गाेपालप्रसाद दाहालखुराफाती मान्छे
झुलाई राखेका मनुज कति हो स्वप्न लुटिए छली गर्ने ठेक्का श्रमिक जनता मालिक थिए पिसेको जाँतोले दलहन सरी नागरिक यी खुराफाती लिन्छन् चटक गतिले राज्य पद ती ।

गोपालप्रसाद दाहाल :
खुराफाती मान्छे सकल पदमा भर्ति गरिए
इमान्दारी मान्छे तट तट रहे पश्च गतिले
सुने उस्को बिन्ती छलकपटको जाल रचियो
भए सोझा कर्ता चिलबिल सबै जिल्ल थचियो ।
पुगी सत्तामा लौ श्रम र पसिना धेर चुसियो
चढी लिस्नो उस्ले तल सब भुली राज लुटियो
लिने बेला कामै तलतल सधैं याद उसको
दिने बेला मामै मनुज पछुवा भर्छ त्यसको ।
भुली जाने बस्ती सहर सब ती शासनभरि
परेको पानीझैं अविरल झरी आसन गरी
पुगेको टुप्पोमा अनुभव गरी झुल्छ सपना
नटोक्ने कुत्ताको ध्वनि गजबको हेर उसमा ।
झुलाई राखेका मनुज कति हो स्वप्न लुटिए
छली गर्ने ठेक्का श्रमिक जनता मालिक थिए
पिसेको जाँतोले दलहन सरी नागरिक यी
खुराफाती लिन्छन् चटक गतिले राज्य पद ती ।
०००
दमक-५ झापा, नेपाल
Subscribe
Login
0 Comments
Oldest







































