कुमार खड्कानाकपुराण
अहिलेका हाम्रा बकम्फुस्सेहरू कुरो एउटा, काम अर्को गरेर, बैरिसँग लम्पसार परेर, आत्मासमर्पण गरेर, अकर्म र भ्रष्टाचार गरेर भएको नाक ताछिरहेका या दूर्नाममा कालोमोसो पोतिरहेका छन् ।

कुमार खड्का :
“स्वार्थको दलदलमा मान्छे भासिइसके
आफ्नो अर्को भन्ने साइनोनै मासिसके
गर्नु, तिर्नुपर्ने विषयको के कुरा भो र ?
जोगाउनु पर्ने नाक हो, धेरैले ताछिसके ।”
भौगोलिक हिसाबले सामरिक महत्वको प्रवेश द्वारलाई फलानो तिलानो नाका भनिएझैं मानव जीवनको प्राणवायु निकासी पैठारी र वास्तविक जीवन प्रवेश नाका भएकोले यसको नामाकरण “नाक” भएको हुनुपर्छ । प्रकृतिको कलात्मक अङ्ग नाक, मान्छेको आकार, प्रकार अनुसार डिजाइन भएको महसुस हुन्छ । अलिकति तलवितल पर्नु बेग्लै कुरा, प्रायः शारीरिक र विशेष अनुहारको बनावट अनुसार नाकको आकार पनि म्याच गरिएको जस्तो भान हुन्छ । अथवा कहिले नाकको बनावटले मुहारको कलाकारितालाई छुट्टै रुपमा प्रस्तुत गरेको हुन्छ । प्रतिकात्मक, भावनात्मक र विम्बात्मक रुपमा समेत नाकलाई लिनुको अर्थ यसको बहुआयामिक महत्व भएर नै हुनसक्छ ।
पाँच ज्ञानेन्द्रिय मध्यको नाक, एक महत्वपूर्ण अङ्ग, जसले सुँघेर वा महसुस गरेरै मस्तिष्कलाई सुसुचित गर्ने नारदमणिको ढङ्ग प्रदान गर्छ । यो हिसाबले मान्छेको विवेक प्रयोगमा नाकले १०० अङ्कमा न्युनतम २० अङ्कको डङ्का स्वतः बजाउनेनै भयो । प्रायः हरेक खाले प्राणीहरूमा घ्रुण शक्तिको लागि कुनै न कुनै अङ्गले काम गर्ने गरेको हुन्छ, तर मान्छे सर्वश्रेष्ठ सामाजिक प्राणी भएकोले उसैको घ्रुण शक्ति बारेको बणर्नले महत्वपूर्ण स्थान पाउनु स्वभाविक हुन आउछ ।
आकारको नाक, घ्रुण शक्तिमा आधारित नाक, इज्जत आमोद अनुसारको नाक भनेर गुणात्मक वणर्न पनि गर्ने गरिन्छ । नाकमा नाक ठूलो कमिलाको हुने रहेछ भनेर घ्रुण क्षमता अनुसार अकवर वीरवल कथामा वर्णन गरिएको छ । तर तथ्यगत आधारमा मान्छेसँग सबैभन्दा नजिकको र घरपालुवा प्राणी भएर पनि होला कुकुरको घ्रुण शक्ति मान्छेभन्दा ३२ गुणा शक्तिशाली हुन्छ, भनेर तुलना गरिनु एक हदसम्म जायज देखिन्छ ।
यसो त नाकले कहिले खतरनाक हतियारको रुपमा त कहिले मस्तिष्कको असल मतियारको रुपमा काम गरिरहेको हुन्छ । कहिले रौरव, कहिले सौरभ र कहिले गौरवको प्रतिकको रुपमा नाकले भिन्न विधा, समय र अवस्थामा स्वतस्फूर्त काम गरिरहेको हुन्छ । कहिले आकार र कैले प्रकारले पनि भिन्न खाले नाक चर्चित हुने गरेका छन् । लम्बोदर नाक, घिरौँले नाक, बुट्यानको ठुटोजस्तै ठेट्ने नाक, भेट्ने, खोर्साने नाक । कोप्चे, थेप्छे, नेप्टे, चुच्चे, बुच्चे, नाक आदि, इत्यादी । नाककै आकार प्रकार अनुसार कैयौँको नाम भन्दा उपनामनै चर्चित भएपछि मान्छेको विशेष हुल्याहा समेत नाकलेनै प्रष्ट हुने गरेको छ । जस्तै : चरिनाके, सुगानाके, घोरनाके, ढोडनाके… आदि इत्यादी ।
घर, परिवार, समाजको पनि विशेष गुण भएको सदस्य समग्र घर, समाजको नाक हुन्छ । उसैको नाकले अरु साराको नाक भासिन सक्ने वा भासिएको नाक उठाउने र बचाउने काम गर्छ । लायक वा नायक बन्नु या नालायक या खलनायक बन्नु भनेकै नाक अग्लिनु र होचिनुमा व्यक्ति, परिवार, संस्थागत प्रतिनिधिको कार्य कुशलता, व्यवहारिक लगनशीलतासँगै जोडिएका सम्झन लायक उपलब्धिसँगको सापेक्षतामा हेर्ने गरिन्छ, घर, परिवार तथा समाजमा । यस्को वास्तविक सीमारेखा र परिधी तोकिएको भने हुदैन । कहिले घिरौला जत्रो नाक तुरुन्तै काटिन सक्छ, कहिले लौका जत्रो नाक ताछिन सक्छ । थेप्चिएको नाक माथि उठ्न सक्छ या उठेको नाक भासिन सक्छ । लाग्छ कि एक हिसावमा सारा सुकर्म र कुकर्मको भार बोक्ने कामनै सिङ्गो नाकलेनै गरिराखेको भान हुन्छ । यसरी कुल समाजको धाक, साख र रवाफको विम्बनै नाक हो, भन्न सकिन्छ ।
त्रेता युगमा लक्ष्मणले रावणको बहिनी सुपर्णेखाको नाक काटेर नमेटिने घाउ लगाइदिएपछि सीताको टाउकोमाथि रावणरुपी राहु चढेको र प्रतिशोध साँधेर नाक ठाडो पार्ने क्रममा सीता हरण गरेको प्रसङ्ग र त्यसले निम्त्याएको लङ्का काण्डको पौराणिक महात्म्यले नाकको महत्व, इज्जत र प्रतिष्ठा सम्झाउँदै मन झसङ्ग पार्दैन र ?
पृथ्वीनारायण शाहको राष्ट्र एकीकरण प्रक्रिया अन्तर्गत कीर्तिपुर युद्धमा गोर्खाली सेनाले पटक पटक पाएको दुख, भुक्तमान, नोक्सानीको बाबजुद कठिनतापूर्वक भएको विजय पश्चात कीर्तिपुरे लडाकु देशभक्तहरूको नाक, कान काटेर रिस पोखेको र सत्र धार्नी भएछ, भनी जोखेको प्रतिशोध प्रसङ्ग निश्चयनै उदेक लाग्दो छ । तत्पश्चात नाककै कारण सदियौँसम्म शत्रुतापूर्ण सम्बन्धको कालो इतिहास लेखिएको र “नाकको डाँडी इज्जतको हाँडी…!” भन्ने कुरा सिद्धभै अझैसम्म कुनै उपचारको इरेजरले नमेटिने घाउ भएको अवस्थाले जो कोही जिम्मेवार र संवेदनशील मान्छेहरूले गहिरिँदै सोच्नुपर्ने अवस्था देखिँदैन र ?
अरनिकोको प्रस्तर कलाको ख्यातिले चीनमा उनको निमन्त्रणा र उनीद्वारा निर्मित श्वेत प्यागोडा मार्फत ठडिएको नाकले अझैसम्म नेपालको नाम उँचो राखेको कुरा इतिहासमा जगजाहेर छ । हालसम्म चीनसँग सुमधुर दौत्य सम्बन्ध कायम हुनुमा अझै अरनिकोको जीवन्त कलाकारिताको धाकले नेपालीको नाक र साख उँचो राखिरहेको हो, भन्दा फरक पर्ला जस्तो लाग्दैन ।
अग्रेजसँग नालापानीको युद्ध, देउथलको युद्धमा प्राप्त बहादुरी लगायत भोट युद्धको समेत वीरताले बहादुर गोर्खालीको नामले नेपालीको नाक उँचो पारेको इतिहास भुल्न हुँदैन । तेन्जिङ नोर्गे शेर्पाको एडमण्ड हिलारी साथ पृथ्वी ग्रहकै नाक सगरमाथा चुचुरोमा सफलतापूर्वक आरोहणले नेपालीको गौरव बढाउँदै शिर र नाक उँचो पारेको कुरा मनग्य वर्णनयोग्य छ । देशको सबैभन्दा अग्लो, ठूलो, राम्रो, महत्वपूर्ण र मूल्यवान वस्तुहरू तथा प्राकृतिक सम्पदाहरू, असल महामानवहरू याने विभूति, शहीद, खेलाडी, कवि कलाकार, साहित्यकार राष्ट्रका नायक भन्दा नाक हुन्, रवाफ र धाक हुन् । सम्मानित शिखर हुन् ।
पत्रकारिताले कहिलेकाही राजनीतिक प्रसङ्गमा खराव काम गर्ने र भ्रष्टाचारीहरूको नाकको डाँडी भाँच्ने, नाक हिलोमा रगड्ने कुरा गरिरहेका हुन्छन् भने कहिलेकाही आफ्नै नाक समेत आफैं रगड्दै आफैंले कालो धसिरहेका हुन्छन् । आजभोलिको नाक नकारात्मक कर्मसँग जोडिएकै प्रसङ्गमा छताछुल्ल हुँदैछन् । सकारको हुँकारले चम्केको नाक महिमा अहिले आएर कलङ्क र नकारको ललकारमै रन्केको र निकम्मा नाकको रुपमा थन्केको देखिन्छ । गलत कर्ममा मुन्टो लुकाउनु र शिर झुकाउनुनै दिनचर्या भैसकेको छ, समाजको ।
कुनै जमानामा अमेरिकाको लाइब्रेरी अफ कङ्रेसको मूल्यवान किताब चोरी गरेर राष्ट्रको नाकमा दाग लगाएका कोहि अमूक राजदुतले सगरमाथा र लुम्बिनीको नाक भासेका थिए । मूर्ती चोरी, सम्पदाको भित्तो फोरीदेखि हिंसात्मक युद्धका अघोरीहरूले नाकमात्र हैन टाउकै गिड्ने काम गरेर रेकर्डनै राखे । राजनीतिक, कुटनैतिक कारण नेता, कर्मचारीतन्त्रका भ्रष्ट र राष्ट्र हित विरुद्धका अनैतिक कर्मले राष्ट्रको नाक थेप्च्याउने, खुट्टा लेच्याउने, घाउ कल्च्याउने गरेका अनेक प्रसङ्गले नाकको बृहत् महिमा होच्चिने गरेका छन् ।
चाहे मित्र राष्ट्र रुसमा आयोजित इसिमोड को कार्यक्रममा तत्कालीन सम्बन्धित मन्त्रीले विषय भन्दा अर्कै प्रसङ्गमा लेखिएको भाषण पढेर विदेशी मित्र राष्ट्रका प्रतिनिधिहरू हँसाएर, राष्ट्रको नाकमा नत्था छेडेको रोचक विषय होस् या नामुद क्रान्तिकारी उद्योग मन्त्रीले औद्योगिक सम्मेलनमा टुटेफुटेका भङ्ग्रेजी सम्बोधन गर्दा फुर्तिसाथ ठड्याउदै गरेको नाक होस्, जगतलाई हँसाउनु हसाएका थिए । अझै छिमेकी राष्ट्रका प्रमुख जनकपुर धाम निम्तोमा आउँदा लोकको अगाडि र्याल चुहाउँदै निदाउने हाम्रा कार्यकारी नायकले त हाम्रो नाक आचिमै धसिदिएको प्रसङ्ग कम्ती लाजमर्दो भएन । रिमोट सिस्टमबाट हिमालपारि हाइड्रो ट्रेड गर्ने, रुख रोपेर वातावरणमा कार्बनडाइअक्साइड वृद्धि हुन्छ भनेर गफ ठोक्ने जस्ता यावत फतुर कुराको उल्लेख गर्यो भने सारा नेपालिको कुनै पनि नाक र नाका बाँकी हुँदैन जस्तो लाग्छ ।
चाहे समृद्ध नेपाल, सुखी नेपालीको नारा फलाकेर होस् या चुलोसम्मनै ग्याँसको पाइप जोड्नेसम्मको कुरा होस्, चाहे रेल र पानी जहाजको कथा फलाकेर होस् या राम जन्मस्थल निर्क्योलको कुराले होस्, कम्ता नाक उठाउने प्रयत्न भएनन् नि यहाँ । तर गफ गफमै सिमित भयो, नाक उठ्ने हैन झन् दुनियाँको सामु भासिँदै गएको भान भयो । देशलाई सिङ्गापुर एसियाली मापदण्डमा पुर्याउने गणतान्त्रिक नायकको विचारोत्तेजक भाषण, नयाँ नेपाल, ब्रेकथ्रुका प्रसङ्गले जनताको नाक फुलेको र हल्लँदै कम्ता नाचेका थिएन नि ! तर सारा चौपट । नाकमा दाग लाग्ने र थेप्चिने, नेप्टिने भन्दा अरु केही भएन ।
क्रम जारी छ । अहिले त दिनहुँ नयाँ जोकरहरू थपिँदै नयाँ नयाँ प्रोपोगन्डाले आ आफ्नो पेटसँगै नाक फुलाउने काम गर्दा दुनियाँ हसाउने र राष्ट्रको नाक झन् झन् भसाउने काम हुँदै आएको छ । हालै आएर एकजना नेताले त राष्ट्रिय मिडियामा चुच्चे नक्साभित्रको कालापानी, लिपुलेकको भूभाग त भारतकै हो, नक्सा मात्र हाम्रो हो है ! भन्ने जस्ता कुराको वान्ताले कम्ता नाक ठड्याइदिएनन् नेपाली जगतको बाई ! राखेनन् त देश र जनताको नाक ?
नाक महिमा अन्तर्देशीय मात्र हैन अन्तर्राष्ट्रिय चासोको कुरा समेत बनिसकेको जगजाहेर छ । हाम्रो सगरमाथाको अस्तित्वलाई भित्र भित्रै धावा बोल्न खोज्ने उत्तरी छिमेकि र हाम्रो लुम्बिनीमा आफ्नो वर्चश्व खोज्ने दक्षिणी छिमेकीको गैर कुटनैतिक गतिविधि कम्ता टिठ लाग्दा छन् र ? हरेक बुज्रुकले चासो दिएर उनीहरूको पासो बारे चनाखो हुनुपर्ने र राज्यले एथासिघ्र बुद्दिमतापूर्ण कुटनीति सञ्चालन गर्नुपर्ने अवस्था सृजना भएको छ ।
हाम्रा पूर्खाहरू, अग्रजहरू बैरिसङ्ग युद्ध लडेर, आफ्ना किर्ती फैलाएर, देशभक्ति देखाएर नाक ठड्याउँथे, अहिलेका हाम्रा बकम्फुस्सेहरू कुरो एउटा, काम अर्को गरेर, बैरिसँग लम्पसार परेर, आत्मासमर्पण गरेर, अकर्म र भ्रष्टाचार गरेर भएको नाक ताछिरहेका या दूर्नाममा कालोमोसो पोतिरहेका छन् । नाक अग्ल्याउने र ठड्याउने भन्दा भास्ने र झुकाउनेहरूको जमात बढोत्तरी भइरहेको प्रदुषित अवस्थामा कुलका कुलङ्गारहरूलाई चेत आउने गरि सचेत नागरिकहरूले छानी छानी खुल्ला चोक, गल्ली, फुटपाथ जहाँ भेटे त्यही पछार्दै नाकको डाँडी भाँचिने गरि मुक्याउन थाल्ने हो भने “न रहे बाँस, न बजे बाँसुरी…!” भने झैँ “न घिनौना नाक रहन्थ्यो, न भ्रष्टहरूको धाक, रवाफ…!” राष्ट्रको नाक भसाउने र कालो लगाउने नाकहरू बारे सबैमा चेतना भया । बाँकी सबैको जय होस् …!! अस्तु…!!!
०००
आलापोट, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































