साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झोलेवाद जिन्दावाद

बेलैमा झोले बनौँ । आफू बन्न आफ्नैलाई दबाउनु पर्छ । शत्रुको पाउ समाउनु पर्छ । गर्नु पर्नेलाई चाकरी गरौँ । चतुर्‍याइँका साथ चम्चागिरि गरौँ । देशमा झोलेतन्त्र आएको छ । झोलेवाद झाङ्गिएको छ । झोलेतन्त्रलाई संस्थागत गरौँ ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

भाग्यले सबै कुरामा सबैलाई साथ दिँदैन । धेरैको नामसँग केके कुरामा तालमेल मिलेको देखिँदैन । उदाहरणका लागि केही साथीहरूको नाम लिनै पर्ने हुन्छ ।

दानबहादुरले दानका नाममा कहिँ कतै सुको चढाएको रेकर्ड छैन । बलबहादुरको शरीर सुकेनासले सुकेर सुइरो जस्तै भएको छ । धनबहादुर सडकमा भिख माग्दै हिँड्छन् । दयाकुमारीले अस्ति भर्खर सासुलाई भुत्ल्याएको खबर पत्रिकामा नै छापिएको थियो । कसैको नामलाई लिएर मजाक गर्न खोजेको होइन् । नामले कतै बदनाम गराएको छ कि ? भन्न मात्रै खोजेको हो । कहिलेकाहिँ त्यस्तो संयोग पर्न जान्छ । अन्यथा भएमा अन्यथा नलिनु होला ।

अरुका कुरा काट्नु मेरो रुचिको विषय होइन । अरुको प्रचारबाजी गरेर केही फाइदा पनि छैन । मेरो मान्यता आफू आफ्नै परिचयबाट अगाडि बढ्नु पर्छ भन्ने हो । मलाई आफ्नो नामप्रति गर्व छ । नाम जुराइदिने गुरूप्रति उच्च सम्मान छ । नामका साथ परिचय दिन र परिचितबाट नामले पुकारिदा मलाई आनन्द आउँछ । यस्तो सौभाग्य कमैलाई मिल्दछ । मेरा एकजना साथी छन् ढालबहादुर । उनले कैयौँपटक न्वारन गराउनेलाई सराप्ने गरेका छन् । नाम परिवर्तनको लागि चक्कर चालेका पनि रहेछन् । तर सारा यत्न बालुवामा पानी खनाएझैँ भएछ ।

अब गरौँ आफ्नै कुरा । आफ्नै परिचयबाट भलाकुसारी गरौँ । मेरो खास नाम झोलाराम । यसबाट थुप्रै उपनामहरू पनि उत्पत्ति भएका छन् । मलाई राम्रैसँग थाहा छ । यसमा कुनै विमति वा आपत्ति छैन । चलचल्तीका उपनामहरू मै बताइदिन्छु । पकेट डायरीमा टिपेर राख्दा राम्रो । बिर्सन सकिन्छ । परिचयात्मक कार्यक्रममा पुकारिएका धेरैजसो नामहरू याद हुँदैनन् । स्मरण शक्ति राम्रो भएकाहरूले सम्झन सक्छन् । आफू त परियो विस्मरण शक्ति राम्रो भएको मान्छे ।

माफ गर्नुहोला । कुरै कुरामा उपनामको कुरा बिर्सिएछ । माया गर्नेहरूले मलाई झोले, झले, झोलु, झल्लु आदि अनेक उपनामहरूबाट सम्बोधन गर्दछन् । झोलाराम आफैलाई लामो लाग्छ ।

मलाई केटाकेटी देखि नै झोला ओैधी मन पर्ने । स्कुल नजादैबाट झोला भनेपछि मरिहत्ते गर्ने । घरमा कोही पाहुना आयो भने झोला कोट्याइहाल्नु पर्ने । मिठाइँको लोभले झोला कोट्याउँदा पैसा फेला परेपछि झोलाप्रेम अझै बढेर गएको हो ।

स्कुले जीवन त झोले भैहाल्यो । झोला नबोकी स्कुल गए मास्टरजीले टाउकोमा आलु उमारिदिनुहुन्यो । पछि आफै मास्टर भइयो । पाठ्य सामग्री बोक्न झोला नभई भएन । त्यसैले झोलाले छोडेन ।

मास्टरले एकोहोरो मास्टरी गरेर पुग्दो रहेनछ । सरूवा बढुवाका लागि नेता चाहिँदा रहेछन् । राजनीतिमा लाग्ने प्रारम्भिक जग पनि मास्टरी हो भन्ने कुरा मैले बताइरहनु पर्दैन । वडादेखि संसदसम्मका जनप्रतिनिधि हेरे पुग्छ । जेहोस् मास्टरी गर्दा गर्दै नेताजीहरूसँग पनि साँठगाँठ बढ्न थाल्यो । पेशागत संघ संगठनको फेरो समातेर नेताजीकै इसारामा राजनीतिका काम गरियो । चुनावी माहोलमा झोलामा पर्चा, पम्पलेट र पैसा खाँदेर हिँडियो । कतिपयले झोले मास्टरको आरोप लगाए । कतिपय साथीहरू खण्डनमा पनि उत्रिए । मलाई भने केही फरक परेको थिएन । पेशाले मास्टर म नामले झोलाराम । सबैले लुकुछिपी भन्ने गरेको झोले मास्टर ।

झोला बोकेकै आधारमा म झोले मास्टर भन्ने ठान्नुुभयो भने तपाईंले मलाई अझै बुझ्नु भएको छैन । मेरो नाता झोल पदार्थसँग पनि जोडिएको छ । झोलको संगतले झल्लिन थालेपछि म टोलमा झल्लुरामका रूपमा परिचित छु ।
मास्टरलाई मात्रै झोले भन्दा अरु पेशा वा व्यवसायमा लागेका साथीहरूको चित्त दुख्न सक्छ । यस्तो चित्त दुखाइ हुनु स्वभाविक छ । यहाँ को मात्रै छैन झोले ? सेना, प्रहरी, कर्मचारी, व्यापारी, पत्रकार, वकिल राजनीतिज्ञ… ! सबैमा कुनै न कुनै प्रकारको झोलेपन छ । अरूले झोलेका रूपमा परिचित हुन खोज्दैनन् । मैले सबै कुरा खुलस्त पारिदिएँ ।
झोलेपन हाम्रो विशेषता हो । प्राचीनकालदेखि कुनै न कुनै रूपमा झोलेवादी दर्शन चल्दै आएको छ । देशमा संघीयतासँगै आएको गणतन्त्रले झोलेवादलाई संस्थागत गरेको छ । गणतन्त्रलाई झोलेतन्त्र भन्दा फरक नपर्ला ! त्यसैले म त भन्छु –
झोलेतन्त्र झाङ्गिएर झलमल बनोस्
सारा जन मन मुटु झोलेवाद भनोस् ।

झोले बिना खोले कान्छो टोले नेता हुन्न
बनेपछि ठूलो नेता थाल्छ जाली बुन्न ।

झोले हुनु भनेको कुनै नराम्रो विषय होइन् । झोले बनेर टोले नेता हुँदै संसदको फेटा बाँध्न पाइयो भने …? जाबो अन्न किन खाने ? सरकारी जग्गा जमिनमा महल बनाउने हो । प्राडो र पजेरोमा रमाउने हो । सुनका बिस्कुट खाएर ज्यान बनाउने हो ।

जालीभित्र साना माछा भुराभुरी पार्छु
खान्न अन्न सुन खाई भुँडी टन्न भर्छु ।

झोले संगठनको सदस्यता नलिएका साथीहरूलाई सदस्यता लिने सुझाव छ । झोले भएपछि झाम्टीखोलेको पनि जोहो हुन्छ । राजनीतिको बाटो सोझिन्छ । मालिकहरूको निगाहा भयो भने तालुमा आलु फल्न सक्छ । जि एम्, सि एम् , पि एम् को चिठ्ठा पर्न बेर लाग्दैन ।

झोलेवादको सम्बन्ध चाकरीवादसँग रहेको कुरा भुल्नु हुँदैन । सफलताको सिखरमा पुग्ने मार्गहरूमध्ये चाकरीवाद पनि एक हो । राजनीतिमा त यो अनिवार्य नै छ । यसै सन्दर्भमा भैरव अर्यालको याद आयो । उनले भनेका छन् –

चोरी चकारी नगरी चतुर्‍याइँ हुन्न
दंगा फसाद नगरे इज्जतै रहन्न
सोझा र सज्जन कवै नलिनु दलैमा
पार्टी चलाउनु सधैं छल ओै बलैमा ।

जिन्दगीमा अगाडि बढ्नु छ भने सत्ताको सिढी चड्नु छ भने झोलेवादलाई शिरोधार्य गर्दै चाकरीतिर लाग्नुहोस् । चम्चागिरीलाई मुख्य हतियारका रूपमा प्रयोग गर्नुहोस् । शक्तिको भक्तिमा लीन भएर प्रभुका पाउमा लम्पसार परेपछि कसो पार नलाग्ला र ? चोरी, चकारी, चतुर्‍याइँ, दंगा फसादको मसलाले झानेपछि छिटो छलाङ् मार्न सकिन्छ ।

दरबार हाइस्कुल खोल्दा जंगबहादुर राणाले भनेका थिए- “अरूका कुरा छोडिदेऊ आफ्ना छोराछोरीलाई अंग्रेजी पढाऊ । विचार भनेको यस्तो पो हुनुपर्छ । बेलैमा आफ्नो दुनो सोझाउनु पर्छ । झोला नबोकी, झोले नबनी उँचाइमा पुग्न सकिँदैन । बेलैमा झोले बनौँ । आफू बन्न आफ्नैलाई दबाउनु पर्छ । शत्रुको पाउ समाउनु पर्छ । गर्नु पर्नेलाई चाकरी गरौँ । चतुर्‍याइँका साथ चम्चागिरि गरौँ । देशमा झोलेतन्त्र आएको छ । झोलेवाद झाङ्गिएको छ । झोलेतन्त्रलाई संस्थागत गरौँ ।

यसका लागि निःसन्देह झोले बनौँ । झोले साथीहरूलाई सम्मान गरौँ । झोलेवादलाई प्रवर्द्धन गरौँ ।
अन्तिममा एकपटक सबैले आवाज बुलन्द गरौँ ।
झोलेतन्त्र
– जिन्दावाद ! जिन्दावाद !!
झोलेवाद
– जिन्दावाद ! जिन्दावाद !!
झोले झोले एक हौँ
– एक हौँ ! एक हौँ ।

०००
२०८१।०३।२८
रेसुङ्गा न पा -२ तम्घास, गुल्मी

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Rehit Saiju
Rehit Saiju
1 year ago

गजब, उच्च स्तरीय 🙏🙏

ram prasad panthi
ram prasad panthi
1 year ago
Reply to  Rehit Saiju

धन्यवाद भाइ

Nepal Telecom ad
आफनि घाेल आफुइ धेकुन

आफनि घाेल आफुइ धेकुन

रामप्रसाद पन्थी
शहीद ?

शहीद ?

रामप्रसाद पन्थी
म त दान दिन्नँ

म त दान दिन्नँ

रामप्रसाद पन्थी
जेन्जी छाेरीलाई चिठी

जेन्जी छाेरीलाई चिठी

रामप्रसाद पन्थी
प्रभु ! नाक काटेर नकटाे बनाऊ

प्रभु ! नाक काटेर...

रामप्रसाद पन्थी
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
2
0
Would love your thoughts, please comment.x
()
x