नैतिक मूल्याङ्कन
शनिबार आइतबार पनि घरमा बस्दा अलि अनौठो जस्तो लाग्न थालेको छ, यो कर्म मात्रै भए पनि कामैमा सकेर आउन पाए जस्तो । तर जतिनै गरे पनि मलाइ यो कुनै हिसाबले गर्न नहुने बेइमानी गरिरहे जस्तो लाग्न चाहिँ छोडेको छैन ।
आशिष भट्टराई :
पहिला पहिला नदेखिएका अनुहारहरू देखिन थाले हिजो-आज, अफिसको ट्वाइलेटमा । पालैपालो गरी, तल्लै पिच्छे ट्वाइलेट रिमोडलिङ गरिने बारे अस्तिको कम्पनीवाइड इमेल सम्झिएँ । एक नम्बरलाई त खासै समस्या पर्दैन, दुई नम्बर पाउन चाहिँ अलि चुनौतीपूर्ण बनेको छ, अहिले यो सप्लाई-डिमान्ड खल्बलिएर । ठ्याक्क टाइमिङ नमिल्दा पाइँदै पाइँदैन आजकल । कि त त्यही पर्खेर बस्नु पर्छ, नभए कहिलेकाहीँ कैयौँ प्रयास पछि बल्लबल्ल पाइन्छ । जान साथ पाइँदा भित्रैबाट खुसी लागेर आउँछ । अझ तीनवटा मध्ये अलि फराकिलो खाले पाइँदा त एग्जीच्यूटिभ् सिटै पाइयो आज भनेर दङ्ग पर्दै बस्छु ।
आफूलाई चाहिँ थोरै अप्ठ्यारो लाग्छ भित्रै पर्खिन । एक त घरैमा गरेर आउनु पर्ने कुरो, अफिस आवरमा आएर गर्ने, अझ त्यसमाथि पनि थप समय बिताएर खुलेआम लाजै पचाएर कसरी पर्खिने भन्ठान्छु । अरू भन्दा आफू थोरै बाठै छु भन्ने त लाग्छ नै मलाई प्राय, झनै बेला बेला नयाँ जुक्तिहरू आउँदा आफू पक्कै पनि बाठै नै भएको ठहर गर्छु म । यसरी मान्छे भित्रै पर्खिने अनि आफूलाई ढोकैमा पर्खिन अप्ठ्यारो लाग्ने भएर आजकल नया रणनीति अपनाएको छु । पहिला पिसाब फेर्ने तीर जान्छु, अनि कुमको छेउबाट कर्के आँखा लगाएर पछाडि मान्छेहरूको गतिविधि बुझ्छु । भित्रबाट कागजको सर्याक-सुरूक, बेल्ट् जिपरको छ्यान्द्राङ-छुन्द्रुङ सुनिना साथ सतर्क भएर तयार हुन्छु र घुस्स फ्लसको आवाज आउनसाथ फुत्त ढोकातिर लागी हाल्छु ।
भित्र गर्नेले गर्न नमिल्ने कामै गरेको भए पनि, यी बाहिर पर्खिनेहरू चाहिँ मलाई त्यति ठिक लाग्दैन । आफू भित्र पूरा ध्यान लगाएर प्रयास गर्दै गर्दा, बाहिर कोही पर्खिरहेको वातावरणमा आऊँदै आऊँदैन आफूलाई । उनीहरूको समस्या बुझेर अर्कै खाले प्रेसर जस्तो पर्छ । अस्ति आफू भित्र पसेर सुरु गर्न कोसिस गर्दैगर्दा एउटा आएर पर्खिन थाल्यो, त्यस्तैमा एकछिनमा अर्को आइपुग्यो । पर्खिरहेकोले उसलाई भित्रैबाट च्यापेको आवाजले गुनासो पोख्दै परिस्थितिको जानकारी गरायो, “फुल हाउस, म्यान ।”
उसले पनि सहानुभूति र पीडा एकैसाथ व्यक्त गर्दै फर्कियो, “आई हियर यू, ब्रदर ।”
म एक्छिनमा नगरीकनै निस्किएँ, ऊ धन्य-धन्य माने जस्तो गर्दै भित्र पस्यो ।
हुन त उनीहरू पनि कुनै उपाय नभएरै यसरी कुरेका होलान् । किनकी त्यसरी अरूको आलैमा झ्वाट्ट पसी हाल्न पनि त्यति सजिलो त हुँदैन । अस्ति आफू सकेर निस्किँदै गर्दा अर्को हर्षित हुँदै लम्किँदै आयो, अनी ढोकैमा चार सेकेन्ड जति टक्क अडियो। अचानक केही सम्झिए झैँ गरी फर्किऊँ कि जस्तो गर्यो, अनि अन्कनाऊँदै भित्र पस्यो । सम्झिएँ, हिजो हिङ हालेको मस्याङको दाल र गान्टेमुलाको तर्कारी खाएको थिएँ ।
ती नौला मान्छेहरू पनि अब त आफ्ना इस्ट मित्र जस्ता लाग्छन् मलाई । कसैलाई दुई-चार दिन नदेख्दा, त्यस्लाई नदेखेको निकै भयो भनेर सम्झिन्छु कन्दै गर्दा । एक किसिमको निकट सम्बन्ध गाँसिए जस्तो हुँदोरहेछ, अनेक प्रकारका व्यक्तिगत ध्वनि, गन्ध, मोबाइलमा गेम खेलेका आवाज, अनि त्यो कमोड्को न्यानोपन साटिँदा । एक प्रकारको हिचकिचाहटले गर्दा ट्वाइलेट् पेपर ओछ्याएर बस्ने गर्छु म, त्यै पनि त्यो गाडा न्यानोपन पातलो कागज छेडेर आउँछ ।
सुरुसुरुमा त म घरैमा गरेर आउने गर्थेँ । सुरु सुरु भन्दा पनि झन्डै एक डेढ वर्षै यसै गरेँ । आफ्नो फेरि सानैदेखि एक हाते खाले बानी, हाते भन्ने कि के भन्ने यो सन्दर्भमा, जे होस्, आफ्नै धरमा मात्र चित्त बुझ्ने गरी पेट खलाँस् हुन्थ्यो । बाहिर-फेर त्यति सजिलो लाग्दैन थियो र थोरै दिग्मिग् पनी लाग्थ्यो नया ठाउँमा । एक पटक हप्ता दिन मामाघर बस्ने गरी जाँदा तिन चार दिनै रोकेर, खप्नै नसकेपछि मात्र गएको थिएँ । आफू निस्किएपछि हजुरआमा गएर निस्किँदै भन्नुभएको म अझै सम्झन्छु, “काठ् जस्तो गरेछ यो नाति ले त, बग्दै नबग्नी, लठ्ठी जस्तो भर बस्या छ ।”
अफिसमा गर्ने प्रसङ्गमा चाहिँ मलाइ यो बानी या सहजता भन्दा पनि कता-कता नैतिक आचरणसँग जोडिएको व्यवहार जस्तो लाग्ने गर्थ्यो । समय बित्दै जाने क्रममा झन्डै सबै जनासित वँहाहरू ढोका खोलेर निस्किँदै गर्दा कैयौँ पटक देखादेख भयो । आफ्नो म्यानेजरसित पनि झन्डै दैनिक यस्तो असजिलो खाले भेट् हुन्थ्यो । जो पनि भित्रबाट निस्किँदै गरेको बेला, अप्ठ्यारो मान्दै केही बिगार् गरे जस्तो गरी निस्कन्थे । अनि बेल्ट या पेन्ट मिलाउँदै, सीङ्क्मा गई झोक्राएर धारामा टोलाएर हात धुन्थे। कोही त अली धेरै नै बेर् लगाएर निस्किएका हुनुपर्छ, खुट्टा निदाएर होला हल्का खल्च्याङ्-खल्च्याङ् गर्दै निस्कन्थे ।
काम् सुरु गरेको दुई-तीन महिनामा एउटा देशी सहकर्मीले सुनाएको थियो, “यहाँ कोही भी घर् मे कर्के नहीं आता ।” हुन पनि हो, एक त पन्ध्र बिस मिनेटको बिहानको निद्रा बढी पाईने अनि काम् बाट पनि छोटो ब्रेक जस्तो पाइने । आफूले पनि मन बुझाउन कोसिस गरेँ, दिसा बस्नु पनि कसरी अनैतिक हून सक्ला र ।
अहिले त घरमा भन्दा पनि यतै सजिलो लाग्न थालिसकेको छ मलाई । शनिबार आइतबार पनि घरमा बस्दा अलि अनौठो जस्तो लाग्न थालेको छ, यो कर्म मात्रै भए पनि कामैमा सकेर आउन पाए जस्तो । तर जतिनै गरे पनि मलाइ यो कुनै हिसाबले गर्न नहुने बेइमानी गरिरहे जस्तो लाग्न चाहिँ छोडेको छैन । बुवाले सुनाउने गर्नु भएको भनाइ सम्झिन्छु- “हाउ यू डू वान् थिङ् ईज् हाउ यू डू एभ्री थिङ” । तर पनि यो सन्दर्भमा पक्कै लागु नहुनु पर्ने हो यो भनाइ भन्दै गरि नै राखेको छु, छोड्न मिल्ने कुरा पनि परेन ।
०००
हाल अमेरिका
Subscribe
Login
0 Comments
Oldest