साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अलच्छिनको इपिसेन्टर

धेरैको सापटी र उधारो खाएर आमाकसम ! भन्दै म्याद मागिरहेछ लबस्तरो लोकतन्त्र हिँड्दा हिँड्दै दिशाभ्रम भएर बाटो बिराएको बटुवाझैँ अलपत्र परेको छ - गोज्याङ्ग्रो गणतन्त्र ।

Nepal Telecom ad

भोजराज रेग्मी ‘मुखाले’ :

दुर्व्यसनी लोग्नेको
निरन्तर निर्घात यातनापछि
घरबाट भागेर माइत आएकी चेलीझैँ
घाम पनि रुँदै रुँदै झुल्कन्छ ।

मनमाफिक दाइजो तिलक नपाएको निहुँमा
मुखमा तेजाव खन्याइएकी अबला बुहारीझैँ
जून पनि रातभरी कहालिइरहन्छ ।

निर्धा ताराहरूको त के कुरा गर्नु !
चुनावपछिका निमुखा मतदाताहरूझैँ
छातीमा मुड्की ठोकेर
टाढाबाटै टुलुटुलु हेरिरहन्छ्न् बरा!!

कुखुराको भाले पनि अचेलवली
एकजुवा घामसम्म मस्तै सुतेर
ओथारो बसेकी पोथीसँग
दिनभरी निहुँ खोज्छ ।

जाबो विषाणुसँग लाप्पा खेल्दा खेल्दा
लखतरान परेको बहादुर विज्ञान
खोपको लौरो टेकेर
शोकगीत गाइरहेछ ।

घैँटामा घाम लाग्ला कि भनेर कुर्दाकुर्दै
तीन पुस्ता बाटो लागे
घैँटो फुटेर ऐले, पोल छ्ताछुल्ल छ ।
एक सिलिण्डर अक्सिजनमा
आफ्नो एक थान फोक्सो साटेर मधौरु
आगामी दशैँको “आयुद्रोणसुते !” सम्झेर प्रफुल्ल छ ।

बाँच्नु मात्रै पर्छ
खुट्टा तान्ने र मार हान्नेको हानाथाप भोग्न पाइन्छ
मर्नु मात्रै पर्छ
तिनैले चढाएका श्रद्धाञ्जली र
फूलमाला बोक्न पाइन्छ ।

अरुका उलामालामा लागेर होला
कोटेरो र जुरेलीहरू अचेल
रिकुटे ईन्जीनियरसँग ट्युसन पढ्न थालेका छ्न्
चित्त नबुझेर कोइली कराएको कराएकै छ ।

अगोचर मदारीहरूको डमरुको तालमा
स्मार्ट बाँदरहरू
रामशाहको दरबारमा उपद्रो मचाइरहेका छ्न्
न्यायको तराजु
पीपलको पातझैँ हल्लिरहेकै छ ।

आमाको कलेजो काटेर
आफ्नो दुनो सोझ्याउनेहरू
स्वास्नीको सिउँदो बेचेर
आफ्नो सुट सिलाउनेहरू
तालुखुइलेहरूलाई काँइयो बेचेर
मालामाल गरिरहेछ्न्
भोकानाङ्गाहरूलाई भिरङ्गी धर्म घोकाएर
सुखशान्तीको प्रमाण- पत्र बाँडिरहेछ्न् ।

धेरैको सापटी र उधारो खाएर
आमाकसम ! भन्दै म्याद मागिरहेछ
लबस्तरो लोकतन्त्र
हिँड्दा हिँड्दै दिशाभ्रम भएर
बाटो बिराएको बटुवाझैँ अलपत्र परेको छ –
गोज्याङ्ग्रो गणतन्त्र ।

सिंहदरबारलाई सराप्दा सराप्दै थाकेर निदाएको
घोइरे बुद्धिजीवी
सपनामा तक्मा लाउँछ,
पद र पुरस्कार पड्काउँछ
अनि भाग्यप्रती गौरव गर्दै गुड्डी हाँक्छ
झल्याँस्स ब्युँझन्छ र मिडियामा मुर्मुरिन्छ –
“धोखेवाज मूर्दावाद !”

०००
पेप्सीकोला, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सेकेण्ड ह्याण्ड

सेकेण्ड ह्याण्ड

भोजराज रेग्मी ‘मुखाले’
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x