जगदीश्वर पाेखरेलसहकारीको भकारी
ठसठसी गनाएको सहकारी बोको । फिर्ता गर जनताको पसिनाको पोको ।। जनताको पसिना हो कहाँ सक्छौँ खान । छोड्ने छैन जनताले काढ्छ छाला जान।।
जगदीश्वर पाेखरेल :
विपत्ति र अनिकाल बेलाबेला पर्छ ।
जम्मा गरे सबै मिली साह्रो गाह्रो टर्छ ।।
भन्ने हेतु खोलिएका धर्म भकारीमा ।
लाखौँ मुरी जम्मा भयो धान आखिरिमा ।।१
टाठाबाठा मिले खाए मूसो बनी धान ।
फूर्तिफार्ती खोला खोलै गयो शान मान ।।
काम गर्छन् गरीबले घुँडा घसी घसी ।
सत्ता भत्ता लुड्याउने परून् सबै खसी ।।२
भकारीमा भुसै भुस धान कता गयो ।
त्यै भएर भकारी नै खारेजमा पऱ्यो ।।
अर्को नाम बदलेर सहकारी आयो ।
पसिना र रगतको सावा ब्याज खायो ।।३
हुल पस्यो बाँदरको भाँच्यो सबै तरु ।
दल भित्र दले रै’छन् छट्टु स्यालहरू ।।
ब्याजरूपी बल्छी थापे परे सबै थरी ।
झिक्न जाँदा सञ्चालक छैनन् वरिपरि ।।४
पैसा सबै कुम्ल्याए कता गए कता ।
भोक भोकै जनता भो’ लाग्यो चर्को बेथा ।।
कहाँ पच्छ बसी बसी खाए पछि भत्ता ।
लाज शर्म पचाएर बसेको छ सत्ता ।।५
ठसठसी गनाएको सहकारी बोको ।
फिर्ता गर जनताको पसिनाको पोको ।।
जनताको पसिना हो कहाँ सक्छौँ खान ।
छोड्ने छैन जनताले काढ्छ छाला जान।।६
०००
पाउँदीबजार, लमजुङ
Subscribe
Login
0 Comments
Oldest




































