गाेपालप्रसाद दाहालराष्ट्र नै पीडामा
बढेछन् पापी शहर गाउँ बस्तीमा मानव खोलाको भाग बेचेर खाने शत्रु हुन् दानव जे भए पनि विपद्मा सधैँ मद्दत दिलाउ मलमपट्टि गरेर आऊ सेवामा रमाऊ ॥

गोपालप्रसाद दाहाल :
आएछ दशैँ भनेर हेरेँ बाढीले घेरेछ
सन्ततीलाई सम्हाल्न खोजेँ पैह्रोले पुरेछ
गुहार माग्दा पाइँन मैले भेलले बगायो
दया र माया हरायो साथी खै दशैँ काँ आयो ।१
मानव्ता हुँदा आउँथ्यो दशैँ घर र आँगन
पैह्रोले पुर्यो ती बस्ने घर भोकै छन् जहान
आउने जाने ती बाटा छैनन् घर नि बगायो
वारि र पारी जोड्ने ती पुल निशाना मेटायो ।२
सयौँको ज्यान लिएर गयो बाढी र पहिरो
दशैँको बेला नेपाली व्यथा यस्तैछ गहिरो
ती बालबच्चा पालेका पशु निर्दयी बनेर
बगाई लग्यो दशैँकै बेला एकेक गनेर ॥३
शहरभित्र निर्धक्क पसी घरैमा जलले
बहने आफ्नो पुरानो बाटो खोजेछ भलले
ताकेरै आयो बगरबिच ठड्याका महल
भत्काई लग्यो गगनचुम्बी बाटाका महल ॥४
गरिब धनी चिनेन उस्ले त्यो आफ्नो बाटाका
वर्षाको वेग तीव्रता बन्यो झम्झम छ भाका
पकृति देवी रिसाइन् धेरै नमिच्नु बगर
चुनौती दियो नदीले आई निर्माण नगर ॥५
सभ्यता फुल्छ नदीकै छेउ नमिचौँ बगर
नदीको बाटो हडप्न हुन्न खेलाँची नगर
भन्दैन दशैं तिहार पर्व आगो र पानीले
जङ्गल मासे पैह्रोले पुर्छ भन्दछे सानीले ॥६
बढेछन् पापी शहर गाउँ बस्तीमा मानव
खोलाको भाग बेचेर खाने शत्रु हुन् दानव
जे भए पनि विपद्मा सधैँ मद्दत दिलाउ
मलमपट्टि गरेर आऊ सेवामा रमाऊ ॥७
साटेर शुभ कामना लिने दशैंको बेलामा
लुटियो खुशी शहर गाउँ राष्ट्र नै पीडामा
गुहार माग्दा नसुने जस्तो नगर बहाना
पुछेर आँसु मानव बन छ शुभकामना ॥८
०००
दमक ५, झापा ।
Subscribe
Login
0 Comments
Oldest







































