याेगीश कृष्णविकास मापन
मेरो अल्प बुद्धिले उसको कुरा टिप्न सकेन । मेरो जिज्ञासा शान्त पार्दै उसले भन्यो “आज दिनभरमा कुन मन्त्री, कुन नेता, कुन दलबुद्धिजीवीले कति घण्टा, कुन ठाउँमा भाषण गरे, उद्घाटन कार्यमा कति मीटर रीबन काटियो ?

योगीश कृष्ण :
मित्रवर बन्धु चिन्तारत देखिन्थ्यो । बढेका दाह्री कपाल । कोठाभरि पत्रपत्रिकाको थुप्रो । अघिल्तिर ल्यापटप । गम्भीरतपूर्वक लेखपढ गरिरहेको । अनुहार उज्यालो , शरीर थकित । ठूलै अध्ययन सकेर बसेको जस्तै देखिने । उसलाई सोधेँ- “बन्धु, यो सब के भइरहेको छ ?”
उसले जबाफ दियो “मैले विकास मापन गर्ने तरिका पत्ता लगाएको छु ।”
“यो कुन नयाँ कुरा हो । कुन देश कत्तिको विकसित छ, त्यसका मापदण्ड जनताको जीवनस्तर, जनताले पाउने सुविधालगायत थाहै भएको कुरा हो ।”
उसले भन्यो- “हाम्रै देशअनुुसारको तरिका पनि त चाहियो नि । त्यही भएर मैले यस विषयमा नयाँ अनुसन्धान गरेको हुँ, देशमा एक से एक विकासप्रेमी नेताहरू जन्मिँदा छन् । जहाँ जाऊ त्यहाँ विकासकै गफ चलिरहेको हुन्छ । कोही मुलुक समृद्ध बनाउन लागिपरेका छन्, कोही विकासको लहर ल्याउन तमतयार भएर बसेका छन् ।
नेपालको प्रमुख चरित्र नै विकास हो । छ दशकदेखि प्रत्येक दिन सुनेको शब्द नै यही हो । पूरा मुलुक सँधै विकासको चिन्तामा रहन्छ । सरोकारवालाहरू हरदम विकासमा व्यस्त । पञ्चायतकालमा त नारा नै थियो ‘विकासको मूल फुटाउनु पर्छ’ ।
त्यसपछिका व्यवस्थामा पनि विकास मुलुकको मूल कार्य बन्दै आएको छ । मुलुकमा यति विकास भइसक्यो कि यहाँका पचासौँ लाख युवा विदेशिएर विदेशको विकास गर्दैछन्, यता सरकार विकास गर्न बर्सेनी रिण लिएको लियै छ् । नेपाल विकसित भइरहेको छ, त्यसैले बर्सेनी रिण लिरहन्छ । यहाँसम्म कि रिणको ब्याज तिर्न पनि रिण लिन तयार । अहिले त विकासको लहर ल्याउने लहर चलेको छ । यो लहरले विकासमा नयाँ लहर ल्याउने आशा जागेको छ । समस्या कहाँ छ भने के कति विकास भयो जनताले कसरी बुझ्ने ? मित्रवर वन्धुले भने तरिका पत्ता लगाइसकेछ । विकास मापन गर्ने तरिकाको निर्माण गर्न सरकारी सयन्त्रलाई फुर्सद छैन । विकास गर्दा गर्दा फुर्सद नै छैन । धन्य, मित्रवर बन्धुले यो पुनीत कार्य सम्पन्न गरेछ ।
मैले सोधेँ- “बन्धु,विकास मापन कसरी गर्ने ?”
उसले सोध्यो- “हिजो देशमा कति विकास भयो, तिमीलाई थाहा छ ? कसैलाई थाहा छैन । मेरो विकास मापन गर्ने तरिका एकदम सरल छ, प्रभावकारी छ र उत्तिकै भरपर्दो पनि ।”
म उसले तयार पारेको विकास मापन विधि जान्न उत्सुक थिएँ, सोधेँ- “जुनसुकै अध्ययन अनुसन्धान गर्न प्रेरणा चाहिन्छ । तिमीलाई कसले प्रेरणा दियो वा कसरी प्रेरित भयौ ?”
उसले जबाफ दियो “हाम्रो समस्त राज्यप्रणाली नै मेरो प्रेरणाको स्रोत हो । सांसद, मन्त्री, कर्मचारी, दलका कार्यकर्ता आदि सब ।
मैले जिस्काएँ- “भ्रष्टाचार गर्न, कमिसन, घुस, आदि जस्ता मनमोहक कार्य गर्न पो उनीहरूबाट प्रेरणा मिल्न सक्छ । अनुसन्धान जस्तो यस्तो विषयमा कसरी प्रेरणा मिल्यो ?”
उसले भन्यो “उनीहरूको मूल काम त तिमीले भनेजस्तै हो । उनीहरूको अन्य कामबाट म प्रेरित भएको हुँ । उसले विकास मापनको उदाहरण प्रस्तुत गर्र्दै भन्यो- “हिजो मुलुकमा दुई सय पाँच सय मीटर, दुई हजार घण्टा, दश मिलियन डलर, पाँच हजार टन, चार हजार जना, १० बाकस तीन सय स्यालूट विकास भयो ।”
म अलमलमा परेँ- “के भनेको यस्तो ?”
उसले भन्यो- “अझै परिष्करण गर्न बाँकी छ । किनभने पालिका स्तरको विकास मापनको विधि अझै स्पष्ट पार्न सकेको छैन । यो त केन्द्रीय र प्रादेशिक तहको विकास मापनको तथ्याङ्क हो । सूचना प्रणाली चुस्त दुरुस्त बनाउन सके भने त्यहाँको पनि विकास मापन गर्न सकिन्छ ।
मेरो अल्प बुद्धिले उसको कुरा टिप्न सकेन । मेरो जिज्ञासा शान्त पार्दै उसले भन्यो “आज दिनभरमा कुन मन्त्री, कुन नेता, कुन दलबुद्धिजीवीले कति घण्टा, कुन ठाउँमा भाषण गरे, उद्घाटन कार्यमा कति मीटर रीबन काटियो, सरकारले कति रिण लियो, कति हजार युवा रोजगारीका लागि विदेशिए, कति हजार टन खाद्य पदार्थलगायतका सामग्री आयात भयो, कति जना वैदेशिक रोजजागारमा गएका नागरिक बाकसभित्र फर्किए र ओहदाबालले कति स्यालूट पाए प्रत्येक दिनको हिसाब निकालेर विकास मापन गर्न सकिन्छ ।
अचानक मलाई कैँचीको सम्झना भयो- “बन्धुु, उद्घाटन गर्दा प्रयोग हुने कैँचीको त कुनै भूमिका देखिएन त ?”
ऊ हाँस्यो“ कैँचीले काट्ने रिबनको गणना भैसकेपछि कैँचीको पनि गणना गर्दा ठूलो हो हल्ला बहस हुन सक्छ ।”
हुन पनि हो । पाकेटमारको प्रतिभाको कुरा गर्दा कैँचीको पनि चर्चा हुन्छ । सरकार र पकेटमारसँग कुनै पनि तवरको सम्बन्ध जनाउन उपयुक्त्त हुँदैन । बन्धुले गम्भीर हुँदै भन्यो “कतिपय अवस्थामा दुवै उस्तै उस्तै पनि लाग्छन् । दुईबीच मूलभूत अन्तर के छ, त्यसको बारेमा म अलग्गै अनुसन्धान गर्छु ।
बन्धुको अनुसन्धानको प्रतीक्षा गरौँ !!
०००
रचनाकाल : २०५२ साल
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































