कर्मरेखा बिराएँ
मीठो खाने पुलकित भई गीत गाई रमाई आफ्नै माटो मलजल गरी अन्नबाली लगाई खेल्दै मेरो बन चउरमा आफ्नु भाका निकाली सेवा गर्दै मुलुक जननी दम्भ दुर्भाव फाली ॥
गोपाल दाहाल :
मेचीकाली नयन बिचमा राख्न मैले चुकेको
मैले मेरै मुलुक पनि यो छैन चिन्नै सकेको
खानी धेरै नुन सुन यहाँ खोज्न बाँकी पखेरो
हेर्ने आँखा श्रवण दिल यो सोच कम्जोर मेरो ।
पाल्छिन् आमा सरह धरणी अन्नपानी खुवाई
सेवा मेरो अति कम भयो देश नेपाललाई
हिँड्दै जाँदा सब पथ भुली कर्मरेखा बिराएँ
देऊ माफी गुरु र जननी शून्यतामा हराएँ ॥२
मेरा बाले परिश्रम गरी फूलबारी सजाई
आमा मेरी चरण तुलसी पुज्नु हुन्थ्यो रमाई
बारी खोल्सा रन बन सबै आयको स्रोत हुन्थ्यो
सुख्खा पाखा मधुर रसिला पाखुरीले बनिन्थ्यो॥३
मीठो खाने पुलकित भई गीत गाई रमाई
आफ्नै माटो मलजल गरी अन्नबाली लगाई
खेल्दै मेरो बन चउरमा आफ्नु भाका निकाली
सेवा गर्दै मुलुक जननी दम्भ दुर्भाव फाली ॥४
झर्रो बोली वचन प्रिय ती आफ्नु भाषा बचाई
फिर्ने आफ्नै घर महलमा बस्नलाई रमाई
फर्की आएँ अब शरणमा हात जोड्दैछु माई
झण्डा मेरो शिर उपरमा चन्द्र सूर्यै सजाई ॥५
०००
दमक, झापा
Subscribe
Login
0 Comments
Oldest