
राजा विहीन गणतन्त्र कता हरायो ?
ल्यायौँ मिलेर गणतन्त्र हिजो सबैले गर्दै छ शासक घमण्ड र भन्छ मैंले । सन्देह आम जनमा यसले पलायो राजा विहीन गणतन्त्र कता हरायो ।।

उत्तम विचार :
श्रीपेच छैन शिरमा हुँ भनेर राजा
गर्छन् हुँकार नसुनी सुखछैन आज ।
नौलो छ तन्त्र भनियो र यसो गरायो
राजा विहीन गणतन्त्र कता हरायो ।।१।
फ्याँकेर एक सय पाल्न रहेछ गाह्रो
देऊ मनग्य गज भन्छ नहाल चारो ।
छन् बाघझैँ अति सुरा किन हुन् खरायो
राजा विहीन गणतन्त्र कता हरायो ।।२।
खुल्नेछ मार्ग कसरी नहटी तगारो
मानौँ यही नगद वा कि त हो उधारो ।
जारी हुँदा लुट अझै लुटतन्त्र छायो
राजा विहीन गणतन्त्र कता हरायो ।।३।
ठान्छन् फुटेर बलिया फुटतन्त्रजस्तो
छन् झुन्ड मुण्ड गुटमा गुटतन्त्रजस्तो ।
भन्दै बस्यो विगहले नवगीत गायो
राजा विहीन गणतन्त्र कता हरायो ।।४।
रानी हजार थपिए नृप छन् हजार
आवाज सुन्छ कसले जनको पुकार ।
हेर्यो घडी समयले र यता चिहायो
राजा विहीन गणतन्त्र कता हरायो ।।५।
छन् प्रश्न उत्तर कुनै नभए समान
खोज्दै छ शासक मिलेर स्वराष्ट्र खान ।
जो जो पुग्यो सयरमा सपना सजायो
राजा विहीन गणतन्त्र कता हरायो ।।६।
ल्यायौँ मिलेर गणतन्त्र हिजो सबैले
गर्दै छ शासक घमण्ड र भन्छ मैंले ।
सन्देह आम जनमा यसले पलायो
राजा विहीन गणतन्त्र कता हरायो ।।७।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest