चिरञ्जीवी दाहालसित्तैँमा मनोरञ्जन लिने हो ?
सित्तैँमा मनोरञ्जन लिने हो र समाजमा चतुर बनेर चिनिन चाहनुहुन्छ भने, आजैबाट कसैको निन्दा गर्न सुरु गरिहाल्नुस् । कसैले गल्ती गरेको छ र तपाईंलाई मन परेको छैन भने सामुन्नेमा ठाडै भन्न सक्नुहुन्न भने पनि छैन त यो विधि गजबको !

चिरञ्जीवी दाहाल :
कहिलेकाहीँ हामी कसैको विषयलाई लिएर त्यो पनि उसकै अनुपस्थितिमा निकै निन्दा र आलोचना गर्ने गर्छौँ । ऊ यस्तो र उस्तो भन्छौं । उसको कन्जुस्याइँ बारे एक एक गरेर छलफल गर्छौं , मानौं हामी चाँही दानवीर कर्ण हौं । पारिवारिक अवस्थाका वारेमा जाने बुझेसम्म केलाएर उसको व्यक्तिगत चरित्रमाथि औंला उठाउँछौं। यसरी कसैको पिठ्युँपछाडि कुरा काट्दा मान्छेलाई हुनसम्मको मजा आउँछ । प्रायः धेरैले अनुभव गरेको हुनुपर्छ । त्यसरी प्राप्त भएको खुशी र आनन्द जीवनभर भुल्न सकिन्न । खुशी हुन सजिलो छैन । एकछिन अर्काको बदख्वाइँ गरेकै भरमा खुशी प्राप्त हुन्छ भने किन कुरा काटिँदैन मजाले काटिन्छ ।
यसरी अर्काको निन्दा र चियोचर्चो गर्ने प्रचलन भर्खरै विकसित भएको भने होइन । यो निकै पुरानो प्रचलन हो । उहिले सिनेमाहल, टेलिभिजन, मोबाइल, इन्टरनेट नहुने समयमा मनोरञ्जन लिने मुख्य माध्यम भनेको कसैको पिठ्युँपछाडि बदख्वाइँ गरेर गर्ने गरिन्थ्यो। केही होनहार व्यक्तिहरू जम्मा भएर कसैको निन्दा गरेर, भएका नभएका कुरा काटेर खुशी मान्ने गर्थे। यो विधि अत्यन्त सरल र उत्तम विधि मानिन्थ्यो । हाम्रा कतिपय चाडवाड, रीतिरिवाजलाई निरन्तरता दिए जस्तै यसरी अर्काको निन्दा गर्ने कार्यलाई पनि निरन्तरता दिन सकेकोमा हामी धन्य छौं ।
कुनै पनि व्यक्तिको विषयमा र गैरहाजिरीमा उसको निन्दा गर्दा मान्छेलाई अत्यधिक रमाइलो र उत्तिकै आनन्द लाग्ने गर्छ । यस्तो बेलाको आनन्द अत्यन्त अवर्णनीय हुन्छ । जसको वर्णन गर्न शेषनागले पनि सक्दैनन् भने हामी जस्तो तुच्छ मान्छेले कसरी सक्नु !
कसैको निन्दा गरिरहँदा जब त्यसले धाराप्रवाह रुप लिन्छ, घण्टौं बितेको पत्तै पाइँदैन । तीन घण्टाको सिनेमा हेर्दा, भागवत पुराणमा एक अध्याय पुराण सुन्दा, कतै आध्यात्मिक प्रवचन सुन्दा जस्तो निन्द्रा ,पट्यार पटक्कै लाग्दैन । जति सुन्यो उति सुनौं सुनौं लाग्छ । अझै प्रसङ्गको विच विचमा उपस्थित मध्ये कसैले थपथाप गरिदिनु पर्छ, सम्झाइ दिनुपर्छ, अनि त के चाहियो र ? निकै पुराना र सम्झनामा आएजति सबै विषयलाई लिएर निन्दा गर्न सुरु गरिहाल्नुपर्छ । त्यसबेला त्यस्तो परिस्थिति सिर्जना हुन्छ, उपस्थित सबैलाई कुनै एउटा व्यक्तिको निन्दा गरौं गरौं लाग्न थाल्छ ।
निन्दाको क्रममा उपस्थित सहभागीहरूले निकै चाख दिएर हो मा हो थप्दै ध्यान दिएर श्रवण गरेको बुझेपछि, निन्दा अझै विस्तृत रुपमा तन्काउँन मनलाग्छ । जब सम्बन्धित व्यक्तिको विषयमा निन्दा गर्ने बिषय सकिन्छ, श्रोता सहभागीको मनराख्नकै लागि पनि अब भने फर्जी कुरामा निन्दा गर्न सुरु गर्नु पर्छ ।
उपस्थित आलोचक र अन्य उपस्थित हुनेहरूलाई लाग्छ, संसारमा सबैभन्दा महत्वपूर्ण मनोरञ्जनको विधि यो भन्दा अरू केही हुनै सक्दैन । जब कसैलाई निन्दा गर्न सुरु गरिन्छ , मान्छेहरू मन खोलेर हाँस्छन् । निकै खुशी हुन्छन् र रमाउने गर्छन् ।
त्यसबेला सबैको मन मिल्छ । अनेकथरी मन एउटै भएको देख्न पाइन्छ । अघिपछि जस्तो भिन्न विचार, भिन्न राजनीति, जातीयता र क्षेत्रीयता कहिले पनि निन्दा गर्ने काममा वाधक बन्दैन । न उमेर समुह नै वाधक बन्छ । निन्दाको क्रममा लिङ्ग वाधक बनेको पनि आजसम्म थाहा पाइएको छैन । कसैको निन्दा जो कोहीसँग मिलेर गरे पनि हुन्छ, जसरी गरे पनि हुन्छ, यसले केही पनि फरक पार्दैन । यसैले विपरित विचारका मान्छेहरूलाई एकै सुत्रमा बाँध्ने अचुक उपाय पनि पिठ्युँपछाडिको बदख्वाइँ नै हो ।
निन्दाको समयमा सबै मिलेर यस प्रकारको रसमय संसारको रचना गरिन्छ । लाग्छ, शास्त्रमा पनि नवरसको होइन दश रसको व्याख्या गरिनु पर्थ्यो । निन्दा रस पनि यसमा समावेश गरिनु पर्ने थियो । रसहरू मध्ये निन्दा रस, राजा रस मानिनु पर्थ्यो । निन्दा रसमा पाइने स्वाद,अरु कुनै पनि रसमा पाइदैन ।
उपस्थित प्रत्येक व्यक्तिले आ-आफ्नो विवेक अनुसार बदख्वाइँ व्याख्या प्रस्तुत गर्नुपर्छ । प्रस्तुति आफ्नै शैली र तरिकाको पनि हुनसक्छ । यसरी कसैको निन्दा गर्दा कवितामा जस्तो छन्द मिलाउनु पनि पर्दैन । गजल र मुक्तकमा जस्तो बहर र अनुप्रास मिलाउनु पनि पर्दैन । कथा र निबन्ध लेखनमा जस्तो भाषाको शुद्धता पनि चाहिँदैन ! जसरी हुन्छ, अर्काको निन्दा गर्नसके मात्र पनि पुग्छ । निन्दा गर्ने शैलीमा पनि आफ्नै मौलिकता समावेश गरे हुन्छ । मजाले छुट पाइन्छ ।
एउटाको निन्दा गर्ने तरीका सबैलाई मन पर्नुपर्छ भन्ने पनि हुँदैन । मुख्य लक्ष भनेको आलोचना गरिने व्यक्तिप्रति जसरी हुन्छ, निन्दा भने समाविष्ट हुनै पर्छ । जब एउटाले आफूले जाने बुझेसम्म निन्दा गरिसक्छ, उपस्थित अन्यले त्यसमाथि टीका-टिप्पणी सुरु गर्नुपर्छ । उचित-अनुचित तर्क दिनसक्नु पर्छ र बहस आरम्भ गर्नुपर्छ । वार्तालापको एउटा यस्तो सिलसिला शुरू हन्छ, जसबाट कुरा काट्नेहरू कसैलाई केही पनि लाभ भने प्राप्त हुँदैन । जब बहस सकिन्छ, हात लाग्यो शुन्य । तर कत्ति पनि चिन्ता लिनु पर्दैन । हातमा केही नपरेर के भो ? आखिर मनोरञ्जनका लागि कसैको निन्दा गरिएको न हो । मनोरञ्जन लिएपछि सम्झनुस् एकछिन भने पनि खुशी र सन्तुष्टि प्राप्त भयो।
मेरो विचारमा, निन्दाका यस किसिमका वार्ताहरू गाउँघरका चियापसल, साहित्यिक संस्थाहरू, पार्टी कार्यालय, सरकारी अड्डा, संसद भवन, सिंहदरवार जताततै खुलेआम सञ्चालन गरिनुपर्छ । जुन अत्यन्त रोचक र हास्यस्पद हुने गर्छन् । हुन त यी संस्थाहरूमा अहिले पनि यसप्रकारका वार्ता नहुने होइनन्, तर त्यसलाई अझै विस्तृत गर्नुपर्छ, संस्थागत रुपमै गर्नुपर्छ भन्ने मेरो सुझाव हो ।
यदि कसैको सामुन्ने उसको आलोचना गर्न साहस छैन, या उसले कुरा काटेको पनि नसुनोस् , सम्बन्ध पनि कायम रहिरहोस् तर मनको तितो मात्र फाल्न पाइयोस् भन्नका लागि यो विधि अत्यन्त उपयुक्त विधि हो । अरुको निन्दा गर्दा निकै कलात्मक रूपले प्रस्तुति दिन सक्नेलाई समाजले वाचाल ठान्ने गरेको छ । सिपालु , टाठोबाठो र चतुर मान्ने गरेको छ । यसरी अर्काको कुरा काट्ने विषयमा सिद्धहस्त मानिनेहरूले नै अनेकौं अवसर पाउने गरेका छन् । त्यसो भएपछि हामी पनि टाठोबाठो र वाचाल किन नबन्ने ?
यसरी कसैको उपस्थिति नभएको मौकामा उसको बदख्वाइँ गर्दा प्रत्यक्ष रुपमा दुईवटा फाइदा हुन्छ । पहिलो कुरा यसरी कसैको कन्डापछाडि कुरा काट्दा र सुन्दा मन हलुका हुन्छ र मन रमाउँछ । दोस्रो फाइदा यो तरिकाले कसैको कुरा काट्ने काम अत्यन्त रोचक ‘टाइम पास’ खेल जस्तै हुन्छ । यसैले जोसँग प्रसस्त समय छ, अनगिन्ती फुर्सत छ, उनीहरू यसप्रकारको खेलमा ज्यादै निपुण हुनेगरेका छन् । जसको कामधन्दा छ, जो केही पेशा, व्यवसायमा संलग्न छन् उनीहरूले भने अन्य फुर्सदिलाले जस्तै पूर्ण मनोरञ्जन लिन पनि सक्दैनन् र मनोरञ्जन दिन पनि सक्दैनन् । उनीहरूले पनि केही न केही बोलेर सहभागिता नजनाइ नहुने दवाव परेमा बरु अत्यन्त छोटो समयमा केही कुरा राखेर बिस्तारै मुस्कुराउँदै निन्दा भेलाबाट थोरै भएपनि सुख प्राप्त गर्न सक्छन् ।
हामी यसै पनि लगभग अधिकांश व्यक्तिहरू यसरी निन्दा गर्ने कार्यमा अत्यन्त अगाडि छौं । सायद संसारमा पहिलो नम्बरमा हुनुपर्छ । ओलम्पिक खेलमा निन्दा नामको खेल समावेश गर्ने हो भने स्वर्णपदक हाम्रै भागमा पर्ने निश्चित थियो । तर दूर्भाग्य, निन्दा खेललाई हालसम्म ओलम्पिक खेलमा समावेश गरिएको छैन ।
सरकारले ओलम्पिक कमिटीलाई अनुरोध गरेर जतिसक्दो चाँडो यो खेललाई ओलम्पिकमा समावेश गर्ने व्यवस्था गरियोस् ।
अर्काको निन्दा गर्ने सिलसिलामा हामी यति माहिर मानिए पनि निन्दा सहन गर्ने मामलामा भने अत्यन्त कमजोर छौं । हामी आफूलाई भने अर्काले गरेको सामान्य आलोचना र निन्दा पनि सुन्न चाहन्नौं । यसप्रकारको बानीमा केही सुधार गर्न सक्ने हो भने निन्दाको मामलामा हामीभन्दा उपल्लोकोटीको मानव संसारको कुनै पनि मुलुकमा हुने थिएनन् । त्यसैले यसरी निन्दा गर्नेहरूले निन्दा सहन गर्ने बानीको विकास गर्ने हो भने सुनमा सुगन्ध हुन्थ्यो।
कुनै सुराकीको माध्यमबाट आफ्नो विषयमा कसैले निन्दा गरेको खवर सुन्नु मात्र पर्छ, एक्कासि हाम्रो अनुहारको रङ्ग बदलिन पुग्छ । तत्काल हाम्रो मष्तिष्कमा दुषित विचार उत्पन्न भइहाल्छ । यसपछि पुरानो सम्बन्धमा अचानक पुनर्विचार गर्न मनलाग्छ । शुभचिन्तक माथि अविश्वास जन्मिन थाल्छ । यतिबेला हामीले कहिले पनि अर्काको निन्दा नगर्ने मानवका रुपमा आफूलाई सम्झने गरेका हुन्छौं ।
यसरी अर्काको निन्दा गर्दा केही सचेत र चनाखो भने हुनु जरुरी छ । मान्छेलाई ख्याल हुँदैन कहिलेकाहीं पिठ्युँपछाडि गरिने निन्दा अत्यन्त घातक बनेर निस्कनसक्छ । सित्तैँमा मनोरञ्जन लिने हो र समाजमा चतुर बनेर चिनिन चाहनुहुन्छ भने, आजैबाट कसैको निन्दा गर्न सुरु गरिहाल्नुस् । कसैले गल्ती गरेको छ र तपाईंलाई मन परेको छैन भने सामुन्नेमा ठाडै भन्न सक्नुहुन्न भने पनि छैन त यो विधि गजबको !
०००
चितवन।
Subscribe
Login
0 Comments
Oldest







































