साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थेरापी

जीवनको मूल धर्म भनेकै आफ्नो कर्तव्य पालना गर्ने, आफूलाई त्यसले सुख-सन्तुष्टि दिन्छ दिँदैन भन्ने भन्दा पनि यता-उता मन नडुलाई दत्त-चित्त भएर आफ्नो कर्ममा लागिरहने, त्यही हो यसको सूत्र ।

Nepal Telecom ad

आशिष भट्टराई :

“हैन ब्रो, हल्का साइको त पैलै हो तिमी, हिजो आज अलि बढी साइको कुरा गरिराछौ, देखाऊ” साथीहरू भन्न थाले । एकजनाले फ्री थेरापी सेसनको दुइटा कुपन पनि लिएर आएछ । एक त नेपाली, फेरि ब्राह्मण परिवारबाट परियो, निःशुल्क आएको सेवा के त्यसै खेर फाल्नु भनेर थेरापिस्ट अपोइन्टमेन्ट लिएँ ।

फ्री सेसन चिनजान गर्दैमा सकियो । थेरापीको पहिलो अनुभव भएर होला, आफूलाई आफ्नो बारे खुलेर बोल्न असजिलै लागि रह्यो । खुट्टै भाँचिएको बेला के छ भनेर कसैले सोध्दा “सब ठिक-ठाक्, तपाईंको ?” भन्ने चलन आफ्नो, केही सेसन सम्म पनि ठिक छ नै भनिरहँदा, सबै ठिक भए केलाई लिइराखेको त अपोइन्टमेन्ट भनेर थेरापिस्ट थोरै झोक्कियो । “हैन, हैन, त्यसो पनि” भनेर कुरा मिलाउँदै, बिस्तारै आफ्नो बारे भन्न थालेँ ।

थेरापिस्टसँग बाल्यकालदेखिका कुराहरू गर्दै जाँदा आफ्नो बारे नयाँ कुरा थाहा पाएँ । ८-९ कक्षा हुँदै देखी डिप्रेसनले भेटेको रहेछ मलाई, त्यस्तै १४-१५ को थिएँ त्यो बेला । केही कुरा ठिक नभए जस्तो लागे पनि आफूलाई यसै भएको भन्ने केही थिएन । त्यो समयमा थेरापी जाने भन्ने सुनिँदैन थियो, हुन्थ्यो नै भने पनि ठुलाकै थेरापी कसले गराइदिने, केटाकेटी नाथेलाई कताको थेरापी ।

घरैमा भने थेरापीको कुनै अभाव महसुस हुन पाएन । “गर्लफ्रेन्ड बनाउँदै हिँडेको मात्र थाहा होस् न, खुट्टा-सुट्टा..”, धेरे नबोल्दै प्रस्ट भइसक्थ्यो । अझ त्यति पनि बोली राख्ने जाँगर नहुँदा, “अहिले.. गाला-साला..” त्यतिमै पुरा भयो वाक्य । गर्लफ्रेन्ड बन्न कोही मान्नु पनि पर्‍यो पहिला त, आफूलाई फेरि गर्लफ्रेन्ड नै नभई गर्लफ्रेन्डले छोडे जस्तो त्यत्तिकै भइराखेकै थियो । बिना कारण पुरा भावुक मूद्रामा जगजीत सिंह र गुलाम अलि सुनिराख्या हुन्थिएँ त्यही उमेरमा । “चुरोट खा’को था’मात्र पाईँ भनी तिँ मार्दिन्छु”, त्यस्तो इन्स्ट्यान्ट डेथ् त चुरोट खाएर पनि हुँदैन । एकपटक त कस्तो हुँदो रहेछ भनेर बाटो छेउ बेच्न राखेको छ्याङ चाखेर घर गएँ । घर पुग्दा थाहा पाइ सक्नु भएछ, व्रतबन्ध गर्दा बेसार दले जसरी गोबरले लिपिदिएर, तुलसीमठ् छेउ राखेर नुहाई दिनु भयो । यस्ता नय-नया घरेलु थेराप्युटिक टेक्निकहरूको प्रयोग पनि बेला-बेला भइरहन्थ्यो म माथि ।

अहिले थेरापीस्टले ज्योतिषी ढङ्गमा, “यसो यसो पनि हुन्थ्यो, हो कि हैन” भनेर भन्दै जाँदा, डिप्रेसन भएकै लक्षणहरू धेरै पाएँ । डिप्रेसन भनेर झुन्डी नै हालूँ, बिखै खाऊँ भन्ने त भएन, केही कारणै बिना नरमाइलो लाग्ने अनि भित्र-भित्रै मन भक्कानिएर आउने गर्थ्यो । त्यो बेला घर अगाडि बस्ने केटीको कुरा छोडेर भन्नु पर्दा, यस्तो हुँदा केही कुरामा रुचि नलाग्ने, खेल्न-ओर्न या कसै सित बोल्न-भेट्न मन नलाग्ने हुन्थ्यो ।

उमेरै यस्तै होला सके भनेर त्यतातिर ध्यान नदिने सक्दो कोसिस गर्थेँ, तर पनि बेला-बेला विरहले सताई रहन्थ्यो। आफूलाई यता रुन्चे लागे जस्तो भएको छ, अरू भने “हेर् न, हिरो बन्छ सिरीयस् भएर, हिन्दी फ्लीम्मा ट्रयाजिडि पर्या हिरो जस्तो” भन्थे । केही समय त म यो हिरोहरूमै हुने खाले विशेष गुण लिएर जन्मिएको भएर यस्तो भएको रहेछ कि भन्ठानेर ठिकै छ नि त जस्तो पनि लाग्थ्यो ।

तर अलि गाह्रै हुन थालेपछि कसैलाई त सुनाउनै पर्‍यो भनेर आफू भन्दा दुई वर्षले जेठो दाइ थियो, उसले त पक्कै बुझ्छ होला भनेर उसलाई सुनाउने विचार गरेँ । एक दिन स्कुल पछि घरमा सँगै होमवर्क गर्न बस्दा असजिलो मान्दै-मान्दै उसलाई आफ्नो मर्म सुनाएँ । “हो नि, होमर्क-सोमर्क गर्न बस्दा त यस्तो भई हाल्छ नि”, उसले भन्यो, “अझ टिभी हेरी’रा बेला ड्याडी ममीले “पढ्न जा” भन्सिँदा अझै बढी हुन्छ होला, हैन ?” “हेँ हेँ” गरेर ङिच्करिएँ, फर्काउने आफू सित केही थिएन ।

दाजुले यसरी अमिल्याए पनि यसो सोचेँ, हो साँच्चै, यस्तै बेला अलि बढी हुन्छ । ठ्याक्कै थाहा पायो दाइले, पढाइमा दखल नभएरै यस्तो भएको हुनु पर्छ मलाई । दाइको पढाइ पनि राम्रो थियो, त्यसैले होला ऊ प्राय प्रसन्न नै पनि देखिन्थ्यो। आफू पनि पढाइमा ध्यान दिन थालेँ, रुचि पनि बढे जस्तो भयो। समय बित्दै जाँदा पढाइमा थोरै सुधार पनि आयो तर त्यो भित्री घाउ बेला-बेलै दुखी रहन भने छोडेन ।

यसरी त सधैँ चल्दैन, यो समस्यामाथि नै नपुर्‍याई भएन भनेर बुवालाई नै सुनाउने हिम्मत जुटाएँ । गम्भीर हिसाबले मनन गरेर, सुझाव दिए जसरी बुवाले घुमाउरो तरीकाले निर्देशन दिनुभयो, “यो गीता अध्ययनको कमी भएर यस्तो भएको हो तँलाई, मेरा बा ले पनि मलाई बेला-बेला “गीता पढ्, गीता पढ्” भन्दै गर्नुहुन्थ्यो ।”

अब त्यति साह्रै पत्यार नलागे पनि, पिता-पुर्खैबाट आएको उपदेशमा शङ्का मानेर प्रश्न गरी हाल्नु उचित पनि भएन । फेरि खासै अरु उपाय पनि थिएन आफूसित । बुवाले गीता निकालेर थमाइ दिनुभयो । बेकार कुरा उठाइएछ भन्दै-भन्दै गीता पल्टाउन सुरु गरेँ ।

नयाँ कुरा थालेर हो कि, सुरुसुरुमा त साँच्चै नै मत्थर भए जस्तो पनि भयो । तर यो उपचार पद्धतिमा धेरै भरोसा नलागेर होला सायद, गीताले पनि बिस्तारै काम गर्न छोड्यो । उल्टै गीतामा पनि वैराग्य भाव मात्र भेट्न थालेँ। अर्जुनले उराठ भएर युद्ध अगाडि कृष्ण लाई सोधेको जटिल प्रश्नले मन छोयो । आफूलाई घत लागेको भएर स्लोक पनि घोकेँ, मुख्यतः बुवालाई पढेछ भनेर देखाउन, अनि, खै त गीतामा त यस्तो भन्या छ भनेर अप्ठ्यारो पारूँ न त भनेर। मौका मिलेको बेला बा लाई हल्का दिइहालेँ;
न काङ्क्षे विजयं कृष्ण न च राज्यं सुखानि च ।
किं नो राज्येन गोविन्द किं भोगैर्जीवितेन वा ।
(बोले तोः हे कृष्ण, न त म विजय चाहन्छु, न राज्य चाहन्छु, न सुखै चाहन्छु। राज्य या यो सबै भोगहरू को के फाइदा ? अथवा जिउनु को नै पनि के अर्थ?)
“पढ्न त पढिछस् केटा, तर अध्ययन अझै पुगेन तेरो”, बुवाले भन्नुभयो, “त्यो पछि कृष्णले के भने अर्जुनलाई ? जीवनको मूल धर्म भनेकै आफ्नो कर्तव्य पालना गर्ने, आफूलाई त्यसले सुख-सन्तुष्टि दिन्छ दिँदैन भन्ने भन्दा पनि यता-उता मन नडुलाई दत्त-चित्त भएर आफ्नो कर्ममा लागिरहने, त्यही हो यसको सूत्र ।”

फेरि त्यो विषयमा चर्चा-परिचर्चा गरी राख्ने ठाउँ बाँकी रहेन । बेला-बेलै व्यथाले च्यापिरहँदा त्यो दर्शन ले जीवनभरि ठुलो सहायता पुर्‍याइरह्यो । केही समयको थेरापीले धेरै राहत दिए पनि कहिलेकाहीँ मन भौँतारिँदा अझै सम्झन्छु, पक्कै पनि गीता अध्ययनको कमी भएको हुनु पर्छ यो मलाई ।

०००
अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
यता न उता

यता न उता

आशिष भट्टराई
नैतिक मूल्याङ्कन

नैतिक मूल्याङ्कन

आशिष भट्टराई
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x