रामप्रसाद अर्याल ‘अविराम’उल्टोचक्र
अब हामीहरू पनि पछाडितिर फर्काै । वन्यजन्तुसँग मितेरी लगाऔँ । यो जुनीमा उनीहरूको सेवा गरौं । अर्को जुनीमा प्रशस्त पाइन्छ । वानरलाई कज्याइन्छ । त्यसो त सर्कसमा पनि सिंहले पनि मान्छेको सेवा गरेकै छ ।

रामप्रसाद अर्याल (अविराम) :
अहिले देशमा उल्टोचक्र घुमिरहेको छ । कहिले कहिले “म ताक्छु मुढो वन्चरो ताक्छ घुँडो” भने झँै हाम्रा मुलीहरूले देशलाई सन् यति सम्ममा यो स्तरमा पुर्याइने लक्ष्य राखिएको छ, भनेर घोक्रो सुकुन्जेल फलाक्दछन् तर त्यस कुराको उल्टो देशको यात्रा उँधो गतिमा रफ्तार लिइरहेको छ । उँधोमुन्टो गरेर मुन्टिएपछि कसको के लाग्दछ र ? भिरबाट लडेको गोरुलाई राम राम त हो भन्ने, काँधै थाप्न त सकिँंदैन नि । त्यसमा पनि औषधी खाएका चौरासी लाएका रुग्ण वृद्ध शरीरले टाट पल्टिएको, भिरबार गुल्टिएको गोरुलाई कसरी रोक्न सकिन्छ र ?
यसो भनिरहँदा प्रश्न उठ्न पनि सक्छ – देश रकेट हो र ? माथि जानलाई त्यसो त भकुण्डो पनि त होइन तलतिर मुन्टिनलाई भन्ने मेरो तर्क, विर्तक छ । त्यसो भए तर्पाएँ तर्पाएँ तेर्सै तेर्सो बाटो अगाडि बढे भैहाल्यो नि । तर अहिले देशमा उन्नति प्रगति हुन नदिन उल्टोचक्र घुमिरहेको छ । यो उल्टोचक्र घुमेको बेला जोखाना हरेर सेझोबाटो कसरी हिंड्ने होला ? म अल्मलिन्छु । जन्मिने बेला साइत जुराएर जन्मिने कुरा पनि भएन । त्यसैले जुनी भरि सकुन्जेली उल्टोचक्र टाउकोमाथि घुमिरहेको छ फन्फनी। झिकिदे गाँड भन्दा थपिदे गाँड भन्ने उखान चरितार्थ गर्दै, रिनको भारी बोकी रहेको छु ।
एक मनले सोँच्छ मेरा बाबु, बाजे र बराजुहरूले तिर्न नसकेको ऋण म कसरी तिर्न सक्छु ? राजाके आगे बापकी दुहाइ भने झैँ राजाले लगाई दिएको ऋण किन तिर्ने ? कसरी तिर्ने ? अर्को मनले भन्छ – यो देशका किसान श्रमजीवी वर्गले ऋण लगाएका होइनन् । ऋणको थुप्रो बोकाई दिएको उपरखुट्टी लाएर, दिउँसै सन्जे जगाएर बस्नेहरूले हो। तर मालिकको जो गत आफ्नो पनि सो गत“ । ठालु पल्टिएकाहरूको आलु खाएपछि उनीहरूले लाए अराएको काम नगरेर कहाँ सुख पाइन्छ र ? रिन तिर्न परो भनेर आफ्नोे पुर्खाको थातथलो छाडेर अरु हिनें झैँ हिँड्न पनि लाजले नै लजाउने काम हुने ।
अरु देशका ठुलाठालुहरूले आफ्ना देशका जनतालाई अऋणी बनाउँछन्, हाम्राले निर्घृणी । त्यसमा पनि खुशी र सन्तोष मान्नु पर्ने । ऋणको भारी बोकाएरै भए पनि एक पेट खान पाइएकै छ । त्यो पेट भर्ने कुरा गिंठा भ्यागुर नै किन नहोस् । प्रकृतिले दिएको विशुद्ध अर्गानिक जिनिस । जे जस्तो भए पनि भारी नोटकै हो । नोटको बिटा बोक्न पाउँदा ज्यान त्यसै न्यानो हुन्छ । आफू पनि गम्म फुलिन्छ । यो जाडाको याममा घामको राप र ताप त्यसै सेलाएको बेला ज्यान तताउन बोझ बोक्नै पर्यो । यो भन्दा पहिले पहिलेकाले भरिया अघि–पछि लगाएर हिन्थे । अहिले आफू मालिक अघिपछि लगाएर भारी बोकेर हिन्नु परिरहेको छ ।
यस धर्तीमा कुन समयमा औतार लिइएछ कुन्नि ? सानालाई मुसार्न र ठुलालाई सुसार्न परिरहेको छ । जतिसुकै राम्रो साइत जुराएर पनि भुतले खाजा खाने बेला पो पर्न जान्छ त । इत्तिकन तलवितल पर्यो भने जिन्दगी भरिको सेवाले घोवा खान पुग्छ । उल्टो हावा बगेपछि सुल्टो चिताएर मात्र हुँदैन । चिताउन त सबैले सुल्टो चिताउँछन् तर चक्र घुम्छ उल्टा । उसो त उल्टा घुमेर पनि हिँनेर पनि गन्तव्यमा पुगिन्छ भन्दछन्, आखिर पृथ्वी नै गोलो छ । सुल्टा–उल्टा जसरी घुमे पनि पुग्ने ठाउँ उही हो । अन्तिमको यात्रा आर्यघाट ।
दही मथ्दा दाहिने हातले नेती ताने पनि देब्रे हातले ताने पनि निस्कने भनेको नौनी न हो । हामी कहाँ मोही पार्ने नभएर पानी पार्ने गरिन्छ, कुराले । त्यसो भएको हुनाले नौनी ननिस्केर बसेको हो। कुरा उही हो । उँधो उँधो गए पनि उँभो उँभो गए पनि हामीहरू पुग्ने ठाउँ भनेको अमेरिका न हो।
म पनि उल्टै मान्छे हुँ । अरुले गाउँ छोडेर सहर गएका छन्, देश विदेशका गफ हाँक्ने भएका छन् । आफू चाहिँ सहर छाडेर गाउँ, गाउँ छाडेर वनतिर गैया छ । तंँ वनतिर किन गइस् ? कसरी गइस् ? के कारणले वनवासी भइस् भन्नु होला ? म बताउँछु– लौ सुन्नुस् सहर भइसकेको ठाउँ धेरैले छोडेर गएपछि गाउँ जस्तो हुन गयो । गाउँबाट पनि बेचेखुँचेकाहरूले पनि कुलेलाम ठोकेपछि गाँवै वनमा परिणत भएको छ । म एक्लै भए पनि हिम्मत हार्नेवाला कहाँ हुँ र ? फेरि मेरो मस्तिष्कको खोंँचमा सकारात्मक साेँच पनि त ज्युँदै छ । बाह्र वर्षपछि खोला त फर्किन्छ भन्छन् । भने मान्छेहरू किन नफर्केलान् ? डर चाहिँ बाकसमा बोकिएर नआए हुने भन्नेमा छु । त्यसैको लागि धुप हालेर बसेको छु ।
सहर पसेको, सुखसयलमा बसेको पुस्ता गाउँमा पुरानै तरिकाले दु.खजिलो गरेर बस्दैन । मलाई राम्ररी थाहा छ । एकदिन न एकदिन गाउँ फेरि सहर बन्ला भन्ने विश्वास मलाई छ । अहिले भने म वनमा बस्ने वनेचरको साथी हुँ । उनीहरूसँग मेरो जिवन्त सम्बन्ध पनि छ । जिजु बराजुहरू पनि त बनेचर हुन् । काटीकुटी मेरो अनुहार पुर्खासँग मिल्छ । त्यसैले उनीहरूको सेवा गर्न मलाई खुवै आउँछ । मैले फलाउँछु उनीहरूले सुमर्दछन् । पुर्खाको सेवा गर्नु हाम्रो कर्तव्य पनि त हो ।
डेढ अक्कली बुद्धिजिवीहरूले भन्लान् अहिलेको युगमा आफ्ना सन्तान छोराछोरीहरूलाई हुर्काउने पढाउने नगरेर बाबा, हजुर बा, हजुर आमाको सेवा गरेर बसेको छ, बुद्धि हराएको । यो संसारमा हुने सम्पूर्ण जीवजन्तु र जनावर सबैको आत्मा छ । आत्मा आत्मा सबैको एकै हो । उनीहरूको आत्मा सन्तुष्ट गराउन सकेपछि आशीक देलान् । “देउराली ढोग्यो मै जस्तो भएस् ”। कतिले भन्लान् अब उन्नति प्रगति गरेर अगाडि बड्न सक्दैनस् यही ठाउँमा गढेर बसेर ।
अब हामीहरू पनि पछाडितिर फर्काै । वन्यजन्तुसँग मितेरी लगाऔँ । यो जुनीमा उनीहरूको सेवा गरौं । अर्को जुनीमा प्रशस्त पाइन्छ । वानरलाई कज्याइन्छ । त्यसो त सर्कसमा पनि सिंहले पनि मान्छेको सेवा गरेकै छ । अरु सानातिना भुसुनाहरूको के कुरा । अब भेडा बाख्रा, गाई गोरु घोडा खच्चर दमालाैँ, उल्टो बाटोको नेतृत्व सम्हालौं । जहाँ पुगिएला पुगिएला हिजोको द्वन्दकालमा भात पाकेको कसौंडी तिहुन ताहुनको ताप्के लुटमा परेकै हुन् । आज स्याहार्ने बाली हुलका हुल पसेर सत्यानाश गरे भनेर पिर नमानौं ।
हिंजो बेचेर खाने हामी आज मागेर खानेमा परिणत भएका छाैँ । हिजो शान्तिको प्रस्ताव बोक्ने आज बम गोला तोपको मोहोरी पड्काउन दुष्मन भड्काउन पुगेकै छाैँ । अहिलेको व्यवस्था र जनताको अवस्था देखेर बुद्ध पनि क्रुद्ध छन् ।
भोका हामी पेट कसेर शान्त बसेर प्रतीक्षा गरौं उल्टाचक्र होइन । सोझोचक्र घुम्ला कुनै दिन ।
०००
पाल्पा








































रमाइलाे लाग्याे ।