साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यता न उता

देउसी-भैलो खेल्नु साटो भुरासित ह्यालोविनमा चक्लेट बटुल्न हिँडेर आफ्नो देशको मानहानी नै पो गरेँ कि मैले भनेर आफै एक छिन अल्मलिन्छु । “खान हुँदैन नि फेरि” भनिएका पदार्थ बजाइँदा वरिपरि कोही नभए पनि पल्याकपुलुक हेरेरै मात्र घत्ल्याक्क पार्छु ।

Nepal Telecom ad

आशिष भट्टराई ;

“यु फ्रम् इन्डिया ?” झनक्क तातेर आउँछ । दायाँ-बायाँ मुन्टो हल्लाउँदै फिस्स हाँसेर “नो सर”, भन्छु ।
“प्याकिसट्यान् ?”
“नोप्”
“ब्याङ्ल्याडेस् ?”
“न्ह्या”

अन्तिममा आफैले “नेपाल” भनेपछि पनि अझ कुरा जित्न, “आई वाज् क्लोज्”, भन्छन्, मान्छे हेरेरै देश पत्ता लाइदिने यस्ता विशेषज्ञ । कतिलाई त ज्ञान पनि हुँदैन कता हो नेपाल भन्ने ।

बुद्ध र एभरेस्टका कुरा जोड्दै आफ्नो देशको परिचय दिन हौसिन्थेँ कुनै समय म पनि। थाकेँ । अब अहिले, “या क्लोज ईनफ्”, भनेर लाइदिन्छु । बरू अड्कल काट्ने कष्ट नगरी, “ह्वाट्स् अप् डग्, ह्वेर यू फ्रम् ?” भनेर सम्मानपूर्वक सोध्नेहरू नै बेस लाग्छ आफूलाई ।

अरु भन्दा पनि किन हो कसैले इन्डियन भन्दिँदा, झोँक चलेर आउँछ त्यसै । त्यसो त उनीहरूसित मुछिँदाका सकारात्मक पक्षहरू पनि नभएका होइनन् । प्राय आर्थिक हिसावमा सम्पन्न, राम्रो पढे-लेखेका, उति हिस्सी नपरेका र नजिक पर्दा हस्स असन चोक पुगेको हरक छाड्ने प्रभाव छ भारतीयहरूको यता । शैक्षिक र आर्थिक मामिलामा मेल नखाए पनि, सम्मानित वर्गमा पर्न पुगिएकोमा गर्व जस्तो पनि लागेर आउँछ कता कता । बाँचिएको आधा जस्तो समय यतै कटिसकेछ, अब कताबाट भन्ने के कुरा ।

आफ्नो नामैले बोलाइएको सुन्न नपाइने भइसकेको छ आफ्नो यता । हेशुस्, ह्यासिस् र प्राय ठाउँमा अशिस् भएको छ अहिले मेरो नाम । सच्याउन निकै कोशिस गर्थेँ तर मिलेर बटारिँदैन उनीहरूको जिब्रो । उनीहरूको के दोष, आफू आइएको छ उनीहरूको ठाउँमा । नामैमा के छ टेक् ईट् ईजी भनेर, निकै भयो, त्यसलाई पनि महत्त्व दिन छोडिसकेँ । कतै आफ्नो नाम टिपाउनु पर्दा कम्तीमा पनि दोहोर्‍याउनु पर्ने हुन्छ, दोहोर्‍याउँदै पनि ठिक बुझ्दैनन्, त्यही भएर बरू उस्तै ठाउँहरूमा माईक् या स्याम बन्दिन्छु । थरको त उस्तै नपरे उच्चारण गर्दिनँ । एक ठाउँ अनलाइन फर्म भर्दा लास्ट नेम भर्ने भन्ठानेर पासवर्ड बनाउने ठाउँमा भरेछु, भेरी स्ट्रङ् पासवर्ड भनेर आयो, नोबडि क्यान गेस योर पासवर्ड भन्दै ।

नेपाल हुँदा बिहान-बेलुकै घण्टी बजेको सुनिन्थ्यो । चोकैपिच्छे मठ-मन्दिर, या त केही नभए पनि फूल-अबीर चढाइएका ढुङ्गाका दर्शन पाइन्थ्यो । धर्मको विषयमा अर्थोक सोच्ने ध्यान पुग्दैन थियो । यता विभिन्न खालका धर्म, भिन्दाभिन्दै भगवान् र अनेकौँ विधि-विधान देख्दा, यी सबै त कसरी ठिक हुन सक्लान् भन्ने लाग्न थाल्यो ।

कतै यी सबै बाटाले पुर्‍याउने गन्तव्य पो उही हो कि । उही बाटो हिँड्न फेरि नियम किन फरक परेका होलान् । कसैले गाई खाए नर्क, कसैलाई सुँगुर छोए जहन्नुम, अर्काले फेरि जे ठोक्ता पनि केही नहुने । के त यी गाईखाने मोराहरूलेनै भरिएको होला त नर्कलोक ? निकै अघिदेखि यतै बसेका एक भलाद्मीले सम्झाए, “नेपाली गाई पो खान हुँदैन त लाटा, यताका यी साँढे बजियालाई के पत्तो गाईपूजाको ।” पढाइको सिलसिलामा फेरि विज्ञानमा अर्कै खाले तर्कहरू भेट्न थालेँ । धर्म-परम्पराको विषयमा धेर घोत्लिएर पनि जीवन सहज हुने छाँट देखिनँ । यसलाई पनि हल्का हिसाबले लिँदै अघि बढ्न थालेँ ।

यसरी त आफ्नो ठाउँसितको सम्बन्ध हराउने भयो भनेर त्यसलाई जोडी राख्न भए पनि बिहे चाहिँ नेपालमै गर्नु पर्‍यो भन्ने लागेको थियो । तर ढिलो भइसकेछ, आफ्ना विचार त अघि फरक परिसकेछन् । त्यो पनि सफल हुन सकेन । आफू जस्ता अरू नेपाली यतै पनि त होलान् भनेर खोजी हेर्दा, त्यस्ता नेपालीका लागि फेरि मिल्दो जति “अमेरिकनाईज्ड” पनि भइसकेको रहेनछु । त्यो बेला पो साँच्चै चाल पाएँ, म त यता न उताको पो भैसकेको रहेछु । घरजमको विषयले पनि सानतिनो दार्शनिकै बनाएर छोड्यो । देश-धर्म भन्दा सोचाई मिल्नु बढी महत्त्वपूर्ण लाग्न थाल्यो, यसरी ससुराली पनि मेरो भेनेज्वेला पर्न पुग्यो ।

संस्कृति र परम्पराले समयक्रममा विचार र परिवेशका आकार लिँदा रहेछन् । तिनलाई मातृभूमिको निष्ठासित जोडेर हेरिने हुँदा, आफूले जानेर त्यस्तो केही बिगार गरे जस्तो त लाग्दैन भनेर एक छिन आफै घोरिन्छु । तिथि-मिति मिलाई-मिलाई, आफ्नो नभएको बिदा लिएर केटा-केटीको पास्नी-छेवर गराउँदा चाहिँ हुने, नगराउँदा चाहिँ नहुने कस्तो रहेछ यो देशको माया भनेर छक्क पर्छु । कि देउसी-भैलो खेल्नु साटो भुरासित ह्यालोविनमा चक्लेट बटुल्न हिँडेर आफ्नो देशको मानहानी नै पो गरेँ कि मैले भनेर आफै एक छिन अल्मलिन्छु । “खान हुँदैन नि फेरि” भनिएका पदार्थ बजाइँदा वरिपरि कोही नभए पनि पल्याकपुलुक हेरेरै मात्र घत्ल्याक्क पार्छु ।

यति सबै भइसक्दा पनि साह्रै रिस उठेर धारेहात लाउँदा मुखमा नेपालीमै गाली आउँछ । सिन्की र गुन्द्रुकको वासनाले अझै उस्तै र्‍याल कढाउँछ । आफ्नै ठाउँका गीतले मात्रै साँच्चै मन छुने विरह चलाउँछ । आफ्नो मौलिकतासित बलियो गरी जरा गाड्ने सबै भन्दा मजबुत आधार त भाषा नै हुँदोरहेछ । चाहेर-नचाहेर आफ्ना विचार-धारणा समय-परिस्थितिसित बद्लिँदै गए पनि, पहिचानका यस्ता कतिपय गुणहरू अझै उस्तै रहँदा रहेछन् ।

अझै आफूले मानिराखेका रीतिरिवाज नबचाए त आफ्नो अस्तित्व नै हराउने हो कि भने जस्तो लागेर आउँछ । परिवारमा अहिले अब केटा-केटी छन्, न त यी नेपालमा जन्मिए, न अब यिनलाई उता लगेर हुर्काउनै सक्छु, त्यही पनि यिनले मेरो परम्परा जोगाइदिई राखून् भनेर बल गरी हेर्न खोज्छु । थचारेर आफ्ना आस्थाका टिका टाँसिदिई हेर्छु, झटारिएर आफैदेखि पर पुग्छन् उनीहरू ।

आफ्ना मान्यताको ढाकर बोकाई यिनका पछि सिर्कना लिएर कति पर चाहिँ पुर्‍याउन सकूँला र मैले यिनलाई । यिनलाई त त्यही पनि केही छैन, घुर्क्याउँदै-रिसाउँदै पनि भने जस्तो गराई नै राखूँला, यिनका छोरा-नातिलाई पनि भिराई राख्लान् त यिनले यो मेरो पहिचानको जिम्मेदारी ?

०००
हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
थेरापी

थेरापी

आशिष भट्टराई
नैतिक मूल्याङ्कन

नैतिक मूल्याङ्कन

आशिष भट्टराई
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x