नन्दलाल आचार्यसामाजिक विकृतिमाथि धारिलो छुरा हाे ‘खाइराइड’
’खाइराइड’ निबन्धसङ्ग्रहले हास्यव्यङ्ग्यको माध्यमबाट समाजका विविध समस्याहरू, मानवीय व्यवहार र सामाजिक संरचनामा रहेको भेदभावमाथि गहिरो व्यङ्ग्य प्रस्तुत गरेको छ ।

अभिनव सिलुवाल :
फित्काैली अनलाइन मिडियाद्वारा प्रकाशित राजेन्द्र कार्कीकाे खाइराइड कृति काठमाडाैं स्थित डियरवाक सिफल स्कुलले अतिरिक्त पाठ्यक्रममा समावेश गरी कक्षा ९, १०, ११ र १२ मा पठनपाठन गराएकाे थियाे । यस शैक्षिक सत्रमा २ सय जना छात्रछात्राले याे हास्यव्यङ्ग्य कृतिकाे व्यवस्थित अध्ययन गरेका छन् । उनीहरूले याे कृति पढ्दा के कस्ताे अनुभूति गरे ? फित्काैलीलाई प्राप्त भएका ती लिपिबद्ध अनुभूतिहरू समीक्षात्मक टिप्पणीका रूपमा क्रमश: फित्काैलीमा प्रविष्ट गर्दै जानेछाैँ । – सम्पादक
खाइराइड राजेन्द्र कार्कीद्वारा लिखित एक उत्कृष्ट हास्यव्यङ्गय निबन्धसङ्ग्रह हो । यो निबन्धसङ्ग्रहको प्रकाशक फित्कौली अनलाइन मिडिया हो । सङ्ग्रह १५९ पृष्ठमा बिस्तारित छ । यस सङ्ग्रहका हास्यव्यङ्गात्मक निबन्धहरू अत्यन्तै रोचक रहेका छन् । सङ्ग्रहका निबन्धहरूले धेरै विषय समेटेका छ । हाम्रो समाजमा रहेको समस्या, भेदभावदेखि हाम्रो देशको हालको अवस्था, देश विदेशको अवस्थालाइ विभिन्न किसिमले निबन्धमा व्यक्त गरिएकाे छ ।
लेखकले कतिपय आफ्नै अनुभवहरूका प्रसङ्ग निकालेर र हाम्रो समाजकै परिस्थिति उठाउँदै आफ्नो विचार पोखेका छन् । सङ्ग्रहमा समावेश गरिएका निबन्धहरू पढ्दा मलाइर् निकै रमाइलो लाग्यो र हास्यव्यङ्ग्यात्मक भएकाले यो किताब पढ्दा मेरो मुहारमा मुस्कान छाइरह्यो । कुल ३६ निबन्ध समावेश गरिएकाे यस सङ्ग्रहमा हाम्रा धेरै सोचहरूबारे प्रश्न गरिएको छ र हाम्रो समाजको अवस्थाप्रति व्यङ्ग्य गरिएको छ ।
खाइराइड निबन्धसङ्ग्रहमा लेखकले शिक्षक वर्गदेखि हाम्रो समाज, हाम्रो देशको राजनीति, समलिङ्गीहरू बीच भइरहेकाे विभेद, मानव व्यवहार, आदि विषयमा आफ्ना धाराणा राखेका छन् ।
पहिलो निबन्ध ‘कुकुरको भाग्य’ मा हाम्रो नेपाली समाजको अवस्था चित्रण गरिएको छ । कुकुर र हामी नेपालीको भाग्य तुलना गरिएको छ र हाम्राे भन्दा कुकुरकाे भाग्य राम्राे रहेकाे बताइएकाे छ ।
त्यसैगरी ‘धारा तथा शौचालय महात्म्य’ निबन्धमा लेखकले विदेशको ठाउँ ठाउँका शौचालयहरू प्रयोग गर्न पनि नआउने, जुन अत्यन्त सफा र प्रविधियुक्त छन्र । तर नेपालका शौचालयहरू प्रयोग गर्न पनि नसकिने फोहोर अनि घिन लाग्दाे अवस्थाका छन् । लेखकले आफ्नै बाल्यकालीन स्मृतिलाई पनि बडो मज्जासँग प्रस्तुत गरेका छन् यसमा ।
‘कामी’ निबन्धमा हाम्रो नेपाली समाजमा रहेको भेदभाव तथा जातीय वर्गीकरण बारे आवाज उठाएका छन् । पहिलेको समयमा एक व्यक्तिले कामको आधारमा मानिसलाई भिन्न वर्गमा वर्गीकरण गर्यो । पछि यही गलत संस्कृति बन्यो । मलाई सबैभन्दा मन परेको निबन्ध पनि हो । यसमा पनि व्यङ्गय भरपुर गरिएकाे छ ।
‘त्यो नेपाली होइन’ भन्ने निबन्धमा नेपालीहरूको बानी बारे कुरा उठाइएको छ । जो मान्छे राम्रो गर्छ त्यसको नेपालीले खुट्टा तान्ने गर्छन् भन्ने कुरा व्यङ्ग्यात्मक ढङ्गले उल्लेख गरिएकाे छ । नेपालका नेताहरूले चुनावमा मात्रै जनताको कुरा सुन्ने र लाज पचाएर मत माग्न जाने प्रवृत्तिबारे चर्चा गरिएको छ । हाम्रो देशमा रहेको लिड्गीय भेदभाव बारे कैयौँ निबन्धमा चर्चा गरिएको छ । “यो भेदभाव हाम्रो हिन्दी ग्रन्थदेखि नै सुरु भएको हो कि ?” भन्ने प्रश्न गरिएको र जुन नेता आए पनि नेपालको अवस्था जस्ताको त्यस्तै रहेको कुरा देश डुब्यो भन्ने निबन्धमा चर्चा गरिएको छ ।
त्यसैगरी ‘सरको डर’ निबन्धमा शिक्षकहरूमाथि पनि व्यङ्गय गरिएको छ । सर बन्नलाई केही पनि गर्नु नपर्ने र सबै सर हुने हाेडबाजीमा लागेकाे बताएका छन् लेखकले । जब अरु देशहरूमा महान् महान् व्यक्तिहरूलाई मात्र सरको उपाधि दिइन्छ । नेपालमा भने घर घरमा सर छन् भनेर व्यङ्ग्य गरिएकाे छ ।
‘प्रधानमत्री कि वरदानमन्त्री’ निबन्धमा वर्तमान राजनीतिप्रति तिखो व्यङ्ग्य गरिएको छ । त्यसैगरी मानव प्रविधिबारे पनि व्यङ्गय गरिएको पाइन्छ ।
‘बुहारी सासू’ निबन्धमा हाम्रो समाजको विकास हुँदा र पहिलेको समयमा भएका बुहारी र सासू बीचको सम्बन्धबारे चित्रण गरिएको छ । पहिलेको समयमा बुहारीलाई घरका अरु सदस्यहरूले मेसिन जस्तै सोच्ने गरेकाे लेखक बताउँछन् । पहिलाको समयमा बिहान ४ बजेदेखि रति ११ बजेसम्म बुहारी काममा घोटिनुपर्ने अनि अहिलेका पढेलेखेका बुहारीहरू घरमा सासूलाई दुर्व्यवहार गर्ने कार्य बढेको देख्न सकिन्छ । यो दुवै कुराप्रति लेखकले आफ्नो असहमति जनाएका छन् ।
यो पुस्तक पढ्नलाई हाम्रो विद्यालयले मासिक पुस्तकअन्तर्गत असार महिनाका लागि पाठ्यसामग्री बनाएको थियो । मैले पहिला नेपाली पुस्तक धेरै पढेको थिइन । नेपाली पुस्तकहरू सुरु गरे पनि सिध्याउन अल्छी गरेर मेरो घरमा थन्किएका धेरै किताब छन् तर यो निबन्धसङ्ग्रहमा रहेका निबन्धहरू मैले एक एक गरी पढेर मैले पुस्तक पुरै पढेर सकेँ । जति पढ्यो उति पढ्न मन लाग्ने याे पुस्तक निकै रोचक रहेछ । मेरो मनमा रहेको सरकार र हाम्रो समाजसँग जोडिएका ससाना, मसिना कुराहरू समेत निबन्माधमा उतारेको भएर पनि होला म पुस्तकप्रति आकर्षित भएँ ।
“यस भित्रका कतिपय निबन्धले मान्छेको मन मस्तिस्क हल्लाउँछ ।” प्रा.डा खगेन्द्र लुइँटेलले भनेका छन् । अनि म पनि यो कुरामा सहमत छु । यो पुस्तक सबै नेपालीहरूको लागि पढ्नै पर्ने हो भन्ने मलाई लाग्छ । सङ्ग्रह बालबालिका बाहेक सबैलाई पढ्न सुझाव दिन्छु । नेपालमा रहेका नेपाली भए पनि परदेशमा बस्ने नेपाली भए पनि यो निबन्धसङ्ग्रह पढ्नका लागि पनि म सिफारिस गर्छु । रमाइलो शैलीले हामीलाई चेतनाबोध गराउँछ । यसले हाम्रो ज्ञानको क्षितिजलाई अझै बढाउने काम गरेको छ । म जस्तै आधुनिक पुस्ताका व्यक्तिहरूलाइ पहिलेको समयकाे नेपालको आवस्थाबारे पनि बुझ्ने मौका दिन्छ । सहरमा बस्ने मान्छेलाई गाउँघरको बारेमा ज्ञान र गाउँघरमा बस्नेलाइ सहरको बारेमा ज्ञान दिएको छ ।
अन्त्यमा, ’खाइराइड’ निबन्ध सङ्ग्रहले हास्यव्यङ्ग्यको माध्यमबाट समाजका विविध समस्याहरू, मानवीय व्यवहार र सामाजिक संरचनामा रहेको भेदभावमाथि गहिरोसँग व्यङ्ग्य प्रस्तुत गरेको छ । यस पुस्तकले पाठकलाई मनोरञ्जन मात्र प्रदान गर्दैन बरू सोच्न बाध्य पनि बनाउँछ । लेखकले उठाएका विषयहरूले हाम्रो समाजको वास्तविकता र हाम्रो मनोविज्ञानलाई उजागर गरेका छन्, त्यसैले सङ्ग्रहले हामीलाई हाम्रो समाज, संस्कृति र आफ्नो भूमिका बारे पुनर्विचार गर्न प्रेरणा दिन्छ । सामाजिक विकृतिहरूमाथि धारिलो छुरा चलाएकाे छ खाइराइडले ।
०००
कक्षा ११ ‘खुम्बुत्से’, डियरवाक सिफल स्कुल
Subscribe
Login
0 Comments
Oldest





































