भोजराज रेग्मी ‘मुखाले’घोर्ले स्याल र बाँदरहरू
रूखबाट ओर्लेर बाँदरहरू लैनचौरघाटमा लाम लागे । बाँदरहरूको व्यवहार देख्दा लाग्छ- बरू उनीहरू रूख त्यागेर झाडीमै झण्डा गाड्न सक्छन् तर, कदापी घोर्ले स्यालको साथ छोड्दैनन् ।

भोजराज रेग्मी मुखाले :
मनोलोकमा मग्न भएर मनको लड्डु घिउसित खाँदाखाँदै मनको बाघसँग एक्कासी जम्काभेट भो ।
“बगेको खोलो फर्किंदैन” भन्थे बुझक्कडहरू । यत्रा बर्खसम्म पत्याएर बसिएको थियो, तर त्यही उखानले एक्कासी गुट्खा खान थालेछ । चन्द्र समशेरले झण्डै सय बर्ख अघि उन्मूलन गरेको सतीप्रथा गोजेरोतन्त्रका आन्द्रासमसेरको पालामा आएर एक्कासी फर्क्यो, जसरी घरमा रडाको मच्चाएर माइती आएकी, नारीवादको अग्निपुराण वाचिका माइतीको सम्झाई- हप्काई (सम्झिने पानी छम्किने) खाएर केही दिनपछि फर्किन्छन् । उसबेला राजा- महाराजाका रानी – पटरानीहरू, मुखिया- जिम्वालका ब्याइते र ल्याइते स्वास्नीहरू मात्र आफ्ना पोइपरमेसरको सती जान्थे । एसपाली उल्कै भो । जङ्गलमा मोजमङ्गल गरेर बसिरहेको जाबो एउटा जम्बूमन्त्री स्यालको सति जान पशुपंक्षीको लावालस्कर हानाथाप गरिरहेको देखेपछि जंगबहादुरको प्रेतात्मा पनि जिल् खाइरहेको होला भन्ने अनुमान गर्दै सतीप्रथामा विश्वकीर्तिमानको दर्ता प्रमाणित गर्ने गिनिजबुकका हाकिमहरू पनि लन्च- डिनर खान बिर्सेर गम खाइरहेका होलान् ।
सतीप्रथाको पुनर्जन्म वा नयाँ अवतारको अद्भूत कथा भने यस्तो छ :
घुम्ने कुर्सीमा हल्लिएर उँघ्दाउँघ्दैको अवस्थामा घोर्ले स्याल पक्राउ पर्यो । यो घटनाले तहल्का मच्चियो, मानौँ – आठ रेक्टर स्केलको भैँचालो नै आएको छ ।
निर्धानिमुखा भेडाबाख्राहरूले खुशीयाली मनाए । हाँसकुखुराहरूले दिपावली नै गरे । तर, घोर्लेका चेलाचपेटा फ्याउराहरू भने अत्यन्त आक्रोशित भए । मालिकमाथि आपद विपद आउनु भनेको आफ्नो धर्ती भासिनु हो, आकाश खस्नु हो भन्ने ठहर गरे ।
“यसले हाम्रो दुश्मन बाघ र सिंहहरूको लागि सुराकी गरेर सधैँ चिलको बदनाम गर्छ र हाम्रो कुलघरानमा आक्रमण गरिरहेछ । यसलाई त ठिंगुरामा हालेर राम्रैसँग मर्मत गर्नु पर्छ ।” स्याल समातिएकोमा खुशी हुनेहरूको टिप्पणीको वर्षाले मौसम नै बदलियो ।
स्यालसँग गोरु बेचेको साइनो नभए पनि स्यालको सिङ्कै आतङ्कले हो कि बुद्धिमान न्याउरी, विद्वान लोखर्के र समाजसेवी छेपाराहरूले पनि हार्दिक समवेदना प्रकट गर्दै बिज्ञप्ती निकाले । राजनीतिक विश्लेषणको नाममा लहरेखोकी र हाच्छ्युँ गरिरहेका केही हुच्चिल र मलसाँप्राहरू पनि चूप लागेर बस्न सकेनन् । जे गर्नु पर्ने हो, भटाभट गरेर देखाउन थाले, नत्र खाईपाई आएको बक्सिस र पटके सेवासुविधाहरू नपचेर लभरहरूको लिभर बिग्रने सम्भावना देखियो । अवस्था यतिसम्म नाजूक भयो कि बुज्रुगहरूको तुजुकमा नै नूनचूक पर्ने खतरा भो । हुँदाहुँदा रैतानहरूको रुवाबासीले धरावासीदेखी स्वर्गवासीसम्मलाई चिन्ता र चासोको चितामा तेर्स्यायो ।
रुवाबासी गर्नेको बिलौनाको बेहोरा यस्तो देखियो- “हाम्रो जङ्गल राज्यका जम्बूमन्त्रीलाई छापामार शैलीमा छोप्नु भनेको लोकतन्त्रमाथिकै आक्रमण हो । हुइँया स्वतन्त्रताको हरण हो । हाम्रा मालिकलाई खोरमा थुनेपछि हाम्रो धर्ती भासिन्छ । हाम्रो आकाश खस्छ । यस्तो भएपछी हाम्रो जिम्माजमानी को बस्छ ?” यस्तो विषम परिस्थितिमा देश नाउँ गरेको जङ्गलका स्वनामधन्य कोग्ल्याँटा, गोज्याङ्ग्रा र अक्कडाहरूको आपतकालीन बैठक बस्यो । रुवाबासी गर्नेहरूको भेला डाकेर केही वैकल्पिक र अन्तिम अस्त्र फेला पारे । यस माम्लोमा डाक्टर – वैद्यहरूको दाल नगल्ने देखेपछि वारिपारीका भएसम्म, भेट्टाएसम्मका धामीझाँक्री र बोक्सीसमेत एकैचोटी परिचालन गर्न विदेशी धामीझाँक्री बोलाउने र बोक्सीको लागि “बोक्सीको घर” समेत उपयोग गर्ने सर्वसम्मत निणर्य गरेर अल्लि राहतको सास फेरे ।
उता, समातिएको स्यालको एक्कासी रक्तचाप बढ्यो । ह्याकुलो हल्लिएर होला, राजखानीसमेत चरक्क चर्किएर चक्कर लागेछ । स्यालको सिङमा धूपबाती गरेर आफ्नो दुनो सोझ्याइरहेका दुक्कीतिर्कीहरू ईष्टदेवको शीघ्र स्वास्थ्य लाभको कामना गर्न लागे । प्रचन्न गर्मीमा पनि शीताङ्ग भएको स्यालको सुसार गर्न कागको बथान श्रीरामको ससुराली गाउँ झरेको देखेर प्रेमकहानी लेखिरहेका ढुकुरहरू र दार्शनिक प्रश्न सोध्यासोधै गरेर सबैलाई लठ्ठ पार्ने कोइलीहरू पनि छक्क परे । आफ्नै गुँडमा सुसेधन्दा गर्दै जङ्गली कविता सम्मेलनको तयारी गरिरहेको चिबे चरोको टिम “बोल- बोल मछली – मुखभरी पानी” जस्तै ट्वाल्ल परिरहे । शायद, चिबेको शब्द र स्वरमा स्यालको सङ्गीत भरिएको छ र स्याल उनीहरूको रथको एउटा पाङ्ग्रो हो । गीतार बजाउँदाबजाउँदै जङ्गलापुरलाई मङ्गलापुर बनाएरै छाड्छु भनेर कम्मर कसेको जुरेली चरो पनि स्यालको सालनाल देखेर सास फुस्किने गरि हाँस्ला भन्ने पिरलो छ । “ज्ञान- गङ्गा” महाकाव्य लेखेर गिद्धको करकमलबाट विमोचन गराउने र एउटो बडो पुरस्कार पड्काउने बकोध्यानमा रहेको गौँथलीले एक धर्को विज्ञप्तीसम्म निकालेन भनेर बकुल्लाहरू अर्कातिर बर्बराउन थाले ।
आफ्नो ईष्टदेवताको परमपुजारी घोर्लेस्याल समातिएको घटनालाई बाँदर समाजले रुचाउन सकेन । बेला- बेलाको स्यालको बेइमानी र बदमासीले आजित भए पनि “दुश्मन है तो क्या हुवा ? आखिर एक ही जङ्गलकी दियाद है और एक हि ससुराल के दामाद तो है” भन्ने दशगजिया उखान सम्झिँदै स्यालको पक्षमा हातखुट्टै धोएर लागे । रूखबाट ओर्लेर बाँदरहरू लैनचौरघाटमा लाम लागे । बाँदरहरूको व्यवहार देख्दा लाग्छ- बरू उनीहरू रूख त्यागेर झाडीमै झण्डा गाड्न सक्छन् तर, कदापी घोर्ले स्यालको साथ छोड्दैनन् ।
बाँदर – राज्यमा बङ्गालको खाडीबाट आउने भिरङ्गी हुरीले न्यायकुमारीको तराजु बेलाकुबेला हल्लाएर तलबितल पार्ने परम्परा देखेभोगेका भुक्तभोगीहरूको शङ्काले घरजम गर्न थालिसक्यो । यही घटनाले पुच्छरले कुकुरहरूलाई हल्लाएर बाख्राहरूले बोकासँग सम्बन्धविच्छेद गर्ने, गोरु ब्याउने, पाडाबाछाहरूको समीकरण बन्ने र धनयुद्धकालमा नखनेको सुरुङ्ग खन्ने र त्यही सुरुङ्गमार्गबाटै ढुसी परेको सिरिपेच भित्र्याउने हनुमानहरूको अनुमानलाई अपमान गर्न मिल्दैन ।
०००
पेप्सीकोला, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































