डा. बमबहादुर जितालीदेश मेरो त्यहाँ छ
यार्सा बन्दै छ झुसिल किरा घाँस सञ्जीवनी हो द्यौता बस्ने अमरपुर यो इन्द्रको आँगनी हो प्यारो माटो तन र मनमा धड्किने सासमा छ थोपाथोपा रगत कणमा देश मेरो त्यहाँ छ ।

वीपिन सिजापति :
यो धर्तीको छ बिच मुटुमा स्वर्गको दिव्यकाख
देख्यो एकै पलकजसले सम्झियो लाखलाख
आँखामा छन् रवि दिउँसका माथमा चन्द्रमा छ
छातीमा छन् सहिद जिउँदा देश मेरो त्यहाँ छ ।
उम्रेका छन् जति पनि नदी वीरका रक्तबाट
जन्म्यो माटो सपुत जनका सर्ग उत्सर्गबाट
तातो गोली कुपुकुपु निली मृत्यु जित्ने कथा छ
छन् पुर्खाका अमर पसिना देश मेरो त्यहाँ छ ।
फुल्छन् सेता कुसुम हिउँका दूधका कुण्डबाट
बग्छन् धारा कुट र महका पुष्पका गर्भबाट
मोतीमाला सरह झरना झल्किएको गला छ
नौनी झार्छन् हिम शिखरले देश मेरो त्यहाँ छ ।
बज्छन् झ्याली, घुँगरु, तबला, खैँजडी, डम्फु, ढोल
नाच्छौँ, खेल्छौँ विविध लयमा भाइ हामी सगोल
गौरी, सीता, जनक भृकुटी बुद्धको साधना छ
छन् पैताला युगपुरुषका देश मेरो त्यहाँ छ ।
यार्सा बन्दै छ झुसिल किरा घाँस सञ्जीवनी हो
द्यौता बस्ने अमरपुर यो इन्द्रको आँगनी हो
प्यारो माटो तन र मनमा धड्किने सासमा छ
थोपाथोपा रगत कणमा देश मेरो त्यहाँ छ ।
०००
ठाँटीकाँध—४, दैलेख, कर्णाली
साहित्य चाैतारी झापाकाे रजत महाेत्सवकाे अवसरमा भएकाे राष्ट्रव्यापी खुला कविता प्रतियाेगितामा प्रथम पुरस्कार प्राप्त गर्न सफल कविता ।
Subscribe
Login
0 Comments
Oldest






































