रामदेव पाण्डेबाउ फेरिएको छ
अलिकति आस बोकेर कि आफ्ना लागि पनि सायद केही भइहाल्छ कि यस्तै सपना बोकेर पसल पुरानै भए पनि किनकि भरखरै पसलको साहु फेरिएको छ सरकार पुरानै भए पनि सरकारको बाउ फेरिएको छ !

रामदेव पाण्डे :
असार मसान्त आज
आजको मध्यरातदेखि
आर्थिक वर्ष फेरिएको छ
एकथरीको रोदन
अर्काको हर्ष फेरिएको छ
जनताको घाउ ज्यूँका त्यूँ छ
सरकारको बाउ फेरिएको छ
संसद नामको दुकानकाे
आजै साहु फेरिएको छ
हर्षित छन् नयाँ
साहु र बाउहरू
चिन्तित छन् फालिएका
साहु र बाउहरू
साह्रै लाटासिधा छन् ग्राहक
त्यस अनौठो पसलका
तिनै व्यापारी हुन् मालिक
ग्राहकका सबै उत्पादन र
तिनको सम्पत्तिका
विचरो कागलाई
बेल पाकेर के सार भन्दै
गर्दै भक्कु गाली
बजाउँछन् ताली
मनको कुनामा अलिकति
आस बाँच्दो रहेछ
त्यसैले त विचरो नाच्दो रहेछ
अलिकति आस बोकेर कि
आफ्ना लागि पनि
सायद केही भइहाल्छ कि
यस्तै सपना बोकेर
पसल पुरानै भए पनि
किनकि भरखरै
पसलको साहु फेरिएको छ
सरकार पुरानै भए पनि
सरकारको बाउ फेरिएको छ !
०००
२०८१/०३/३१
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































