प्यारो थोत्रो ल्यापटप !
किन लेख्नु कोठालाई घर ? झुठा-झुठा कुराहरू चल्छन् हाम्रो देशमा पनि । जस्तै नेताहरूले देशलाई स्विजरल्याण्ड र सिङ्गापुर बनाइदिन्छौँ भनेर झुठा कुरा गर्दैआएका छन् । त्यस्ताका कुरा पत्याउने हामी जनता कस्ता हौँ ?
अमर अधिकारी :
२०६५ सालमा न्यूरोडको एउटा मारबाडीको दुकानबाट १६ वटा हात्ती नोट खनखनी गनेर सानो आकारको ‘ए सर !’ ब्राण्डको ल्यापटप किनेको थिएँ । गाँठवालाले ठूला र महँगा खालका ल्यापटप किन्छन् । आफू त परियो शब्दहरूमा लखपति धनमा भन्नुपर्दा गरिब पत्नीको पति । क्याल्कुलेटरभन्दा ठूलै थियो त्यो ल्यापटप । सानै आकारको भए तापनि मैले उसलाई शुरुशुरुमा सुमसुम्याएँ र निकै माया गरेँ । किन कि जीवनमा पहिलोपटक ल्यापटपको धनी हुन पाएको थिएँ । २०५४ सालदेखि डेस्कटपमा बानी परेको म एक मनुष्य । हुन त २०४७ सालदेखि नै मैले कम्प्युटरको स्पर्श गरेको थिएँ । राष्ट्रिय कम्प्युटर केन्द्र नामको सरकारी संस्थानको रुपमा थियो त्यो केन्द्र सिंहदरबारभित्रै । नेपालभर कतै पनि कम्प्युटर इन्स्टिच्युट थिएनन् त्यतिखेरसम्म, काठमाडौंको खाल्डोमा हुने त कुरै भएन । त्यसैसालमै मैले कम्प्युटरको पहिलो तालिम लिएको थिएँ । त्यतिबेलाका कम्प्युटरहरू माउसविहिन थिए । माउसको जन्म त संसारको विकसित मुलुकमा भएको थियो होला । तर नेपालमा त्यो माउसको प्रवेश भने भएको थिएन । किबोर्डको ट्याब र एरोले माउसको काम गर्थे धिमा गतिमा ।
शुरुमा मैले ल्यापटप भनेको सुन्दा मह काढ्दा हातमा लागेको मह ल्याप-ल्याप चाट्ने चिज होला भन्ठानेको थिएँ । मैले किनेको फिस्टे ल्यापटपबाट टुसाएका शब्दहरूका कारण सिंहदरबार दुईपटक थर्कियो भने विराटनगरका मेयरलाई घेर्न गृहणीहरूको जुलुस पनि उर्लिएर गयो । भ्रष्टाचारीहरूका कान ठाडा भए भने नेताका अन्धभक्तहरूबाट बेलाबेलामा धम्की पनि आयो। जनताको पक्षमा लेख्दा भ्रष्टहरूका चम्चाहरूले झुसिला खालका कमेन्टहरू पनि ठोक्नुसम्म ठोके । काउसो जस्ता सीमित असामाजिक तत्वबाट देश आक्रान्त छ । यस्ता कुडाकर्कटहरूलाई बढार्ने जमर्को यसै थोत्रो ल्यापटपबाट नै गर्दै आएको छु । देशभक्ति र प्रकृतिप्रेमका मेरा गीतहरू यसै थोत्रो ल्यापटपबाटै घन्किरहेका छन् । किबोर्डलाई तबला झैँ बजाउँदाबजाउँदा ल्यापटपको दायातर्फबाट आन्द्रा निस्किनथालेको छ । हुन त नयाँ ल्यापटप उपहारको रुपमा नेपाल भित्रिएको दुईमहिना नाघ्यो तर त्यसमा थोत्रो ल्यापटपमा जसरी सजिलैसँग शब्दहरू उमार्न सकिँदैन ।
नयाँ ल्यापटपमा बानी पर्न पनि कति गाह्रो भाको होला ? नयाँ नयाँ भर्सनका एपहरू चलाउन पनि गाह्रो । आफू त एकोहोरो किसिमले पुरानोमा बानी परेकोले नयाँमा बानी पर्न निकै हम्मेहम्मे भयो । नयाँ ल्यापटप झोलामा बोक्दै कम्प्युटर जान्नेहरूकोमा पनि घरिघरि पुगेँ । घरी दक्षिण र घरी उत्तर अनि घरी पूर्व र घरी पश्चिम । धेरै पछि आधाआधी कामका लागि मात्र नयाँ ल्यापटपमा बानी परेको छु । थोत्रोलाई चाहिँ माया मारेको छैन । त्यो मेरा लागि धेरै नै प्रिय भइसकेको छ । श्रीमती भन्छिन् कवाडीलाई दिनुस् । तर म मानिरहेको छैन । किन कि श्रीमती भित्र्याएको चौँतिसवर्ष नाघ्यो भने पहिलो ल्यापटप अर्थात् अहिलेको थोत्रो ल्यापटप भित्र्याएको भर्खर पन्ध्र वर्ष मात्र भएको छ । थोत्रो ल्यापटप पन्छाउँदाको पीडा र श्रीमती पन्छाउँदाको पीडा उस्तैउस्तै हुने देखेको छु ।
किबोर्डमा औँलाले ठुङ्दा थोत्रो ल्यापटपको माथिल्लो फग्लेँटो हल्लिने समस्या पनि छ । दायाँ ज्वाइनमा बेल्डिङ गर्न लगाएर काम चलाउँदै आएको छु । प्रिय मेरो थोत्रो ल्यापटप तँसँग यतिविधि माया बसेको छ । तैँले मलाई धेरै नै माथि पुर्यादिइस् । २०८० मंसिरदेखि २०८१ कार्तिकको आधाआधिसम्म मैले छलाङ नै मार्ने सौभाग्य पाएको छु तेरो सहाराले । किन कि तेरो आड भरोसामा दुईदर्जनभन्दा बढी मिडियाहरूसँग सम्बन्ध गाँस्न पाएको छु । मलाई चर्चाको शिखरमा पुर्याइस् अनि कीर्तिमानी बनाइस् र उपाधिहरू दिलाउन पनि अहं भूमिका खेलिस् मेरो प्यारो थोत्रो ल्यापटप ! मेरा पुस्तकहरू पनि जन्माइस् र भविष्यमा जन्मिने पुस्तकका लागि अग्रिम तयारीका लागि अहम् भूमिका खेलिस् मेरो प्यारो थोत्रो ल्यापटप ! तेरो जय होस् थोत्रो ‘ए सर’ ल्यापटप ! तँलाई मैले मेरो म्यूजियम अर्थात् अजायबघरमा सजाएर राख्नेछु, जसरी २०५६ सालदेखिको डेस्कटपलाई छोपेर माया गरेर राखेको छु । यति मात्र होइन मैले शुरुदेखि अर्थात् २०६१ सालदेखि चलाएको मोबाइल पनि सुरक्षितसाथ राखेको छु ।
कुनैबखत चलाएको रेडियो पनि छ मेरो सानो अजायबघरमा । ‘सिको फाइब’ घडी पनि छ निदाएको अवस्थामा । मेरो अजायबघर खासमा घर भने होइन एउटा कोठाको कुनो अर्थात् सानो अनि सीमित स्थान हो । हुन त शहर बजारमा खाजाघर लेखिएको हुन्छ त्यहाँ एउटा सटरमा चलेको हुन्छ । चियाघर भनेर साइनबोर्डमा लेखिएको हुन्छ त्यो पनि एउटा सटरभित्र चलेको हुन्छ । किन लेख्नु कोठालाई घर ? झुठा-झुठा कुराहरू चल्छन् हाम्रो देशमा पनि । जस्तै नेताहरूले देशलाई स्विजरल्याण्ड र सिङ्गापुर बनाइदिन्छौँ भनेर झुठा कुरा गर्दैआएका छन् । त्यस्ताका कुरा पत्याउने हामी जनता कस्ता हौँ ? अचम्म छ हाम्रो देशका नेता अनि जनताहरूको गतिविधि र क्रियाकलापहरू देखेर । देशमा पार्टीहरूले र नेताहरूले जे जे बकुन् र गरून् । तर मेरो जिन्दगीमा मेरो थोत्रो ल्यापटपले भने सत्य अनि तथ्यसहित उल्लेखनीय कर्म गर्दै आएको छ । दुईघण्टामै एउटा लेख, पन्ध्र मिनेटमै एउटा कविता वा एउटा गीत तयार गर्नका लागि मेरो थोत्रो ल्यापटपले सघाउ पुर्याएको छ । लघुकथा आधाघण्टा र कथा एकघण्टामै टुङ्ग्याउनका लागि पनि सघाएकै छ । फेरि पनि भन्छु मेरो थोत्रो ल्यापटपको जय होस् !!!
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest