
पुच्छरको करामत
जब कसैलाई जबरजस्ती पुच्छर बनाइन्छ र उपयोगमा लापरवाही प्रवृत्ति हावी हुन थाल्छ नि, हो यसले व्यक्ति, समाज तथा देशलाई ‘ओराली लागेको हरिणको चाल’ भन्ने अवस्थामा पुर्याउने नै हो ।

रेहित सैजु :
चर्चा म गर्दै छु भुइँमा नुहिने पुच्छरको
पढ्नु है यो नालीबेली नमानेर कुनै झर्को
इतिहास बनाएका, वर्तमानलाई हल्लाउने,
जता पनि, जेमा पनि छ पुच्छरकै लर्को ।
पुच्छरको बारेमा नसुन्ने, नजान्ने सायद कोही छैनन् होला… । सिङ हुने नहुने सबैखाले चौपाया जीव जनावरलाई सृष्टिकर्ताले यिनीहरूको पछाडि पुच्छर झुण्डाइदिएका छन् । सोझो अर्थमा बुझ्नेहरूले पुच्छरलाई केवल लाज छोप्ने छपनी हो भन्लान् । यदि यस्तो मात्र हो भने चैँ त्यस्ता तोरीलाहुरे बुझक्कडहरूलाई कान निमोठेर पाखातिर हुत्याइदिँदा पनि फरक पर्दैन । मलाई लाग्छ चौपाया जनावरको पुच्छर बहुमूल्य सम्पत्ति हो । पुच्छर यिनीहरूको अस्त्र हो, बलियो हतियार हो । पुच्छर सुरक्षाको कवच हो । पुच्छरमा अदृश्य शक्ति लुकेको हुन्छ । मान्छेसँग न सिङ छ न पुच्छर छ । मान्छेसँग त केवल दुच्छर चरित्र मात्र छ । आफूलाई प्राणी जगतको उत्तम हौँ भनेर परिभाषित गर्ने मान्छे सबैभन्दा खत्तम भएको चैँ चाल पाउँदैनन् । यिनीहरू कुरा र व्यवहारले सिङ उमार्न र पुच्छर झुण्ड्याउन खप्पिस हुन्छन् ।
अब कुरा गरौँ पुच्छरको । पुच्छर मामुली कुरा हुँदै होइन । यसको करामत व्यापक छ । मान्छेले गर्दै आइरहेको पुच्छरको बखान, उखान गनिसाध्य छैन । कखराको प्रारम्भिक अक्षर ‘क’ सिक्ने बेलामै पुच्छरको प्रसङ्ग जोडाइदिएको छ र जुन यस्तो छ,
‘गोलो गोलो अण्डा
पुलिसको डण्डा,
लङ्का जाने बाटो
हनुमानको पुच्छर’
यदि हनुमानको पुच्छर प्रसङ्गमा नआएको भए केटकेटीले ‘क’ ठम्याउन मुस्किल नै पर्ने थियो होला । यसरी बालमानसमै पुच्छरको छाप बसाइदिएको छ । त्यसैले भन्न मन लाग्यो, मान्छे महाफन्टुस जाति हो । पुच्छर हुन्छ अर्काको तर प्रयोग गर्छन् आफू ।
त्यसो त मान्छे पनि कुनै बेला पुच्छर भएको प्राणी हो । विज्ञानले भनेको छ, मान्छेको पुर्खा बाँदर हो । क्रमविकासको सिद्धान्तअनुसार हरेक जीव/प्राणी कसैको आफ्नो छुट्टै अस्तित्व छैन, यिनीहरू कुनै न कुनै प्राणीसँगको सम्बन्ध पनि साथमै बोकेर आएका हुन्छन् । केही प्रजातिका बाँदरहरूको आफ्नो गुण (पुच्छर) लुप्त हुँदै गएपछि न मान्छेको विकास भएको हो । डार्विनको ‘थ्यौरी अफ ओरिजिन’ ले यसै भनेपछि नपत्याई सुखै छैन । मान्छेले क्रमविकाससँगै आफ्नो लमतन्न झुण्डिएको पुच्छर छाडे पनि बाँदरे प्रवृत्ति भने छाड्न सकेनन् । सायद बाँदर र मान्छेको उस्तै उस्तै जीन भएर पनि हुन सक्छ ।
सामान्य अर्थमा बुझ्नु पर्दा पुच्छरको काम जिउमा आएको किरा, फट्याङ्ग्रालाई धपाउनु हो । मान्छेमा पुच्छर नभए पनि पुच्छरले गर्ने काम हातले गर्न पाउने अधिकार सृष्टिकर्ताले दिएको छ । मान्छे बोलीले अरुलाई पुच्छर बनाएर आफू मालिक बन्न खोज्छन् । केहीगरी आफ्ना कमी कमजोरी भइहाल्यो भने पुच्छरलाई दोषारोपात छरेर पानी माथिको ओभानो बन्दै आफ्नो टाउको लुकाउन माहिर हुन्छन् । तिनी लठुवा जान्दैनन् पुच्छर हुनेको टाउको हुन्छन् र टाउकोकै आदेशले पुच्छरले काम गर्छन् भनेर । उनीहरू पुच्छरलाई रक्षक बनाएर आफू सुरक्षित महसुस गर्न मनपराउँछन् । यस्ता हविगत ठूला ठूला कम्पनीका हाकिम, नेतृत्व, हाइप्रोफाइल स्ट्याटस राजनीतिक ओहोदाका पावरफूल नेता, मन्त्रीहरूले गर्छन् । भुइँमान्छेसँग कसैलाई पुच्छर बनाउने हैँसियत हुने कुरै भएन ।
तपाईंलाई थाहा छँदै छ, हाम्रो देशमा जो पनि हरेक सेकेण्ड आवरमा पावरको टावर चढेर सावर गर्न मनपराउँछन् । पैसा र शक्ति जति हावी हुँदै गयो पुच्छर उति नै आफ्नो करामतको दावी गर्दै जान्छन् । यस्ता पुच्छरहरू सिपविहीन, अदक्ष त हुन्छन् हुन्छन् नै यदि केही काम गर्नु पर्यो भने पनि कमिसनको मिसन चलाउँछन् । टाउकोको अधीनमा पराधीन हुन चाहदैँनन् । बरू उल्टै आफूले अनेक तन्त्र मन्त्र रचेर टाउको नचाउन सिपालु हुन्छन् । तदअनुरूप भन्सुनको मनसुन गराएकै भरमा कसैलाई जबरजस्ती पुच्छर बनाउँदा काममा बाँदरको पुच्छर लौरो न हतियार बन्ने स्थिति पैदा नहुने कुरै भएन ।
खासमा पुच्छरलाई आफ्नो नियन्त्रणमा चलाउन जानियोरजानिएन भने यो लौरो पनि बन्छ र हतियार पनि बन्छ । आफैँले बनाइएका पुच्छर जब अन्य शक्तिबाट परिचालित हुन थाल्छ तब ऊ टाउकोलाई हतियार बनेर भष्म बनाउन सेकेण्ड बेर लगाउँदैन । यस्ता घटनाहरू नेपालको राजनीतिक, साहित्यिक लगायत विभिन्न क्षेत्रहरूमा काण्ड बनेर आउने गरेका छन् । कोही मान्छे पुच्छरको सहायताले सगरमाथा चढेको छ भने ऊ पुच्छरको करामतले चुचुरोबाट नाम्चे बजारमा सुलुलु सुल्किन पनि सक्छ । तसर्थ पुच्छरको सदुपयोग गर्न जान्नुपर्छ ।
सबैलाई थाहा भएकै कुरा हो, नहिँड्ने गोरुको पनि पुच्छर निमोठे दौडिन्छ र हलीले समयमै खेत जोत्न सक्छ । संसारका धनी र सफल व्यक्तिहरू पनि पुच्छरकै करामतले भएका हुन् । कोही पुच्छर बनेर पद प्राप्त गर्नेदेखि आफ्नो हद गुमाउनेसम्म छन् । पुच्छर बनेरै जागिर खानेदेखि पुच्छरकै कारणले जागिर गुमाउनेसम्म छन् । पुच्छर बनेरै सत्ताको स्वाद चाख्नेदेखि आफ्नो स्वार्थ बचाउन पुच्छर राख्नेसम्म छन् । कसैले पुछरको कारण नाम, प्रतिष्ठा, इज्जत कमाएका छन् भने कसैले चाहिँ आफ्नो अस्तित्व, पुस्त्यौली नालीबेली नै सेकेण्डमा माटोमा मिलाएका छन् । धार्मिक युद्ध, राजनीतिक युद्ध, …. पुच्छरकै करामतले हुने युद्धहरू हुन् । लङ्का जल्नेदेखि एयरपोर्टमा सुन फल्ने सबै पुच्छरकै चमत्कार हुन् ।
हाम्रो देशको सरकारी, गैरसरकारी प्रशासनिक, आर्थिक, राजनीतिक, साहित्यिक गतिविधिका प्रणालीको आली बिग्रनुमा पुच्छरकै हात छ । जब कसैलाई जबरजस्ती पुच्छर बनाइन्छ र उपयोगमा लापरवाही प्रवृत्ति हावी हुन थाल्छ नि, हो यसले व्यक्ति, समाज तथा देशलाई ‘ओराली लागेको हरिणको चाल’ भन्ने अवस्थामा पुर्याउने नै हो । देशलाई धनी बनाउने वा गरिब बनाउने हात पुच्छरहरूकै हुन्छ । तसर्थ पुच्छरले टाउको होइन, टाउकोले पुच्छर हल्लाउन सके सकारात्मक प्रतिफल चाख्न पाइन्छ । पुच्छर टाउकेहरूको टेक्ने लौरो हो, धरोहर हो । यसमा टाउकेहरूको ध्यान जाओस् ।
०००
रामेछाप
गजब राम्रो लाग्यो । निरन्तरताको शुभकामना हजुर ।
कत्ति राम्रो राम्रो । ब्यङ्ग्य बाणको चुच्चो चारैतिर फैलिएको छ । टाउकेले पढुन र चिन्तन गरुन । उपदेसात्मक छ यो ब्यङ्ग्य बाण । यस्तै बाण छोड्ने कार्य जारी रहोस । शुभकामना