गाेपालप्रसाद दाहाललुट्यो देश लुटिए जनता
व्यवस्था नि फेरिएछ उनै मान्छे माथि पसिनाको मूल्य छैन चुस्ने आफ्नै साथी नाम मात्र जनताको छैन अधिकार गर्दा गर्दा मतदान जनता भए हार ॥

गोपालप्रसाद दाहाल :
लुट्यो देश लुटिए जनता
कति दिनु यो भोट अब ता ।
धेरै आशा जनताले गर्थे तिमी माथि
भ्रष्टाचारी भई तिमी गन्हाएछौ साथी
आफैं मात्र ठुलो बन्ने धनमाथि नेत्र
पेवा ठान्यौ सधैंभरि निर्वाचन क्षेत्र ॥
लुट्यो देश लुटिए जनता
कति दिनु यो भोट अब ता ।
हाम्रो भोट खेर गयो देश डुब्दै छ यो
जनताको आशामाथि कुठाराघात् भयो
धेरैचोटि भोट दियौँ तिमीलाई तब
देशभित्र के के गयौँ जवाफ देऊ अब ॥
लुट्यो देश लुटिए जनता
कति दिनु यो भोट अब ता ।
पार्टीभित्र गुट तिम्रो आफ्ना भर्ती गरी
माफिया र घुसखोर तिम्रो जालो छरी
केन्द्रीयता लादिदिन्छौ लोकतन्त्र छैन
विरुद्धमा बोल्नलाई छुट पाइँदैन ॥
लुट्यो देश लुटिए जनता
कति दिनु यो भोट अब ता ।
लखेटेर युवाशक्ति कस्तो विकास गर्ने
मन्त्री सांसद नातावाद आफ्ना मान्छे भर्ने
विश्वासको पर्खाल ढल्यो निसास्सियो देश
किन बेच्यौ ? नेपालीको पहिचान भेष ॥
लुट्यो देश लुटिए जनता
कति दिनु यो भोट अब ता ।
खोलानाला बेचिदियौ मन्त्री तिमी हुँदा
सीमा सार्दा चुप बस्यौ आफ्नो देश रूँदा
राष्ट्रियता छैन भित्र देख्यौं तिम्रो चित्र
क्रान्तिकारी बोक्रे नारा ठग्दै हिँड्छौ भित्र ॥
लुट्यो देश लुटिए जनता
कति दिनु यो भोट अब ता ।
कति ठग्छौ सीमा नाघी नैतिकता भुली
हत्या हिंसा बलात्कार गर्छौ आँखा छली
भोट आए म्याउँ म्याउँ बिरालाको चाल
विदेशीको गोटी बन्दै कमाउँछौ माल ॥
लुट्यो देश लुटिए जनता
कति दिनु यो भोट अब ता ।
जितेपछि काठमाडौं बिर्सिएर कर्म
अपराध गरिबस्छौ छोडी आफ्नो धर्म
सुख दुःख जनताको देखेनौ नि कहिले
ठुलो नेता आफूलाई भन्छौ तिमी जहिले ॥
लुट्यो देश लुटिए जनता
कति दिनु यो भोट अब ता।
तिम्रो कार्य देखेर ती सहिदहरू रूँदा
गुण्डापाली राजस्व नै चुस्छौ देश सदा
भत्ताखाने केन्द्र बन्यो संसद बास बस्यो
अदालत भित्र पनि राजनीति पस्यो ॥
लुट्यो देश लुटिए जनता
कति दिनु यो भोट अब ता।
सामाजिक न्याय मर्यो नेपालमा सब
न्याय खोज्न पीडितले जाने कहाँ अब
अराजक देश पार्यौ तिमी शासक हुँदा
सहारा नै छैन कोही सिङ्गो देश रूँदा ॥
लुट्यो देश लुटिए जनता
कति दिनु यो भोट अब ता ।
जङ्गी अड्डाभित्र पनि गुटफुट खेल
बढुवामा गर्छौ सधैँ अपमान झेल
बाँकी छैन कुनै क्षेत्र देश दुब्लो भयो
कसाहीले चुसे देश रगत खेर गयो ॥
लुट्यो देश लुटिए जनता
कति दिनु यो भोट अब ता।
व्यवस्था नि फेरिएछ उनै मान्छे माथि
पसिनाको मूल्य छैन चुस्ने आफ्नै साथी
नाम मात्र जनताको छैन अधिकार
गर्दा गर्दा मतदान जनता भए हार ॥
लुट्यो देश लुटिए जनता
कति दिनु यो भोट अब ता ।
०००
दमक-५, झापा ।
Subscribe
Login
0 Comments
Oldest







































