मिलन समीरकेही अपवाद बाहेक (३)
सबैभन्दा खत्तम सोचाइका कलङ्कित कुपात्रहरुको हेर्नु छ भने असली अनुहार जानुपर्छ सदैव ऐना अगाडि र उभिनुपर्छ एकैछिन् अनि नियालेर निकैबेरसम्म ठम्याउन सक्नुपर्छ- आफ्नै कुरुप अनुहारको अस्पष्ट आकृति !

मिलन समीर :
सबैभन्दा अल्छी र कामचोरहरुको
हेर्नु छ भने असली अनुहार
जानुपर्छ सदैव सरकारी स्कुल- कलेजमा
जहाँ पढाइलेखाइबाहेक अरु सबैथोक गरिन्छ
र, भेट्नुपर्छ तथाकथित सरकारी मास्टरहरुलाई
जसले पढाउने कामबाहेक अरु सबैथोक गरिरहेका हुन्छन् !
कानुनभित्रको कुरा गरेर
कानुनबाहिरको काम मात्रै गरिरहने
सबैभन्दा भ्रष्ट घुसखोरहरुको
हेर्नू छ भने असली अनुहार
जानुपर्छ सदैव सरकारी कार्यालयमा
जहाँ हुने कामलाई हुँदै नहुने बनाइन्छ
नहुने कामलाई सजिलैसँग हुने बनाइन्छ
र, भेट्नुपर्छ सरकारी लेखनदासहरुलाई
जसले गर्नैपर्ने काम कहिल्यै गर्दैनन्
गर्नै नहुने काम मात्रै गरिरहेका हुन्छन् !
तीललाई पहाड र पहाडलाई तील बनाइदिएर
बोल्नैपर्ने समयसन्दर्भ, परिस्थिति र प्रसङ्गहरुमा
आफ्नो थुतुनो चपक्कै सिलाइरहने
बोल्नै नहुने समयसन्दर्भ, परिस्थिति र प्रसङ्गहरुमा
उसको थुतुनो सदैव चिलाइरहने
आजीवन स्वार्थीहरुको संगतमा लागेर
आफ्नो चुहिने दुनो सोझ्याउदै
जीविकोपार्जन गरिरहेका लम्पटदास परजीवीहरुको
हेर्नु छ भने असली अनुहार
जानुपर्छ सदैव विभिन्न संचार माध्यममा
र, भेट्नुपर्छ अन्यत्र कहिँ नबिकेपछि
आफ्नो “थर्ड क्लास” योग्यताको “सर्टिफिकेट”
पत्रकार बनिटोपलेका सुकुलगुण्डा अलपत्रकारहरुलाई !
सबैभन्दा खतरनाक अपराधीहरुको
हेर्नु छ भने असली अनुहार
जानुपर्छ सदैव “पुलिस हेडक्वाटर” मा
जहाँ कुख्यात अपराधीहरुलाई
राजकीय सम्मान दिएर बसाइएको हुन्छ
निरपराध, निर्दोष भुइँमान्छेहरुलाई
अनाहकमा दु:ख दिएर फसाइएको हुन्छ
र, भेट्नुपर्छ सत्य, सेवा, सुरक्षाको मुलमन्त्र जप्दै
बर्दी लगाएर बसिरहेका नरपिसाच भक्षकहरुलाई
जसले अपराधीहरुलाई सम्पूर्ण सुरक्षा
र, निर्दोष भुइँमान्छेहरुलाई अकल्पनीय दु:ख
बाहेक अरु बढी केही पनि दिएको हुँदैन !
सबैभन्दा खतरनाक
तस्कर, माफिया र डनहरुको
हेर्नु छ भने असली अनुहार
जानुपर्छ सदैव विभिन्न अखडाहरुमा
र, भेट्नुपर्छ अनेकथरि नकाब भिरेका
नव सम्भ्रान्त घरानिया व्यवसायीहरुलाई !
सबैभन्दा खतरनाक भोगी भएर पनि
अनवरत जोगीको आवरणमा देखिने
अतिशय कामवासनाको कुण्ठाले ग्रसित
हेर्नु छ भने दीर्घरोगी कामदेवको कुरुप अनुहार
जानुपर्छ सदैव धर्मको नाउँमा
अधार्मिक गतिविधि मात्रै गरिने अखडाहरुमा
जहाँ बनाइएको हुन्छ निकृष्ट पापी योजना
र, भेट्नुपर्छ धर्मका तथाकथित ठेकेदार नागाहरुलाई
जसले आजीवन कुकर्मबाहेक अरु केही गरिरहेको हुँदैन !
थोत्रो गाला बजाउने कामबाहेक
बाकी अरु केही पनि गर्दै नगर्ने
सबैभन्दा खतरनाक गफाडीहरुको
हेर्नु छ भने असली अनुहार
जानुपर्छ सदैव स्थानीयदेखि लिएर राष्ट्रियस्तरका
तथाकथित “नेताजी” भनाउदाहरुको घरआगनमा
र, भेट्नुपर्छ कुनै काम गर्नसक्ने योग्यता नभएपछि
“नेताजी” को आवरणमा सिङ्गो धर्तीको बोझ बनेर
अझै बाचिरहेका बेरोजगार कलङ्कित कुपात्रहरुलाई !
विदेशी मालिकद्वारा पालिएका ईमानदार कुकुरहरू,
जो आफ्नो मालिकले उठ भन्नासाथ जुरुक्क उठ्छन्
बस भन्नासाथ थुचुक्क बस्छन्
हग भने जुनसुकै समय र परिस्थितिमा पनि हग्न सक्छन्
मुत भने जुनसुकै समय र परिस्थितिमा पनि मुत्न सक्छन्,
तिनै विदेशी प्रभुद्वारा परिचालन गरिएका भाडाका टट्टुरुपी
सबैभन्दा खतरनाक लुटेरा डाकाहरुको
हेर्नु छ भने असली अनुहार
जानुपर्छ सदैव हरेक पार्टीका “हेडक्वाटर” हुँदै
शीतल निवास, बालुवाटार र मन्त्रीक्वाटरमा
जहाँ बसेर बनाइएको हुन्छ-
स्वदेशलाई लुट्ने सम्पूर्ण योजना
र, भेट्नुपर्छ राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूलाई
जसले देश र जनतालाई लुट्ने र धुत्नेबाहेक
अरु बढी केही पनि गरेको देखिएन अहिलेसम्म !
माखाको पित्त जत्रै विशाल चित्त भएका
सबैभन्दा साँघुरो सोचाइको मानसिकता बोकेर
फराकिलो सोचाइको उत्कृष्ट लेखकीय अभिव्यक्तिको
आजीवन ध्वाँस दिइरहने उत्तरआधुनिक हनुमानहरुको
हेर्नु छ भने असली अनुहार
जानुपर्छ सदैव सरकारी तथाकथित प्रज्ञा प्रतिष्ठानहरुमा
जहाँ उतारिन्छ अनवरत आरती भजन मण्डलीहरुद्वारा
राज्यसत्तामा पुगेका खतरनाक खलनायकहरुको
र, भेट्नुपर्छ प्रज्ञाविहीन तथाकथित प्राज्ञहरुलाई
जसले आजीवन लेखिरहेको हुन्छ-
चाकडी र चाप्लुसीको उत्तरआधुनिक हनुमान चालिसा !
ढोगी मानसिकताले ग्रसित पाखण्डी पहिरनमा रमाउदै
अरु सबैलाई उचित भएर पनि अनुचित मात्रै देखिरहने
आजीवन “म राम्रो म” मात्रै लेखिरहने स्वघोषित सर्वोत्तम
तर सबैभन्दा खत्तम सोचाइका कलङ्कित कुपात्रहरुको
हेर्नु छ भने असली अनुहार
जानुपर्छ सदैव ऐना अगाडि र उभिनुपर्छ एकैछिन्
अनि नियालेर निकैबेरसम्म ठम्याउन सक्नुपर्छ-
आफ्नै कुरुप अनुहारको अस्पष्ट आकृति !
०००
करादीखोला, स्याङ्जा ।
Subscribe
Login
0 Comments
Oldest







































