अमर अधिकारीगोजी गरम गर्ने गर्मचारीहरू !
जमिनदार होइन इमानदार बन । राम्रा र सकारात्मक सुझाव देउ नेताहरूलाई, सुध्रिन्छन् कि थोत्रो लुगा झै उध्रिन्छन् । कति चाहिएको तिमीहरूलाई धन ?

अमर अधिकारी :
शीर्षकमा चारवटा शब्द ग नै ग राखेर किन रचना गरियो भनेर कसैले सोधेमा मेरो जवाफ हुनेछ- गन्हाउने गड्यौँलाले गञ्जागोल गति भनेर जवाफ दिनेछु हतार हतारमा । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले घुस खान्या मुलुकमा शत्रू हुन् भनेका थिए रे । सुनेको त होइन मेरा बाजेको पनि बाजे जन्मिनुभएको थिएन उनले यसो भन्दा । कतै कतै लेखेको मात्र देखेको हो यो फुच्चेको गुच्चे आँखाले । गोजी गरम गर्ने गर्मचारीहरूको सलबलाहट छ नेपालको प्रशासनमा । राजननीतिमा पनि त्यस्तै छ धर्मको त झन के कुरा गरौँ । कोटीहोम र महायज्ञमा उठेको धन सबै गुटमुटाएर कुलेलम ठोक्नेहरूलाई टुलुटुलु हेरेर बस्ने अन्धभक्तहरूको सङ्ख्या उल्लेख्य छ यहाँ । महायज्ञ लगाउने भनेर तँछाडमछाड भइरहेको छ हाम्रो देशमा । विद्यालय वा क्याम्पस बनाउनका लागि रकम उठाउनका निम्ति आयोजना हुने महायज्ञ सकिएपछि हात लाग्यो शून्य हुँदा आयोजकहरू जिल्ल अनि साँझ परेपछि भट्टीमा बसेर ठर्राले टिल्ल ।
राता गाला भएका महिला र पाता परेका गाला भएका पुरुष अझै पनि के के न होला भनेर हस्याङफस्याङ गर्छन् । अन्धभक्तहरूले चाहेको लक्ष्य प्राप्ति नभएपछि गालामा हात लगाएर टालामा सिँगान पुच्छन् । जुन देशमा अपराधी बढी छन् त्यस देशमा मठमन्दिर धेरै । क्या गजब छ बा ! त्यतिले पनि नपुगेर आश्रम र जसलाई श्रम गर्न लाज लाग्छ उसले खोल्छ आश्रम अनि पोल्छ उनीहरूलाई, अन्धभक्तहरू हेरेको हेर्यै । समाजकल्याणका कुरा जनकल्याणका कुरा गर्नेतर्फ लाग्नु छैन। फटाहाहरूका पछाडि लाग्ने तोरीलाउरेहरूले पछि धोका पाएपछि पोका बोक्दै हिँड्छन् । कमरेडहरू पनि रुद्राक्ष माला लगाएर ढोँगीसँगै फोटो खिचाएको मलाई के थाहा छैन र ? नेताहरू धेरै हसुरेर ढुस्स कार्यकर्ताहरू खान नपाएर ठुस्स । यस्तै छ यहाँको चलन कोहीकोही रिसले जलन । चिया पिउँदै बियाँ बिन्दै गरेकी गृहिणी पनि पार्टी कार्यालयमा धाउने । हात लाग्यो शून्य भएपछि निधारबाट पसिना आउने । चारभाइ चारपार्टी ढिँडो खान्छन् चाटीचाटी । बाउ रिसाए छोराहरूसँग, घर भयो तङ्गभङ्ग । छेपारे राजनीति नेपालमा चल्यो जनताको आँखामा विजुली झिल्का बल्यो । अर्द्धज्ञानी ठेट्नेहरू छेरौटेले भेट्नेहरू ।
अघोरीहरू मिलेर उद्योग खाए, सारा खाए जनताले दुःख पाए टालेको लुगा लाए । थुक्क हाम्रो भाग्य ! अझै झण्डा बोक्दै अण्डा खाँदै गर्छन् मर्न नसकेका फ्याउराहरू । न चेत्छन् न कुबुद्धि मेट्छन् । देश रित्तिसक्यो, बाह्रपास गरेर अष्ट्रेलिया-अमेरिका, फाल्लेको ताल्लेको काम गरिखा । राष्ट्रिय झण्डा, दौरा-सुरुवाल उतै गए, पण्डितहरू पनि उतै जाँदैछन् डलर कमाउन । मन्दिरहरू पनि उतै बन्दैछन् रे कुइरेको देशमा टाइसुटको भेषमा । हिन्दु धर्मको देश छोडेर अनि राष्ट्रियताको जरो गोडेर हुत्तिने पारीपारी, बस्ने भन्छन् रुखबाट डलर झारीझारी । अब त उतै जन्मिन्छन् बाँकी भुरा श्रीमतीले लाउँछिन धेरै कुरा । नौटङ्की किन गर्ने देशविमुखेहरू एअरपवर्टमा बार लगाइन्छ । उतै बस्ने भएपछि तिमी आउने बाटोमा खुर्सानीको खार लगाइन्छ ।
पार्टी किन्ने अर्बपति मानवहरू र राज्यकोष लुट्ने दानवहरू अलिकति पनि लाज छैन है ! उद्योग गर, व्यापर गर, तर दुर्गन्धित राजनीति नगर । रिटायर भएका घुस्याहा हाकिमहरू किन पार्टीमा पस्छौ । इमानदारहरू किन खरानी घस्छौँ ? साम्यवाद लागू हुन पाएको छैन हाम्यवादमा परिणत भैसक्यो । के यहीँ हो लोकतन्त्र, यो त हो ठोकतन्त्र । रिटायर भएपछि पुलिसका हाकिम पनि नेता निजामती प्रशासक पनि नेता, अझै बुझ्दैनौ जनताका बेथा ? नकच्चराहरूको काम नै के छ ? अनुभवलाई सिर्जनशील काममा लगाउ, पार्टी कार्यालयमा जाने मानसिकता भगाउ, बरू हुम्ला-जुम्लाबाट कोदो फापर मगाउ । नेताले हाकिमहरूको रिङाइसके टुप्पी, मानेनन् भने देखाउछन् चक्कु र चुप्पी । गुण्डागर्दी धेरै जानेका नैतिकता नजानेका के नेता ? भारतको पनि नागिरकता नेपालको पनि नागरिकता बोक्ने अनि लगाउने फेटा ? त्यस्ता पनि नेता ? तुच्छ मनुष्यहरू हो ! अब जनतालाई नझुक्याउ ! दोषहरू लुक्याउ !! जनतासँग माफी माग ! हैन भने भारतिर भाग ! महाभ्रष्टलाई अखित्यार प्रमुख बनाउने तिमीहरूको बुद्धि ! हेर हेर सुद्धि !! के यही हो गणतन्त्र ? यही हो लोकतन्त्र ? जे पायो त्यही ! मन्त्रालयको सचिवलाई महिनामा चारपटक सरुवा गर्ने, भन्याजस्तो भएन भनेर मालदाल अड्डामा चर्ने । घुसले डान्सबारमा मस्ती गर्ने र सुन्दरीका अगाडि पर्ने । यस्ता पनि नेता हुन्छन् यिनले त गुहु पनि छुन्छन् फाइदाका लागि ।
गोजी गरम गर्ने गर्मचारीहरू हो तिमीहरू पनि अनपढ नेताहरूका पछाडि लाग्यौ भने ठीक हुनेछैन । तिमीहरूले लोकसेवाको लिखित र अन्तर्वार्ता परीक्षा उत्तिर्ण गरेको ख्याल गर ! अनपढ नेताहरूका पछाडि नपर !! जमिनदार होइन इमानदार बन । राम्रा र सकारात्मक सुझाव देउ नेताहरूलाई, सुध्रिन्छन् कि थोत्रो लुगा झै उध्रिन्छन् । कति चाहिएको तिमीहरूलाई धन ? ठीक ठाउँमा राख आफ्नो मन । कार्यालय पनि कस्ता कस्ता बधशाला जस्ता, रेल विभागदेखि ट्रष्ट, नेता र कर्मचारीहरू भ्रष्ट । दिमागमा गोबर होइन मगज हुनुपर्छ, देशले निश्चलताको सगर छुनुपर्छ । जय व्यङ्ग्य साहित्य !!!
०००
खुंग्री, रोल्पा ।
हालः बुढानीलकण्ठ, काठमाडौं ।
Subscribe
Login
0 Comments
Oldest










































