मोतीटारे अचेल कविता लेख्दैनन्
कविता लेख्न मन मरेर आयो भाइ ! मैले कविता लेख्न छोडेँ । म किन र कसरी कविता लेखौँ ? पुस्तक निकालौँ, त्यो हाम्रो बसमा छैन । लेखेर कापीमा राखौँ भने के कामका लागि राख्नु !
चिरञ्जीवी दाहाल :
मोतीटारेको कविता मात्र होइन, उनको कविता वाचन गर्ने शैली र आवाजको समेत म प्रशंसक थिएँ । म मात्र होइन उनका प्रशंसकहरू अनगिन्ती थिए । पोहोर सालसम्म दिनदिनै फेसबुकमा मिठा मिठा कविता सहित झुल्किने गरेका मोतीटारे दाजु एकाएक फेसबुकबाट गायव भए । उनी गायव भए वा गायव पारिए कसैले सुइँको भने पाएन ।
कसैले भन्थे, संसद र सरकारमा कवि साहित्यकारको अभाव खट्कियो रे । त्यसैले केही कवि साहित्यकारलाई संसद सदस्यमा मनोनित गरिँदैछ । त्यसैका लागि कवि मोतीटारेलाई राजधानी झिकाएको हुनुपर्छ । उनलाई मनोनित साँसद बनाउने कुरा सुनिएको छ ।
कोही भन्थे मोतीटारे दाजुले ठूलै सरकारी नियुक्ति पाउँदैछन् । केहीदिन अघि उनी राजदुत हुन लागेको खबर ग्रीष्ममासको डँढेलो फैलिए झै फैलिएको थियो । कसैले उनी खाडी हानिएको कुरा पनि गरे । पछिल्लो पटक उनको निधन भएको हल्ला पनि चलेको थियो। जे होस् मोतीटारेको अत्तोपत्तो थिएन, मोतीटारे कसैको सम्पर्कमा पनि थिएनन् । निष्कर्षमा मोतीटारे हराए ।
जसले जे भने पनि यी सबैका मनगढन्ते अनुमान मात्र थिए । अन्ततः यिनै अनेकथरी हल्लाकै बीचमा हिजो बिहान मोतीटारे दाजु फेला परे । उनी कालिमाटी तरकारी बजारको गेटमा एक बोरा तरकारी सहित आफ्नो गन्तव्यतिर जाँदै गर्दा अचानक मैले उनलाई फेला पारेँ । उनी कुलेश्वरको भित्री सडकमा तरकारी पसल गरेर बसेका रहेछन् । मलाई आश्चर्य लाग्यो, मोफसलबाट हराएको मान्छे कसरी यहाँ भेटिए ?
मैले उनी हराउनुको कारण खोतल्ने प्रयास गरेँ । उनले लामो सास तान्दै कविता लेख्न छोड्नुको कहानी बताउदै भने –
“गतवर्ष एकदिन बिहान फेसबुकमा एउटा कविता पोस्ट्याएको थिएँ । कविताले एउटा पुरुष पात्रको पीडा बोकेको थियो । घरबार त्यागेर नयाँ संसारको खोजीमा हिँडेकी आफ्नी अर्धाङ्गिनीलाई घर नछोडेको भए हुने थियो, यसरी अलपत्र नपारेको भए हुन्थ्यो । बस्, यस्तै भावको कविता थियो । साँझसम्म केही लाइक र केही सामान्य टिप्पणीहरू आए । सामान्यतः फेसबुकको पोष्टमा यस्तै हुनेगर्छ । अर्को दिनबाट पोष्ट बासी हुन्छ । अब, राख्ने बित्तिकै जस्तो जताततै देखिँदैन । सधैँ यसैगरि कुरो सकिन्थ्यो । सकिनु पनि पर्थ्यो तर कुरा सकिएन ! कविताले गम्भीर रुप लिइसकेको रहेछ ।”
मोतीटारे दाजु आफ्नो राम कहानी बताइरहेका थिए । “साँझपख फेसबुकको मेसेन्जरमा पटका पट्किए जसरी पटट गर्दै शुभचिन्तकहरूका म्यासेज आउन थाल्यो । म्यासेज यति धेरै आयो कि सबै म्यासेज पढ्न कम्तिमा पनि एक दुई घण्टा समय छुट्याउनु पर्ने हुन्थ्यो । जब म म्यासेज पढ्न लागेँ, भिरबाट खसे जस्तै भएँ । “यो बुढेसकालमा भाउजु त्यसरी नहिँड्नु पर्ने ! दाई दुःख नमान्नु होला, तपाईंको मात्र होइन, अचेल यस्ता घट्ना धेरैलाई घट्ने गरेको छ । संसार यस्तै हो ।”
अर्को म्यासेजमा लेखेको थियो, “पोइला जानु नै पर्ने थियो त बेलैमा गएको भए पनि हुने नि !”
एकजनाले लेखेका थिए “तपाईंका रचना देख्दैमा मलाई शङ्का लागेको थियो । तपाईंकी श्रीमती एकदिन पक्कै हिँड्छिन् भन्ने मैले उहिल्यै अनुमान गरिसकेको थिएँ ।”
अझै अर्को एकजना शुभचिन्तकको म्यासेज देखेपछि मलाई भाउन्न भयो । लेखेको थियो “बुड्डो, बुढीको मर्का पनि त बुझ्नु पर्छ नि !”
यतिमात्र होइन कति म्यासेजमा लेखिएका शब्द तिमीसँग भन्न सक्दिन भाइ ! यतिसम्म भए त ठिकै थियो । श्रीमतीले म्यासेज हेर्न भ्याइछ ! भन्दै थिई, “फेसबुकमा म पोइल गएको हल्ला चलायौ होइन ? ठिकै छ ,पोइल त कसरी जान सकिएला र ? म नभएको हेर्ने रहर भए ज्यान त्यागी दिन्छु ।” श्रीमती रिसाएर आगो भई । उसलाई सम्झाउन निकै प्रयास गर्नु पर्यो । अब चुप लागेर बसौं भनेँ, त्यस कविताले बोले जस्तै मेरी अर्धाङ्गिनीले मलाई छोडेर गएको समाचार पुष्टी भएको मानिने थियो । होइन उत्तर दिँदै जाने हो भने कतिजनालाई दिएर सक्नु ? त्यसैले मैले अर्को तेस्रो बाटो रोजेँ । भोलिपल्ट बुढाबुढी एकै ठाउँमा बसेको तस्वीर राखेर अर्को कविता पोष्ट्याएँ र कविता लेखन र फेसबुकबाट बिदा लिएँ ।
लाग्यो, कविता राजनीति भएको भए केही थिएन । आखिर कविता भनेको कविता हो । कवितामा आफ्नो मात्र पीडा पोखिएको हुँदैन । कविता आत्मकथा पनि होइन, जहाँ श्रीमती पोइल गएको र श्रीमानले हात छोडेर घाइते बनाएको कुरा नढाँटी लेखिएको होस् । त्यसैले कविता लेख्न मन मरेर आयो भाइ ! मैले कविता लेख्न छोडेँ । म किन र कसरी कविता लेखौँ ? पुस्तक निकालौँ, त्यो हाम्रो बसमा छैन । लेखेर कापीमा राखौँ भने के कामका लागि राख्नु ! त्यसैले लेखेजति कविता फेसबुकका भित्तामा टाँस्ने गरेको थिएँ । त्यसदिन जब यो घट्ना घट्यो म कविता र फेसबुकबाट हराएँ ।”
ह्या, मोतीटारे दाजु पनि ! यति जाबो कुरामा पनि कविता लेख्न छोड्ने हो ? यस्ता घट्ना तपाईंलाई मात्र हो र, धेरै मान्छेलाई घट्छन् । मान्छेलाई बानी परिसकेको छ र त अधिकांश मान्छे फेसबुके क्रियाकलापलाई सामान्य मान्छन् ।
यस्ता घट्ना मेरा त कति घटेका छन कति ! पोहोर दशैँ ताका मैले एउटा “म मरेँ” शिर्षकको कविता लेख्दा एकजना शुभचिन्तकले कस्तो मेसेज लेखे थाहा छ ?
“तिमीलाई लेखेको कुरा मलाई के थाहा ?” उनले भने ।
मेरो म्यासेजमा लेखिएको थियो “राम्रो कविता लेख्नु हुन्थ्यो । ज्या, तपाईं कहिले बितेको ? मैले त आज पो थाहा पाएँ । हार्दिक श्रद्धाञ्जली छ !”
मेरो म्यासेजको कुरा सुनेर मोतीटारे दाजु मरिमरि हाँसे । तर पनि उनले भने – “जेसुकै होस् अब कविता लेख्दिनँ ।” फेसबुकको कविताले रमिता बनाउँछ, बरू तरकारी बिक्री गरे आम्दानी बढाउँछ ।” मोतीटारेले किन कविता लेख्न छोडे मैले यही रहस्य जान्नु थियो ।
०००
चितवन ।
Subscribe
Login
0 Comments
Oldest