हेमराज पन्तपरिवेश
यता गर्छ हल्ला उता छर्छ नारा । बसे लाजको लाममा भातमारा ॥ मजेदार कुर्सी नचिन्थे कहाँ को । लुसुक्कै परी पाउ शास्ता भयो जो ॥

हेमराज पन्त :
यता देख्छु खाली उता देख्छु रित्तो ।
जनौली सुनी मख्खमा बस्छ भित्तो ॥
गरी द्वन्द आफैं बसे हन्तकाली ।
घुमी बस्छ अन्धो सधैँ खेत आली ॥१
जसै रन्न रन्केर बज्दै छ गाला ।
पसे देशको बागमा दुष्ट काला ॥
तिमी दैत्य कुर्सी तिमी हौ सिकारी ।
लुटी देश हाम्रो बनायौ भिखारी ॥ २
बसेको छ नग्नो यहाँ देश हाँकी ।
अझै हेर्न लीला रहेको छ बाँकी ॥
तमासा अनेकौं यहाँ देख्न थाले ।
यता थाप्छ चम्चे उता हान्छ काले ॥ ३
जता हेर्छु देख्ने निराशै निराशा ।
म खोजौं कहाँ राष्ट्रको दीप आशा ॥
बिराला तथा श्वानको देख्छु जोडी ।
सधैं स्वार्थले मिल्छ,आदर्श छोडी ॥ ४
यता गर्छ हल्ला उता छर्छ नारा ।
बसे लाजको लाममा भातमारा ॥
मजेदार कुर्सी नचिन्थे कहाँ को ।
लुसुक्कै परी पाउ शास्ता भयो जो ॥ ५
कहाँ साथमा बस्छ आगो र पानी ।
बसे बालुवाटारको झार छानी ॥
म लेख्दै बसे शब्द जान्दै नजानी ।
कहाँ आँप झर्ला झटारो नहानी ॥ ६
०००
पाटन २ सिलङ्गा, बैतडी
हालः-पहलमानपुर, कैलाली
Subscribe
Login
0 Comments
Oldest







































