साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्यारो थोत्रो ल्यापटप !

किन लेख्नु कोठालाई घर ? झुठा-झुठा कुराहरू चल्छन् हाम्रो देशमा पनि । जस्तै नेताहरूले देशलाई स्विजरल्याण्ड र सिङ्गापुर बनाइदिन्छौँ भनेर झुठा कुरा गर्दैआएका छन् । त्यस्ताका कुरा पत्याउने हामी जनता कस्ता हौँ ?

Nepal Telecom ad

अमर अधिकारी :

२०६५ सालमा न्यूरोडको एउटा मारबाडीको दुकानबाट १६ वटा हात्ती नोट खनखनी गनेर सानो आकारको ‘ए सर !’ ब्राण्डको ल्यापटप किनेको थिएँ । गाँठवालाले ठूला र महँगा खालका ल्यापटप किन्छन् । आफू त परियो शब्दहरूमा लखपति धनमा भन्नुपर्दा गरिब पत्नीको पति । क्याल्कुलेटरभन्दा ठूलै थियो त्यो ल्यापटप । सानै आकारको भए तापनि मैले उसलाई शुरुशुरुमा सुमसुम्याएँ र निकै माया गरेँ । किन कि जीवनमा पहिलोपटक ल्यापटपको धनी हुन पाएको थिएँ । २०५४ सालदेखि डेस्कटपमा बानी परेको म एक मनुष्य । हुन त २०४७ सालदेखि नै मैले कम्प्युटरको स्पर्श गरेको थिएँ । राष्ट्रिय कम्प्युटर केन्द्र नामको सरकारी संस्थानको रुपमा थियो त्यो केन्द्र सिंहदरबारभित्रै । नेपालभर कतै पनि कम्प्युटर इन्स्टिच्युट थिएनन् त्यतिखेरसम्म, काठमाडौंको खाल्डोमा हुने त कुरै भएन । त्यसैसालमै मैले कम्प्युटरको पहिलो तालिम लिएको थिएँ । त्यतिबेलाका कम्प्युटरहरू माउसविहिन थिए । माउसको जन्म त संसारको विकसित मुलुकमा भएको थियो होला । तर नेपालमा त्यो माउसको प्रवेश भने भएको थिएन । किबोर्डको ट्याब र एरोले माउसको काम गर्थे धिमा गतिमा ।

शुरुमा मैले ल्यापटप भनेको सुन्दा मह काढ्दा हातमा लागेको मह ल्याप-ल्याप चाट्ने चिज होला भन्ठानेको थिएँ । मैले किनेको फिस्टे ल्यापटपबाट टुसाएका शब्दहरूका कारण सिंहदरबार दुईपटक थर्कियो भने विराटनगरका मेयरलाई घेर्न गृहणीहरूको जुलुस पनि उर्लिएर गयो । भ्रष्टाचारीहरूका कान ठाडा भए भने नेताका अन्धभक्तहरूबाट बेलाबेलामा धम्की पनि आयो। जनताको पक्षमा लेख्दा भ्रष्टहरूका चम्चाहरूले झुसिला खालका कमेन्टहरू पनि ठोक्नुसम्म ठोके । काउसो जस्ता सीमित असामाजिक तत्वबाट देश आक्रान्त छ । यस्ता कुडाकर्कटहरूलाई बढार्ने जमर्को यसै थोत्रो ल्यापटपबाट नै गर्दै आएको छु । देशभक्ति र प्रकृतिप्रेमका मेरा गीतहरू यसै थोत्रो ल्यापटपबाटै घन्किरहेका छन् । किबोर्डलाई तबला झैँ बजाउँदाबजाउँदा ल्यापटपको दायातर्फबाट आन्द्रा निस्किनथालेको छ । हुन त नयाँ ल्यापटप उपहारको रुपमा नेपाल भित्रिएको दुईमहिना नाघ्यो तर त्यसमा थोत्रो ल्यापटपमा जसरी सजिलैसँग शब्दहरू उमार्न सकिँदैन ।

नयाँ ल्यापटपमा बानी पर्न पनि कति गाह्रो भाको होला ? नयाँ नयाँ भर्सनका एपहरू चलाउन पनि गाह्रो । आफू त एकोहोरो किसिमले पुरानोमा बानी परेकोले नयाँमा बानी पर्न निकै हम्मेहम्मे भयो । नयाँ ल्यापटप झोलामा बोक्दै कम्प्युटर जान्नेहरूकोमा पनि घरिघरि पुगेँ । घरी दक्षिण र घरी उत्तर अनि घरी पूर्व र घरी पश्चिम । धेरै पछि आधाआधी कामका लागि मात्र नयाँ ल्यापटपमा बानी परेको छु । थोत्रोलाई चाहिँ माया मारेको छैन । त्यो मेरा लागि धेरै नै प्रिय भइसकेको छ । श्रीमती भन्छिन् कवाडीलाई दिनुस् । तर म मानिरहेको छैन । किन कि श्रीमती भित्र्याएको चौँतिसवर्ष नाघ्यो भने पहिलो ल्यापटप अर्थात् अहिलेको थोत्रो ल्यापटप भित्र्याएको भर्खर पन्ध्र वर्ष मात्र भएको छ । थोत्रो ल्यापटप पन्छाउँदाको पीडा र श्रीमती पन्छाउँदाको पीडा उस्तैउस्तै हुने देखेको छु ।

किबोर्डमा औँलाले ठुङ्दा थोत्रो ल्यापटपको माथिल्लो फग्लेँटो हल्लिने समस्या पनि छ । दायाँ ज्वाइनमा बेल्डिङ गर्न लगाएर काम चलाउँदै आएको छु । प्रिय मेरो थोत्रो ल्यापटप तँसँग यतिविधि माया बसेको छ । तैँले मलाई धेरै नै माथि पुर्‍यादिइस् । २०८० मंसिरदेखि २०८१ कार्तिकको आधाआधिसम्म मैले छलाङ नै मार्ने सौभाग्य पाएको छु तेरो सहाराले । किन कि तेरो आड भरोसामा दुईदर्जनभन्दा बढी मिडियाहरूसँग सम्बन्ध गाँस्न पाएको छु । मलाई चर्चाको शिखरमा पुर्‍याइस् अनि कीर्तिमानी बनाइस् र उपाधिहरू दिलाउन पनि अहं भूमिका खेलिस् मेरो प्यारो थोत्रो ल्यापटप ! मेरा पुस्तकहरू पनि जन्माइस् र भविष्यमा जन्मिने पुस्तकका लागि अग्रिम तयारीका लागि अहम् भूमिका खेलिस् मेरो प्यारो थोत्रो ल्यापटप ! तेरो जय होस् थोत्रो ‘ए सर’ ल्यापटप ! तँलाई मैले मेरो म्यूजियम अर्थात् अजायबघरमा सजाएर राख्नेछु, जसरी २०५६ सालदेखिको डेस्कटपलाई छोपेर माया गरेर राखेको छु । यति मात्र होइन मैले शुरुदेखि अर्थात् २०६१ सालदेखि चलाएको मोबाइल पनि सुरक्षितसाथ राखेको छु ।

कुनैबखत चलाएको रेडियो पनि छ मेरो सानो अजायबघरमा । ‘सिको फाइब’ घडी पनि छ निदाएको अवस्थामा । मेरो अजायबघर खासमा घर भने होइन एउटा कोठाको कुनो अर्थात् सानो अनि सीमित स्थान हो । हुन त शहर बजारमा खाजाघर लेखिएको हुन्छ त्यहाँ एउटा सटरमा चलेको हुन्छ । चियाघर भनेर साइनबोर्डमा लेखिएको हुन्छ त्यो पनि एउटा सटरभित्र चलेको हुन्छ । किन लेख्नु कोठालाई घर ? झुठा-झुठा कुराहरू चल्छन् हाम्रो देशमा पनि । जस्तै नेताहरूले देशलाई स्विजरल्याण्ड र सिङ्गापुर बनाइदिन्छौँ भनेर झुठा कुरा गर्दैआएका छन् । त्यस्ताका कुरा पत्याउने हामी जनता कस्ता हौँ ? अचम्म छ हाम्रो देशका नेता अनि जनताहरूको गतिविधि र क्रियाकलापहरू देखेर । देशमा पार्टीहरूले र नेताहरूले जे जे बकुन् र गरून् । तर मेरो जिन्दगीमा मेरो थोत्रो ल्यापटपले भने सत्य अनि तथ्यसहित उल्लेखनीय कर्म गर्दै आएको छ । दुईघण्टामै एउटा लेख, पन्ध्र मिनेटमै एउटा कविता वा एउटा गीत तयार गर्नका लागि मेरो थोत्रो ल्यापटपले सघाउ पुर्‍याएको छ । लघुकथा आधाघण्टा र कथा एकघण्टामै टुङ्ग्याउनका लागि पनि सघाएकै छ । फेरि पनि भन्छु मेरो थोत्रो ल्यापटपको जय होस् !!!

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x