साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खाली निधार सुन्दर !!

टीकामा मन देखिन्न मन टीका भए पर सुदूर दूर देखिन्छ खाली निधार सुन्दर ! सप्तरङ्गी लगाएर मन इन्द्रेणी झर्झर संस्कार बहने हुन्छन् संस्कृति बनी निर्झर !!

Nepal Telecom ad

कलानिधि दाहाल :

 झिल्झिलाकार झिल्काझैँ देखिने दुनियाँतिर
गाढा ज्योति बलुन् भित्री मान्छेका मनमन्दिर !
विकास बाहिरी हुन्नन् अन्तराकाश छन् सब
बले अन्तरमा दीप सर्वाँश बन्छ गौरव !!

देखिने चर्मको दृश्य मेटिने हुन्छ पल्पल
टेकिने पाउको चिल्लो घाउले बन्छ दुर्बल !
यिनमै किन मान्छेका गतिले गीत गाउँछन्
चकाचौध भए भित्र त्रिकाल झल्मलाउँछन् !!

निलो आकाश यो हुन्न हो, मान्छे ! भ्रमको घर
अन्धविश्वासका आँखा हल्लन्छन् बनी पुच्छर !
पटाका पड्किँदा हुन्नन् सङ्गीत सुन्न लायक
नालायक कहाँ हुन्छन् ? संस्कृति फलदायक ??

कवि हल्लुडझैँ हल्ली नलेखूँ हलुका कुरा
हातका स्पर्शले छाम्ने होइनन् मन पाखुरा !
सत्ताका स्याल आवाज जम्मै ठानूँ म पत्कर
यिनका मुखको स्वार्थी बोलीमा हुन्न सुन्दर !!

शक्तिमा टुकुचा हुन्छ पिउने जल मिल्छ र
प्लास्टिकफूलको बास्ना नाकमा कहीँ खिल्छ र ?
तनको सानमा सच्चा देखिने हुन्छ अर्थ र
चेतनाका बले भित्री ज्वाला सर्व मनोहर !!

न चाडका बुनी गाना गन्थने गीत गाउँछ
न विकृति सबै हुन् यी संस्कृति भन्न लाउँछ !
न तासका जुवाताना संस्कार ठान्छ संस्कृति
बाङ्गा वृक्ष भनी सोझा नछरौँ स्वाङ आकृति !!

धरा सौन्दर्यका फूल चुँड्नु महान हुन्छ र
सृष्टि सौम्य धुवाँभित्र छोप्नु बिहान हुन्छ र ?
सातोपुत्लो लिने हल्ला कुन संस्कृति हो भन
विद्वत् डाक्टर मस्तिष्क डिग्री तौल तिमी गुन !!

टीकामा मन देखिन्न मन टीका भए पर
सुदूर दूर देखिन्छ खाली निधार सुन्दर !
सप्तरङ्गी लगाएर मन इन्द्रेणी झर्झर
संस्कार बहने हुन्छन् संस्कृति बनी निर्झर !!

आस्थाका नाममा खोक्रा नाराले नझरौँ तल
मान्छे शान्त सबै बन्ने संस्कार गरूँ खल्बल !
दृश्यचाड कतै हुन्नन् चेतना दिलका धन
अन्धविश्वासका दाम्ला नियमापत्ति बन्धन !!

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x