजस्तो गर्छ पछाडिबाट लिएरै छाड्छ । अन्य टाउकाहरूसँग साँठगाँठ गर्छ त्यसैले त दमनको आँट गर्छ । केही धन कुम्ल्याएको छ त्यसैले उसलाई उम्ल्याएको छ । राजनेतो बनेको छ । फेटो गुतेको छ । यति भएपछि के चाहियो र ? उसको भाउ निकै बढेको छ, टाउकेको लिस्टमा बुई चढेको छ । ऊ पनि मेरो डायरीको सदस्य बन्न पुग्यो । छापें नम्बर ४, साधुराम-४ ।
एउटा अनौठो खालको टाउको पनि बजारमा देखियो । जुन साधुराम-५ हो । उसको वयान गरिनसक्नु छ, उसको अगाडि परिनसक्नु छ । शरीर हेर्दा बाङ्गो छ, खुबीमा भने नाङगो छ । तैपनि उसको चर्चा परिचर्चा वल्लो छेउदेखि पल्लो छेउसम्म उसको भेउ पाएका वा नपाएका सबैमा छ । कालो दामले निकै काम गरेको छ । किनकि यहाँ खामभित्रको दामको पछाडि धेरै जना लाग्छन् ।
एउटा संस्थाको सभा थियो । साधुराम-५ घुम्ने कुर्चीमा बसेर फलाकिरहेको थियो । उसको हाउभाउ देख्दा लाग्थ्यो, ऊ कुनै कुरा हात पार्ने दाउमा छ । आसनमा बसेर एकछिन शासन चलायो । अनि कुन्नि कता भ्याउनु छ भन्दै उठेर फटाफट हिंड्यो ।
कुनै राजनीतिक पार्टीको आमसभा थियो । साधुराम-५ को सवार त्यहाँ पनि थियो । ऊ राजनीतिक भाषण छाँट्नमा व्यस्त थियो । अरुका कुरा काट्नमा व्यस्त थियो । उसका कुरौटे र भरौटेहरू वरिपरि सल्याङ्सुलुङ गर्दै थिए । मेसो नपाएका मानिसले पनि खुट्याउन सक्थे, यसो हेर्दा ऊ पार्टीको नेतृत्व पङ्क्तिमा छ । हेर्दाहेर्दै, आधा सास फेर्दाफेर्दै ऊ त सभानायकको आसनमा गएर बस्यो । म त जिल्लाराम परें ।
पुग्नै परेको मानवअधिकारको कार्यालयमा । उही साधुराम-५ टेबुलमा खुट्टा राखेर फ्वाँफ्वाँ निदाइरहेको थियो । अर्कै हो कि भनेर नजिकै गई नियालेर हेरें, मेरो दृष्टिले फेल खाएन । उसको सहयोगी हो वा को हो अर्को टेवलमा मुन्टो जोतिरहेको थियो । चालचुल नगरी फर्किएँ ।
पत्रकारहरूको वृहत् सम्मेलन भो । वरिष्ठ पत्रकारको नाउँमा त्यही साधुराम-५ ले प्रमुख अतिथिको आतिथ्यता ग्रहण गरेको छ । ऊ भन्छ, पत्रकारहरूले सत्यको खोजी गर्नैपर्छ, विसङ्गतिको चिरफार गर्नैपर्छ, अपराधीको केरकार गर्नुपर्छ ।
देख्नेले भन्छन्, किनकि यहाँ देख्नेले लेख्दैन, लेख्नेले देख्दैन । साधुराम-५ आपराधिक गिरोहको नाइके हो । गाँठी कुरो खोपीमै बसेको छ । शान भने टोपीमै बसेको छ । किनकि ऊ आफंै वरिष्ठ पत्रकारमा कहलाएको छ, नेताको लिस्टमा परेको छ । मानवअधिकारदेखि लिएर पशु अधिकारको क्षेत्रसम्म उसैको रजाइँ छ । हर्ष बढाइँ छ । हो उसले एक असल समाजसेवी र देशभक्तको मुखुण्डो पहिरिएको छ । अरुले पहिर्याइदिएका छन् । ऊ यहाँ पनि छ, त्यहाँ पनि छ । सोह्रसय गोपिनीहरूको खोपीमा एकैसाथ पुग्न सक्ने द्वापरयुगे श्रीकृष्ण जस्तै ऊ सर्वत्र छ । मलाई लाग्यो अझसम्मको सबैभन्दा ठूलो टाउको यही हो । यतिविधि ठूलो टाउको पाउनु मेरो अहोभाग्य हो । त्यसैले अलि मोटो मसीमा मेरो डायरीमा कोरें, नम्बर ५ साधुराम-५ ।
घामले डाँडो काट्न थालिसक्यो उता डायरीमा साधुरामहरूको लाम लाग्न थालिसकेको छ । काम भने अझै सकिएको छैन । तैपनि हार नमानेर हिँडिरहेको छु । विभिन्न गुण र विशेषता बोकेका साधुरामहरू जहाँ जहाँ गयो त्यहीँ त्यहीँ भेटिए । म हिँड्दै थिएँ । अचानक एकजना कसैले मलाई भन्यो । समयले कोल्टो फेर्यो रे । उल्टो जति सुल्टो भयो रे । त्यसैले साधुराम-१ ले आफैं भुइँको धूलो चाट्यो रे । साधुराम-२ को महल गल्र्यामगुर्लुम ढल्यो रे, उसको जीवनमै सबभन्दा ठूलो आँधी चल्यो रे । उसले कुम्लो बोक्यो रे अनि त कुलेलम ठोक्यो रे । साधुराम-३ को पद पादसितै ढ्वाइँ पर्यो रे, आगामा झ्वाइँ पर्यो रे । साधुराम-४ को बकम्फुसेपन हावासितै कावा खायो रे । हो उसको झुट्टा आश्वासनको प्रसादलाई बाढीले बगायो रे । अनि अनि साधुराम-५ को चुरीफुरी सबै खरानी बन्यो रे । ऊ अहिले त्यही खरानी धसेर बहुलाउँदै हिँडेको छ रे । सोचेँ, अब भने मेरो डायरीले शान्ति पाउने भो । अन्तिम लाइनमा लेखेँ, टाउकेहरू स्वाहा !
०००
श्रावण, २०६५
’डायरीमा टाउकेहरू’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह (२०६९)
Subscribe
Login
0 Comments
Oldest










































