म यहाँ छु
घुमन्ते, फिरन्ते, डुक्रन्ते, उफ्रन्ते सलहहरूका झ्याउँ झ्याउँले आजित छु । सलहले सलह खाने दिन आउनेछ, तब मैले बोल्नुपर्छ, लेख्नुपर्छ अहिलेलाई म नाटकअघि र पछि मञ्चबाहिर भएका दृष्यहरू लुकेर हेरिरहेको छु ।
संप्रस पाैडेल :
नमस्कार गर्दै आउँछ
हरियाली छाउँछु भन्छ
उल्लास ल्याउँछु भन्छ
ऊ ।
कुहिएका फर्सीहरूझैँ
आश्वासनको कुँडो खुवाउँछ
हामी हरिया घाँस खुवाएर विदाई गर्छौँ ।
उसका झुन्डभित्र पुगेर हरिया बान्ता गर्छ
सुन खाएर सुनै छेराएजस्तो
उसका अड्डाहरूमा आची पनि हरियै चुहाउँछ ।
अब हरिया वन मात्र होइन
नोट, राहदानी
बगर, नदी अनि
पूरातात्विक सम्पदा
सबै हसुर्न थाल्छ ।
नाइके, अगुवा, अभियन्ता, प्रशारक
दूत, ‘एम्बेस्डर’, ‘आइकन’ बनेर
भुइँ मान्छेका पेटहरू निचोरेर
तिनै वस्तुहरू उसको मुखबाट उकेर्न थाल्छ
रोमाञ्चक दृष्यमा ताली बजाइरहेका हुन्छौँ ।
फर्किँदा बडो शानले डकार्दै फर्किन्छ
यी यस्तै सलह अनेक रूपमा
हाम्रै वरिपरी घुमिरहेछन्
आजकाल
घुमन्ते, फिरन्ते, डुक्रन्ते, उफ्रन्ते
सलहहरूका झ्याउँ झ्याउँले आजित छु ।
सलहले सलह खाने दिन आउनेछ,
तब मैले बोल्नुपर्छ, लेख्नुपर्छ
अहिलेलाई म नाटकअघि र पछि
मञ्चबाहिर भएका दृष्यहरू
लुकेर हेरिरहेको छु ।
०००
मकवानपुर, हेटाैँडा