के.पी. पाैडेलनेता खुबै फेरिए
नौला नीति विधान कानुन बने, आयोग संस्था बने। जुट्दै लुट्न थुपार्न खान सजिलो, सङ्घीयता हो भने।। मान्छेका गुटले दलाल विधिले, सोझाहरू बिच्किए। हाम्रो यो गणतन्त्रमा गजबले, नेता खुबै फेरिए ।।

कृष्णप्रसाद पौडेल :
जाग्यो सोच नवीन उच्च तहको, सिद्धान्तको तर्कको।
नारा भाषणले उजागर ग-यो, आभा छ-यो क्रान्तिको।।
जन्मेको नव लोकतन्त्र शुभ हो, भन्दै हिँडेका थिए।
हाम्रो यो गणतन्त्रमा गजबले, नेता खुबै फेरिए ।।-१
पाका प्रौढ युवा समस्त जनता, रुन्छन् बिलौना गरी।
घाँडोतन्त्र समानको भय बन्यो, होला भलो के गरी।।
खै के को शुभकामना अब भनौँ, मान्छे खुबै गम्किए।
हाम्रो यो गणतन्त्रको कहरले, नेता खुबै चम्किए ।।-२
भन्थे गर्छ विकास उच्च तहको, उम्दा प्रजातन्त्रले।
के नै गर्न सक्यो र यो बखतमा, उत्ताउलो तन्त्रले।।
खोक्रो भो लुटतन्त्रले मुलुक यो, मान्छे खराबी भए ।
लादेको गणतन्त्रको कहरले, नेता खुबै फेरिए ।।-३
जागेछन् मनतन्त्रका लहडका, चर्का अनौठा कुरा।
काण्डै काण्ड रचेर तीब्र गतिले, टेक्दा भए टाकुरा।।
घुम्थे कट्टु धरेर चप्पलबिना, हिँड्थे यहाँ जो थिए।
हालै यो गणतन्त्रमा किसिमले, नेता खुबै चम्किए ।।-४
गोष्ठी भेट बडा सभा सदनमा, हाम्रा र आफन्त छन् ।
सौदा बन्दछ अंशभाग विधिले, स्वार्थान्धमा लिप्त छन् ।
सत्ता शासनमा छ खेल झगडा, भान्से भँडारे भए ।
हाम्रो यो गणतन्त्रमा गजबले, नेता खुबै फेरिए ।।-५
नौला नीति विधान कानुन बने, आयोग संस्था बने।
जुट्दै लुट्न थुपार्न खान सजिलो, सङ्घीयता हो भने।।
मान्छेका गुटले दलाल विधिले, सोझाहरू बिच्किए।
हाम्रो यो गणतन्त्रमा गजबले, नेता खुबै फेरिए ।।-६
०००
बट्टार,नुवाकोट । हाल: बालाजु,काठमाडौं ।
मोबाइल नं.९८४१७५८१८४
Subscribe
Login
0 Comments
Oldest






































