प्रमाेद भट्टराई प्रतीकयुग परिवर्तनको परिणाम
सबैले पढ्ने सुन्ने, सुनाउने अनि मान्ने तिम्रा गाथाका ग्रन्थहरू पानामै थुनियो सायद कसैको श्रापको परिणामले हो कि तिमीलाई भने मन्दिर भित्रै राखेर थुनियो !
प्रमोद भट्टराई ‘प्रतीक’ :
म हेरिरहेको छु भगवान तिमीलाई
तिम्रो करतुत अनि चर्तिकलालाई
सत्य, द्वापर र त्रेता युगलाई रोज्यौ
किन हेला गर्यौ हाम्रो कलियुगलाई ?
एउटी सीताको हरण गर्ने रावणलाई
ठेगान लगाएर पायौ सर्वत्र वाह वाही
हजारौँ निर्मलाको हत्यारालाई छाडेर
पुरस्कृत गर्दैछौ तिमी अपराधीलाई !
के तिम्रा युगमा मात्रै थिए भस्मासुर ?
ठान्छौ कलियुगमा गर्दैन कसैले कसूर ?
एउटा राक्षस तहलाउन अवतारै लियौ
तर चौतर्फी राक्षस बढ्दा छैन कुनै सुर ?
कंश हिरण्यकशिपु जस्ता राक्षसलाई
खेलाई खेलाई विनासको लिला रचायौ
अब कुनै युग आतङ्कित हुनेछैन भनेर
दुष्टहरु विनास भएको भरोसा जगायौ ।
सबैले पढ्ने सुन्ने, सुनाउने अनि मान्ने
तिम्रा गाथाका ग्रन्थहरू पानामै थुनियो
सायद कसैको श्रापको परिणामले हो कि
तिमीलाई भने मन्दिर भित्रै राखेर थुनियो !
सुनिन्थ्यो अन्तरध्यानबाट देख्न सक्छौ
खोइ त तिम्रो तेस्रो नेत्र किन खोल्दैनौ ?
कलियुगी अवतार ढुङ्गाकै मात्र हुने हो कि
मन्दिर भित्रै थुनिएर बस्छौ किन बोल्दैनौ ?
०००
कौशलटार, भक्तपुर
Subscribe
Login
0 Comments
Oldest





































