
खुल्दुली …??
एउटा तक्मामा महावीरको पनि नाम छापिदेउन धर्ती उर्वर बनाउने किसानको कद नापिदेउन संख्यामा गन्ति गर्दै आफ्नै भीडभाड मात्रै हजुर ? श्रमले झर्दो पसिना केही बुँदमात्रै थापिदेउन !

ई. कुमार खड्का :
मान, पदवी, तक्मा, विभूषण कसरी पाइने हो ?
योग्यता, मर्यादा र ल्याकतमा के के चाहिने हो ?
आजकल खसखस लाग्दोछ मनमा बहुत खुब,
या निराकार प्रभुको आशीर्वादलेनै लाइने हो ।? १
सयौं भारको हाजिरीमा थप व्ययभार देखिन्छ
कयौं अपराध र झुठ्मुट शक्ति, पैसाले चोखिन्छ
ताबेदारीको पर्दामा ठुलै नौटङ्की मन्चन जस्तै,
स्यालहरुको शास्त्रमा ब्वाँसाहरुको कथा लेखिन्छ । २
देहातका झुपडी राहतको कुराईमै जलेका छन्
घाइते आर्तहरु मलमपट्टी बेगर ढलेका छन्
निराशाको बिलखबन्दीमा ध्यानै नहुँदा कसैको,
अमूल्य जीवन बेवारिसी कुकाठ जस्तै गलेका छन् । ३
सीमाका यादव वीरको सिफारिस कतै देखिएन
देशभक्त गोविन्द गौतमको नाम कैले लेखिएन
कतै यो सपना हो ? या जालझेलको पगरी मात्र ?
दृष्टिभ्रम भएर हो कि, सद्दे, किर्ते केहि जोखिएन । ४
एउटा तक्मामा महावीरको पनि नाम छापिदेउन
धर्ती उर्वर बनाउने किसानको कद नापिदेउन
संख्यामा गन्ति गर्दै आफ्नै भीडभाड मात्रै हजुर ?
श्रमले झर्दो पसिना केही बुँदमात्रै थापिदेउन ! ५
०००
आलापोट, काठमाण्डौं ।
नमन, सर , भष्मासुरकाे वज्रकाे लागि ।
Subscribe
Login
0 Comments
Oldest