साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सामाजिक विकृतिमाथि धारिलो छुरा हाे ‘खाइराइड’

’खाइराइड’ निबन्धसङ्ग्रहले हास्यव्यङ्ग्यको माध्यमबाट समाजका विविध समस्याहरू, मानवीय व्यवहार र सामाजिक संरचनामा रहेको भेदभावमाथि गहिरो व्यङ्ग्य प्रस्तुत गरेको छ ।

Nepal Telecom ad

अभिनव सिलुवाल :

फित्काैली अनलाइन मिडियाद्वारा प्रकाशित राजेन्द्र कार्कीकाे खाइराइड कृति काठमाडाैं स्थित डियरवाक सिफल स्कुलले अतिरिक्त पाठ्यक्रममा समावेश गरी कक्षा ९, १०, ११ र १२ मा पठनपाठन गराएकाे थियाे । यस शैक्षिक सत्रमा २ सय जना छात्रछात्राले याे हास्यव्यङ्ग्य कृतिकाे व्यवस्थित अध्ययन गरेका छन् । उनीहरूले याे कृति पढ्दा के कस्ताे अनुभूति गरे ? फित्काैलीलाई प्राप्त भएका ती लिपिबद्ध अनुभूतिहरू समीक्षात्मक टिप्पणीका रूपमा क्रमश: फित्काैलीमा प्रविष्ट गर्दै जानेछाैँ । – सम्पादक

खाइराइड राजेन्द्र कार्कीद्वारा लिखित एक उत्कृष्ट हास्यव्यङ्गय निबन्धसङ्ग्रह हो । यो निबन्धसङ्ग्रहको प्रकाशक फित्कौली अनलाइन मिडिया हो । सङ्ग्रह १५९ पृष्ठमा बिस्तारित छ । यस सङ्ग्रहका हास्यव्यङ्गात्मक निबन्धहरू अत्यन्तै रोचक रहेका छन् । सङ्ग्रहका निबन्धहरूले धेरै विषय समेटेका छ । हाम्रो समाजमा रहेको समस्या, भेदभावदेखि हाम्रो देशको हालको अवस्था, देश विदेशको अवस्थालाइ विभिन्न किसिमले निबन्धमा व्यक्त गरिएकाे छ ।

लेखकले कतिपय आफ्नै अनुभवहरूका प्रसङ्ग निकालेर र हाम्रो समाजकै परिस्थिति उठाउँदै आफ्नो विचार पोखेका छन् । सङ्ग्रहमा समावेश गरिएका निबन्धहरू पढ्दा मलाइर् निकै रमाइलो लाग्यो र हास्यव्यङ्ग्यात्मक भएकाले यो किताब पढ्दा मेरो मुहारमा मुस्कान छाइरह्यो । कुल ३६ निबन्ध समावेश गरिएकाे यस सङ्ग्रहमा हाम्रा धेरै सोचहरूबारे प्रश्न गरिएको छ र हाम्रो समाजको अवस्थाप्रति व्यङ्ग्य गरिएको छ ।

खाइराइड निबन्धसङ्ग्रहमा  लेखकले शिक्षक वर्गदेखि हाम्रो समाज, हाम्रो देशको राजनीति, समलिङ्गीहरू बीच भइरहेकाे विभेद, मानव व्यवहार, आदि विषयमा आफ्ना धाराणा राखेका छन् ।

पहिलो निबन्ध ‘कुकुरको भाग्य’ मा हाम्रो नेपाली समाजको अवस्था चित्रण गरिएको छ । कुकुर र हामी नेपालीको भाग्य तुलना गरिएको छ र हाम्राे भन्दा कुकुरकाे भाग्य राम्राे रहेकाे बताइएकाे छ ।

त्यसैगरी ‘धारा तथा शौचालय महात्म्य’ निबन्धमा लेखकले विदेशको ठाउँ ठाउँका शौचालयहरू प्रयोग गर्न पनि नआउने,  जुन अत्यन्त सफा र प्रविधियुक्त छन्र । तर नेपालका शौचालयहरू प्रयोग गर्न पनि नसकिने फोहोर अनि घिन लाग्दाे अवस्थाका छन् ।  लेखकले आफ्नै बाल्यकालीन स्मृतिलाई पनि बडो मज्जासँग प्रस्तुत गरेका छन् यसमा ।

‘कामी’ निबन्धमा हाम्रो नेपाली समाजमा रहेको भेदभाव तथा जातीय वर्गीकरण बारे आवाज उठाएका छन् । पहिलेको समयमा एक व्यक्तिले कामको आधारमा मानिसलाई भिन्न वर्गमा वर्गीकरण गर्यो । पछि यही गलत संस्कृति बन्यो । मलाई सबैभन्दा मन परेको निबन्ध  पनि हो ।  यसमा पनि व्यङ्गय भरपुर गरिएकाे छ ।

‘त्यो नेपाली होइन’ भन्ने निबन्धमा नेपालीहरूको बानी बारे कुरा उठाइएको छ । जो मान्छे राम्रो गर्छ त्यसको नेपालीले खुट्टा तान्ने गर्छन् भन्ने कुरा व्यङ्ग्यात्मक ढङ्गले उल्लेख गरिएकाे छ । नेपालका नेताहरूले चुनावमा मात्रै जनताको कुरा सुन्ने र लाज पचाएर मत माग्न जाने प्रवृत्तिबारे चर्चा गरिएको छ । हाम्रो देशमा रहेको लिड्गीय  भेदभाव बारे कैयौँ निबन्धमा चर्चा गरिएको छ । “यो भेदभाव हाम्रो हिन्दी ग्रन्थदेखि नै सुरु भएको हो कि ?” भन्ने प्रश्न गरिएको र जुन नेता आए पनि नेपालको अवस्था जस्ताको त्यस्तै रहेको कुरा देश डुब्यो भन्ने निबन्धमा चर्चा गरिएको छ ।

त्यसैगरी ‘सरको डर’ निबन्धमा शिक्षकहरूमाथि पनि व्यङ्गय गरिएको छ । सर बन्नलाई केही पनि गर्नु नपर्ने र सबै सर हुने हाेडबाजीमा लागेकाे बताएका छन् लेखकले । जब अरु देशहरूमा महान् महान् व्यक्तिहरूलाई मात्र सरको उपाधि दिइन्छ । नेपालमा भने घर घरमा सर छन् भनेर व्यङ्ग्य गरिएकाे छ ।

‘प्रधानमत्री कि वरदानमन्त्री’ निबन्धमा वर्तमान राजनीतिप्रति तिखो व्यङ्ग्य गरिएको छ । त्यसैगरी मानव प्रविधिबारे पनि व्यङ्गय गरिएको पाइन्छ ।

‘बुहारी सासू’ निबन्धमा हाम्रो समाजको विकास हुँदा र पहिलेको समयमा भएका बुहारी र सासू बीचको सम्बन्धबारे चित्रण गरिएको छ । पहिलेको समयमा बुहारीलाई घरका अरु सदस्यहरूले मेसिन जस्तै सोच्ने गरेकाे लेखक बताउँछन् । पहिलाको समयमा बिहान ४ बजेदेखि रति ११ बजेसम्म बुहारी काममा घोटिनुपर्ने अनि अहिलेका पढेलेखेका बुहारीहरू घरमा सासूलाई दुर्व्यवहार गर्ने कार्य बढेको देख्न सकिन्छ । यो दुवै कुराप्रति लेखकले आफ्नो असहमति जनाएका छन् ।

यो पुस्तक पढ्नलाई हाम्रो विद्यालयले मासिक पुस्तकअन्तर्गत असार महिनाका लागि पाठ्यसामग्री बनाएको थियो । मैले पहिला नेपाली पुस्तक धेरै पढेको थिइन । नेपाली पुस्तकहरू सुरु गरे पनि सिध्याउन अल्छी गरेर मेरो घरमा थन्किएका धेरै किताब छन् तर यो  निबन्धसङ्ग्रहमा रहेका निबन्धहरू मैले एक एक गरी पढेर मैले पुस्तक पुरै पढेर सकेँ । जति पढ्यो उति पढ्न मन लाग्ने याे पुस्तक निकै रोचक रहेछ । मेरो मनमा रहेको सरकार र हाम्रो समाजसँग जोडिएका ससाना, मसिना कुराहरू समेत निबन्माधमा उतारेको भएर पनि होला म पुस्तकप्रति आकर्षित भएँ ।

“यस भित्रका कतिपय निबन्धले मान्छेको मन मस्तिस्क हल्लाउँछ ।” प्रा.डा खगेन्द्र लुइँटेलले भनेका छन् । अनि म पनि यो कुरामा सहमत छु । यो पुस्तक सबै नेपालीहरूको लागि पढ्नै पर्ने हो भन्ने मलाई लाग्छ । सङ्ग्रह बालबालिका बाहेक सबैलाई पढ्न सुझाव दिन्छु । नेपालमा रहेका नेपाली भए पनि परदेशमा बस्ने नेपाली भए पनि यो निबन्धसङ्ग्रह पढ्नका लागि पनि म सिफारिस गर्छु । रमाइलो शैलीले हामीलाई चेतनाबोध गराउँछ । यसले हाम्रो ज्ञानको क्षितिजलाई अझै बढाउने काम गरेको छ । म जस्तै आधुनिक पुस्ताका व्यक्तिहरूलाइ पहिलेको समयकाे नेपालको आवस्थाबारे पनि बुझ्ने मौका दिन्छ । सहरमा बस्ने मान्छेलाई गाउँघरको बारेमा ज्ञान र गाउँघरमा बस्नेलाइ सहरको बारेमा ज्ञान दिएको छ ।

अन्त्यमा, ’खाइराइड’ निबन्ध सङ्ग्रहले हास्यव्यङ्ग्यको माध्यमबाट समाजका विविध समस्याहरू, मानवीय व्यवहार र सामाजिक संरचनामा रहेको भेदभावमाथि गहिरोसँग व्यङ्ग्य प्रस्तुत गरेको छ । यस पुस्तकले पाठकलाई मनोरञ्जन मात्र प्रदान गर्दैन बरू सोच्न बाध्य पनि बनाउँछ । लेखकले उठाएका विषयहरूले हाम्रो समाजको वास्तविकता र हाम्रो मनोविज्ञानलाई उजागर गरेका छन्, त्यसैले सङ्ग्रहले हामीलाई हाम्रो समाज, संस्कृति र आफ्नो भूमिका बारे पुनर्विचार गर्न प्रेरणा दिन्छ । सामाजिक विकृतिहरूमाथि धारिलो छुरा चलाएकाे छ खाइराइडले ।

०००
कक्षा ११ ‘खुम्बुत्से’, डियरवाक सिफल स्कुल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x