बद्रीप्रसाद दाहाल ‘भस्मासुर’के को सेवा ? कमाउने हो ढेवा !!!
बाघ बदेल ब्वाँसा वा, अरिङ्गाल र बारूला । बग्रेल्ती सल्बलाएरै, देश उल्टो हराभरा ॥ कोचाकोच चल्यो भित्र, छतमा उत्तिकै बसी । समाधिस्थ भए कयौँ ,नदी वा भीरमा खसी ॥

बद्रीप्रसाद दाहाल :
चाडपर्व यहाँ झुल्के उल्के बस र मोटर ।
खाँदाखाँद छ यात्रामा जताततै छ कोटर ॥
झुन्निने दुन्निने उस्तै उभ्भिने खाँदिने दुःख ।
सिन्की गुन्द्रुकझैँ यात्रु कुच्चिँदा मान्दछन् सुख ॥
भाडामा मन्परी चर्को झर्को पोख्दैछ मालिक !
वाक्कट्यार्र चलेको छ यात्रु छन् जड सालिक ॥
ज्येष्ठको सिटमा बस्छन्, ढसमस्स कनिष्ठ नै !
ओगट्दा साङ्गले सीट, अपाङ्ग उठ्दछन् कठै !!
महिला सिटमा मुन्द्रे, चुल्ठेले राज लाद्दछ ।
भुरा बूढा र सुत्केरी, हेप्दा कन्सिरी तात्दछ ।
अशक्त सिटमा, लाठे तिघ्रे – सशक्त बस्दछन् ।
वृद्ध – वृद्धा उठाएर, लौ पठ्ठा पठ्ठी मस्त छन् !!
बसे सेवा हटाएर, उठे ढेवा कमाउन ।
सर्कारै लुत्रियो चर्को, सिन्डीकेट हटाउन ॥
गुन्द्रुकैसरि कोचिन्छन्, यात्रु झार र पात हुन् ।
जाँचकी नाममात्रै को, खाने मेसो मिलाउँछन् ॥
झारातिराइ भै जाँच, हेरालुमा मरे हरि !
बाटो धराप उस्तै छ, रामराम जपौँ हरि !!
पोखरी कुण्ड खाल्टाले, बाटा एम्बूसझैँ बने ।
व्यवसायी र सर्कार, बजेट घिच्न कस्सिए ॥
गलगण्ड बन्यो तन्त्र, सङ्घीय भाव मक्किए ।
लोकतन्त्र भयो जोक, वस्तुका भाउ मङ्गिए ॥
बाघ बदेल ब्वाँसा वा, अरिङ्गाल र बारूला ।
बग्रेल्ती सल्बलाएरै, देश उल्टो हराभरा ॥
कोचाकोच चल्यो भित्र, छतमा उत्तिकै बसी ।
समाधिस्थ भए कयौँ ,नदी वा भीरमा खसी ॥
रमिता हेर्छ ठूलाले, चढी कार – विमानमा ।
सर्वहारा बिचल्ली छन्, सर्वमारा कुशासन ॥
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest








































